मनोज सिंह: पशुपतिक्षेत्रको किराँतेश्वर सङ्गीत आश्रमदेखि ग्र्यामी अवार्डको मनोनयनसम्म

    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

सन् १९९९ देखि सन् २००५ सम्म काठमाण्डूका पशुपतिनाथ मन्दिर र बौद्धमा रातको एकान्तमा बाँसुरी बजाउँदा मनोज सिंहले भविष्यबारे सोचेका थिएनन्।

उनका लागि सङ्गीत साधना थियो भने 'बाँसको डुङ्ग्री' आध्यात्मिक चिन्तनलाई मूर्त रूप दिने साधन।

उनी केही वर्षदेखि अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका छन्। आफू सम्मिलित समूह सङ्गीतमा विश्वकै सर्वश्रेष्ठ पुरस्कार मानिने ग्र्यामी अवार्डको मनोनयनमा परेपछि यी ४१ वर्षीय बाँसुरीवादकको चर्चा चुलिएको छ।

'देवा' नामक साङ्गीतिक एल्बममा सिंहसँगै जर्मनीकी देवा प्रेमाल र इङ्ल्यान्डका मिटेनले काम गरेका छन्। विगत १५ वर्षदेखि यी तीन जनाले साङ्गीतिक समूहकै रूपमा काम गर्दै आएका छन्।

यसबाहेक 'बेस्ट न्यू एज एल्बम' विधामा मनोनयनमा परेको उक्त एल्बममा भारतका प्रसिद्ध शास्त्रीय सङ्गीतकार रविशङ्करकी छोरी अनुष्काशङ्करले पनि सितारवादन गरेकी छन्।

सङ्गीतमा पहिलो पाइला

आठ वर्षको हुँदा बाँसुरीतर्फ आकर्षित भएका सिंहको रुचि शास्त्रीय सङ्गीतमा झन् बढ्दै गयो।

पशुपतिक्षेत्रस्थित किराँतेश्वर सङ्गीत आश्रम हुँदै रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यक्रममा सहभागी हुन पाउँदा उनलाई थप ऊर्जा थपिए जस्तो अनुभूति हुन्थ्यो।

आश्रमलाई प्रतिनिधित्व गर्दै पशुपतिक्षेत्रमा हुने भजनकीर्तन कार्यक्रममा उनी निरन्तर सहभागी हुन्थे।

सङ्गीतप्रतिको रुचिकै कारण उनी प्रस्तर र सुकर्मजस्ता समूहसँग आबद्ध रहे। एक पटक उनी फोक-रक साङ्गीतिक समूह १९७४ एडीसँग पनि आबद्ध भए।

सम्झी बस्छु..., बाँच अनि बाच्न देऊ..., गुराँसै फुल्यो... पिँजडाको सुगा जस्ता कैयौँ चर्चित गीतमा उनले बाँसुरी बजाएका छन्।

सिंह १९७४ एडीको सदस्यका रूपमा आबद्ध हुँदा उक्त साङ्गीतिक समूह नेपालमा स्थापित भइसकेको थियो। अनि ब्यान्डसँगै उनको चर्चा पनि चुलिँदै थियो।

साङ्गीतिक रूपमा भिन्न प्रकारका समूहसँग आबद्ध हुँदा आफूले भिन्न काम गर्ने अवसर पाएको उनी बताउँछन्।

"मलाई ग्र्यामीजस्तो प्रसिद्ध अवार्डमा मनोनयनमा पर्नुमा आध्यात्मिक विश्वासको समेत भूमिका छ जस्तो लाग्छ," सान फ्रान्सिस्कोमा रहेका सिंहले बीबीसीसँग भने।

"अहिले पनि नेपाल आउँदा पहिले म पशुपति जान्छु, त्यसपछि किराँतेश्वर अनि बौद्धनाथ गएर मात्रै घर जान्छु।"

"ती स्थानमा बाँसुरी बजाउँदा अहिले पनि अर्कै आनन्द अनुभूति हुन्छ। ममाथि ईश्वरको कृपा भए जस्तो लाग्छ र ग्र्यामीको मनोनयनमा पनि यसको भूमिका छ भन्ने लाग्छ।"

