डेङ्गी: धरानबाहिर पनि फैलियो प्रकोप, किन नियन्त्रण हुन सकेन

- Author, बिक्रम निरौला
- Role, बीबीसी नेपाली सेवा
धरानमा फैलिएको डेङ्गीको प्रकोप नियन्त्रणका लागि चालिएका उपाय प्रभावहीन भएपछि डेङ्गीको सङ्क्रमण नियन्त्रणमा संलग्न चिकित्सक तथा सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्।
झन्डै एक महिनाअघि देखिएको डेङ्गीबाट सङ्क्रमित बिरामीको सङ्ख्या घट्नुका साटो बढ्दै गएपछि समुदायमा लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान चलाइएको थियो।
प्रभावित क्षेत्रमा टोली खटाएर दैनिकजसो लामखुट्टे मार्ने अभियान सञ्चालन गरिए पनि त्यसको सङ्क्रमण रोकिएको छैन।
धरानमा विद्यालय, क्याम्पस तथा समुदायमा डेङ्गीबारे चेतनामूलक अभियान सञ्चालन गरिएका छन् र लामखुट्टेलाई नियन्त्रण गर्न 'फगिङ' अर्थात् कीटनाशक रसायन धुँवाजसरी उडाएर मार्ने कार्य अभियान चलाइएको छ।
डेङ्गी प्रकोप क्षेत्र
तर त्यसबाट पनि डेङ्गीको सङ्क्रमण नघटेको अधिकारीहरू बताउँछन्।

तस्बिर स्रोत, SPL /James Gathany
धरानमा मात्रै झन्डै चार सय जनामा डेङ्गीको सङ्क्रमण देखिएको अधिकारीहरूले बताएका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीहरूको चाप थेगिनसक्नु भएको छ, अस्पतालका चिकित्सक एवम् डेङ्गी नियन्त्रण र्यापिड रेस्पोन्स टीमका संयोजक डा. विजयकुमार खनाल भन्छन्।

रक्तपरीक्षण गर्ने किट तथा अन्य उपकरणको समेत अभाव भएपछि शङ्का लागेर जचाउन आउनेहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको चिकित्सकहरूको भनाइ छ।
डेङ्गीको सङ्क्रमण नियन्त्रण हुन नसक्दा धरानलाई डेङ्गी प्रकोप क्षेत्र घोषणा गरिएको बताइएको छ।
डेङ्गीकै कारण कतिपय शिक्षण संस्थामा पठनपाठन रोकिएको छ।
जमेको पानी मुख्य कारक
डेङ्गी एडिस एजिप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो।
मुख्यगरी जमेको पानीमा त्यस्ता लामखुट्टेले फुल पार्ने र त्यसबाट हुर्किएका लामखुट्टेको टोकाइबाट डेङ्गीको सङ्क्रमण हुने अधिकारीहरू बताउँछन्।

जमेको तथा लामो समयसम्म भण्डारण गरेर राखिएको पानी फाल्न स्थानीय बासिन्दालाई गरिएको आग्रह प्रभावकारी कार्यान्वयन नहुँदा डेङ्गी नियन्त्रणमा कठिनाइ भएको प्रदेश नम्बर १ को स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक डा. भोगेन्द्र डोटेल बताउँछन्।
डोटेलले भने, "लामो समयदेखि भण्डारण गरिएको पानी फाल्न गरिएका प्रयास प्रभावकारी नहुँदा डेङ्गीको सङ्क्रमण घट्नुको साटो दैनिक बढ्दो छ।"
तर नियन्त्रण गर्ने अरू विकल्प पनि छैन।
सरकारी अधिकारी, चिकित्सक, धरान उपमहानगरपालिका लगायतले समुदायका मानिसलाई डेङ्गीको सङ्क्रमण हुनसक्ने कारणबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि खासै उपलब्धिमूलक नभएको धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी बताउँछिन्।

तस्बिर स्रोत, AFP
चिकित्सकहरूका अनुसार झन्डै दुई साता जमेको पानीमा डेङ्गी जातको लामखुट्टेको विकास भइसक्छ।
त्यसले कुनै बाटा वा भाँडामा राखिएको पानी कम्तीमा एक साताभित्र दुई पटक फेर्नुपर्ने हुन्छ।
धरानका अधिकांश घरमा फूलबारी बनाउने प्रचलन रहेको र कतिपय फूलका लागि प्लाष्टिक वा सिसाका बाटामा लामो समयसम्म पानी जमेका कारण पनि डेङ्गीको सङ्क्रमण फैलिएको स्वास्थ्यकर्मीहरूको धारणा छ।

पानीको अभाव
खानेपानीको राम्रो प्रबन्ध नहुँदा धरानवासीले अधिकांश समय खानेपानीको समस्या झेल्नु परिरहेको स्थानीयवासीको भनाइ छ।
मुख्यत: सुक्खा मौसममा पानीको आपूर्ति कम हुँदा स्थानीयवासी पानीको भण्डारण गरेर हप्तौँ दिनसम्म प्रयोग गर्ने गरेको बताइन्छ।
स्थानीय सर्दु खोला र जमिनमुनिबाट निकालिएको पानीले धरानको बढ्दो मागलाई धान्न नसकेको गुनासा बेलाबेलामा आइरहन्छन्।
धरान उपमहानगरपालिकाले केही दिनयता केही वडाहरूमा ट्याङ्कीमार्फत् पानी बाँड्न थाले पनि त्यो पर्याप्त हुन नसकेको स्थानीय उपभोक्ताहरूको गुनासो छ।
धरानमा फैलिएको डेङ्गीको सङ्क्रमण छिमेकी सहर इटहरी, विराटनगर, सुन्दरहरैँचा लगायतका क्षेत्रमा पनि देखिन थालेको अधिकारीहरूले बताएका छन्।

विराटनगरमा दुईजना डेङ्गी सङ्क्रमित बिरामी उपचाररत रहेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ।
महानगरले बिहीवारदेखि धुँवा उडाएर लामखुट्टे मार्ने अभियन थालेको जनाएको छ।
सुनसरीको धरान र पूर्वी तराईका जिल्लामा डेङ्गीको प्रकोप बढेपछि प्रदेश नम्बर १ को सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ।
डेङ्गीको नियन्त्रण, सङ्क्रमितको उपचार लगायत जनचेतनामूलक कार्यक्रमका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको मुख्यमन्त्री शेरधन राईले बताएका छन्।








