डेङ्गी सङ्क्रमण: सरकारी संयोजनको अभावमा स्थानीय तहमा जनस्वास्थ्य सेवा प्रभावित

नेपाल स्वास्थय
तस्बिरको क्याप्शन, स्थानीय तहले जनस्वास्थ्य सचेतना कार्यक्रमहरू सञ्चालन गरेपनि आकस्मिक अवस्थाका लागि जनस्रोत र समन्वय अभाव छ

सरकारको तीन तहका निकायबीच आवश्यक समन्वय हुन नसक्दा नागरिकहरूका लागि जनस्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध हुन नसकेको जानकारहरूले बताएका छन्।

पुराना संरचनाहरू भङ्ग भएर स्थानीय तहको अभ्यास हालसालै मात्र सुरु भएको अवस्थामा जनस्वास्थ्य क्षेत्रमा जनशक्तिको कमी र आकस्मिक परिचालन गर्न सकिने टोली नहुँदा स्थानीय निकायमा समस्या देखिन थालेको बताइएको छ।

धरानमा फैलिएको डेङ्गी प्रभावकारी रूपमा नियन्त्रण नहुनु र अन्य जिल्लाहरूमा समेत फैलिनुको कारण सरकारी संयन्त्रहरू उपयुक्त ढङ्गबाट परिचालन हुन नसक्नु रहेको विज्ञहरू बताउँछन्।

दादुरा उन्मुलन कार्यक्रमका राष्ट्रिय अध्यक्ष डा गोविन्दप्रसाद ओझा भन्छन्: "भविष्यमा देखा पर्न सक्ने विभिन्न रोगहरूको सङ्क्रमणसँग लड्न भने स्थानीय तह तयार भए जस्तो देखिँदैन।"

सरकारी अधिकारी भने तीन तहका निकायमा समन्वयको अभाव नभएको दाबी गर्छन्।

संवेदनशील विषय

स्थानीय स्तरमा देखा परेका समस्याको सहज ढङगबाट हल गर्न र विकास निर्माणका काम कारबाही चुस्त रूपमा अघि बढाउन स्थापना भएका निकायमा नीतिगत अस्पष्टता र प्रक्रियागत झमेला रहेको उनको बुझाइ छ।

डा ओझा भन्छन्: "यो निकै संवेदनशील विषय हो। देश सङ्घीय संरचनातर्फ जाँदै गर्दा सङ्घीय सरकार र विशेषगरि स्वास्थ्य मन्त्रालयले ध्यान पुर्‍याउन नसक्दा यस्तो स्थिति उत्पन्न भएको हो।"

"गाउँहरूमा काम गर्न जाँदा एक किसिमको अलमल भए जस्तो देखिन्छ। कसले के गर्ने र कसरी गर्ने भन्ने कुरो स्पष्ट देखिँदैन।"

स्थानीय तहका जनप्रतिनिधिहरूको मूल चासो विकास निर्माणका कार्यक्रम देखिने तथा उनीहरू राजनीतिज्ञ भएकाले जनस्वास्थ्यमा पूर्णरूपमा जानकार नरहेकाले पनि समस्या हुने गरेको उनको बुझाइ छ।

उनले भने: "खोप लगाउने जस्ता नियमित कामका हकमा स्थानीय तहमा समस्या देखिँदैन। तर हाल देखा परेको डेङ्गी वा भविष्यमा देखा पर्न सक्ने अन्य विभिन्न किसिमका रोगहरूको सङ्क्रमणसँग लड्न भने हामी तयार भए जस्तो देखिँदैन।"

नेपाल स्वास्थ्य
तस्बिरको क्याप्शन, डेङ्गीको सङ्क्रमण फैलिएपछि विराटनगर महानगरपालिकामा लामखुट्टे मारिएका थिए

स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक ओझाले विगतमा आकस्मिक रूपमा परिचालन गर्न सकिने खाले टोली सबै जिल्लामा रहेको स्मरण गर्दै बताए: "आवश्यक परेको अवस्थामा निर्देशन दिने, सुपरिवेक्षण गर्ने र उपकरण उपल्वध गराउने वा प्रयोगमा ल्याउन सक्ने खाले मानिस स्थानीय तहमा रहन जरुरी छ।"

त्यसबाहेक स्थानीय तहमा खटिएका अधिकारीहरूको अनुशासन पनि पेचिलो बन्दै गएको ओझा बताउँछन्।

तर स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी भने त्यस्तो अवस्था नरहेको बताउँछन्।

डेङ्गीजस्ता रोग फेलिदैगर्दा त्यसको रोकथाममा केन्द्र सरकारको मुख्य दायित्व रहने र आफूहरूले त्यसै अनुरूप काम गर्दै आएको उनी बताउँछन्।

लोहनी भन्छन्: "तीन तहका निकायबीच तालमेल नमिलेको होइन। नमिलेको जस्तो देखिएका मात्रै हो।"

"डेङ्गी फैलिन बित्तिकै म आफैँ धरान पुगेर आएँ। त्यहाँ प्रदेश सरकार र स्थानीय तहका अधिकारीहरूसँग मिलेर काम अघि बढायौँ।"

केही स्थानीय तहमा त्यस्ता किसिमका समस्या उत्पन्न भए पनि सङ्घीय ढाँचामा काम कारबाही अघि बढ्दै जाँदा समस्याहरू क्रमिक रूपमा घट्दै जाने उनको दाबी छ।