सहकार्य

पूर्वीय सङ्गीतबाट प्रभावित देवा प्रेमाल र मिटेनसँग सिंहको भेट एउटा साङ्गीतिक यात्राका क्रममा अमेरिकामा भएको हो।

प्रस्तर समूहको कार्यक्रमका क्रममा उनी अमेरिका गएका थिए।

"त्यस बेला अमेरिकामा पूर्वीय दर्शनप्रति सर्वसाधारणको चासो थियो। योगप्रति मानिसहरूको ठूलो आकर्षण थियो। हाम्रो सङ्गीत पनि रुचाए जस्तो लाग्थ्यो," सिंहले भने।

यसैबीच एउटा सङ्गीत स्टुडियोमार्फत् उनको भेट देवा र मिटेनसँग भयो।

सङ्गीतलाई हेर्ने दृष्टिकोण र एक प्रकारको समानताका कारण ती दुईले सिंहलाई सँगै काम गर्न आग्रह गरे।

अमेरिकामा जे हुन्छ त्यो एक प्रकारले सारा संसारले अनुसरण गर्दो रहेछ भन्ने आफ्नो बुझाइकै कारण उक्त समूहमा काम गर्ने प्रस्ताव उनले स्वीकार गरे।

मिटेन र देवाको भेट भने भारतको पुणेस्थित ओशो आश्रममा भएको थियो। वैवाहिक बन्धनमा बाँधिएका उनीहरूले सङ्गीत सिर्जना गर्न थालेको २५ वर्षजति भयो।

"खासगरी १९७४ एडीसँग साङ्गीतिक यात्रामा विदेश जाँदा हामीले निकै माया पाउँथ्यौँ। तर हाम्रा दर्शक भने प्राय: नेपाली नै हुन्थे।"

"मलाई मेरो धर्म नेपाली सङ्गीतलाई विश्वमा फैलाउनु हो जस्तो लाग्थ्यो। त्यसले पनि मलाई यो प्रस्ताव स्वीकार गर्न प्रेरित गर्‍यो।"

देवा र मिटेनसँग सहकार्य गरिरहेका सिंह १९७४ एडी र सुकर्मसँग पनि कुनै न कुनै रूपमा जोडिइरहेका छन्।

झन्डै सात वर्षपछि एकसाथ जुटेको १९७४ एडीको नयाँ एल्बम निरन्तरताको एउटा धुनमा सिंहले बाँसुरी बजाएका छन्।

"आगामी वर्ष अस्ट्रेलियामा हुने साङ्गीतिक कार्यक्रममा १९७४ एडीसँग बजाउने तयारी गरिरहेको छु," उनले भने।

देवा र मिटेनसँग सिंहले सहकार्य गरेको १५ वर्ष भयो। हालसम्म उक्त समूहले आधा दर्जन साङ्गीतिक एल्बम सार्वजनिक गरिसकेको उनी बताउँछन्।

नेपालमा अहिले प्रस्तुति नदिएको समूहले पश्चिममा भने राम्रै ख्याति कमाएको उनको दाबी छ।

"वर्षमा करिब ६० देखि ७० वटा साङ्गीतिक कार्यक्रम गर्छौँ। ती विभिन्न देशमा हुन्छन्।"

"भर्खरै युरोप भ्रमण गर्‍यौँ जहाँ २४ सहरमा प्रस्तुति दियौँ। आगामी वर्ष दक्षिण अमेरिका र क्यानडा भ्रमण गर्ने तयारी गरेका छौँ," उनले भने।

समूहमा देवाले कीबोर्ड बजाउँछिन् भने मिटेनले गितार। सिंहको काम भने रचनालाई पूर्वीय शैलीमा ढाल्ने, पूर्वीय धुन रचना गर्ने र त्यसमा बाँसुरीको धुन भर्ने छ।

गायनमा भने देवाको मुख्य भूमिका रहन्छ। आवश्यकता हेरेर तीनै जनाले स्वर दिने गरेको सिंह बताउँछन्।

ग्र्यामीजस्तो प्रसिद्ध अवार्डमा मनोनयन हुँदा कस्तो महसुस भइरहेको छ?

देवा र मिटेनले हाम्रो कामले ग्र्यामीमा स्थान पाएको सूचना दिँदा म घरमै थिएँ। 'बेस्ट न्यू एज एल्बम'मा मनोनयन भएको थाहा पाउँदा मलाई त्यति धेरै आश्चर्य भने लागेन।

खुसी भने निकै भएँ। हामीले गर्ने सङ्गीत अरूभन्दा भिन्न छ। त्यसैले होला मनोनयन भएको।

रमाइलो कुरा चाहिँ के भने ग्र्यामीमा मनोनयन भएको खबर फैलिएपछि नेपालबाट निकै धेरै फोन र इमेल आए। रातभरिजसो फोन बजेपछि ठूलै काम गरिएछ जस्तो लाग्यो।

नेपाली सञ्चारमाध्यमबाट धेरैले सोधीखोजी गरेको कुरा देवालाई सुनाएँ। उनलाई भने जर्मनीबाट खासै त्यस्तो सोधीखोजी गरिएको रहेनछ।

ग्र्यामीमा मनोनयन हुने पहिलो नेपाली भएकाले होला नेपालमा यति धेरै चासो देखिएको। हाम्रो संस्कृति पनि अलि फरक छ। हामी नेपाली हुनुमा गर्व गर्छौँ।

प्रस्टरूपमा भन्नुपर्दा देवा एल्बममा तपाईँको भूमिका के हो?

देवामा रहेका सातवटा धुनमध्ये चारवटा मैले रचना गरेको हुँ। एउटा धुनमा मेरी फुपूको पनि भूमिका छ। उहाँले गुनगुनाएको 'हरेराम हरेराम' बोललाई पनि एल्बममा समेटेका छौँ।

हिन्दू र बौद्ध धर्मावलम्बीहरूको भजनबाट प्रभावित हुने हुँदा पनि समूहमा मेरो भूमिका महत्त्वपूर्ण छ।

पूर्वीय धुनले ग्र्यामीमा स्थान पाउँदा कस्तो महसुस भइरहेको छ?

यो निकै खुसीको कुरा हो। म सङ्गीतबाट मानिसको आत्मा छुने प्रयत्न गर्छु। मेरो धर्म र जीवनको उद्देश्य नै सङ्गीत हो भन्ने जस्तो लाग्छ। र ग्र्यामीजस्तो अवार्डमा मनोनयनमा पर्दा साँच्चै त्यसो गर्न सकिएको रहेछ जस्तो लाग्छ।

ग्र्यामी जित्ने सम्भावनाबारे के भन्नु हुन्छ?

जितहार भन्दा पनि ग्र्यामीमा मनोनयन हुनु नै ठूलो कुरा हो। तर जुन विधामा हामी मनोनयन भएका छौँ त्यसमा अरूको र हाम्रो सङ्गीत निकै फरक छ।

मनोनयन हुने पाँचमध्ये दुई जनालाई म व्यक्तिगत रूपमै चिन्छु। अर्का एक जनासँग मेरो गत वर्ष कुरा भएको थियो।

सँगै केही काम गर्ने कुरा पनि भएको थियो। उनले एक पटक ग्र्यामी जितिसकेका छन्।

एक हिसाबले म किन आशावादी छु भने उहाँहरूको प्राय: रचना इन्स्ट्रुमेन्टल छ। हाम्रो रचना नितान्त फरक छ।

काठमाण्डूको बौद्धमा हुर्केका मनोज सिंहले पश्चिमा मुलुकमा पूर्वीय सङ्गीत प्रवर्धन गर्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ।

"मैले उहाँहरूलाई (देवा र मिटेन) नेपालमा कार्यक्रम गरौँ भनेको छु। भविष्यमा पक्कै होला," उनले भने।

"विश्वमा जहाँ गएर बाँसुरी बजाए पनि मलाई पशुपतिनाथमा बजाउँदा जस्तो आनन्द महसुस हुँदैन।"