दक्षिण एसियाली खेलकुद: सागका खेल सुरु, नेपालको बाङ्ग्लादेशमाथि सहज विजय

नेपालले महिला भलिबलमा बाङ्ग्लादेशलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सुखद सुरुवात गरेको छ।
काठमाण्डूमा भएको खेलमा नेपालले बाङ्ग्लादेशलाई सोझो सेटमा २५-९, २५-९ र २५-११ ले हराएको हो।
मङ्सिर १५ गते उद्घाटन हुने सागका केही खेलहरू बुधवार सुरु भएका छन्।
जितपछि नेपालकी कप्तान अरुणा शाहीले भनिन्: "नतिजाबाट सन्तुष्ट छु। आज देखिएको कमजोरी आगामी खेलमा मिलाउने छौँ।"
नेपालले महिला भलिबलमा अर्को खेल बिहीवार भारतसँग खेल्ने छ।
सहज विजय
बुधवार बाङ्ग्लादेशले कडा टक्कर दिन नसकेको कारण नेपालले पहिलो रोजाइका खेलाडीलाई अधिकांश समय खेलाएको थिएन।
प्रशिक्षक जगदीश भट्ट भन्छन्: "विपक्षीको खेल कमजोर देखिएकोले हाम्रो खेल पनि ढिलोजस्तो देखिएको हो।"
उनले भारतविरूद्ध आफ्नो शत प्रतिशत खेल पस्किने दाबी गरे।
बुधवार नै हुने भनिएको अर्को खेलमा पाकिस्तान खेल्न असक्षम भएपछि माल्दिभ्सले तीन अङ्क प्राप्त गरेको छ।
दुई साता अगाडि बाङ्ग्लादेशमा सम्पन्न मध्य एसियली क्षेत्रको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो स्थान प्राप्त गरेको थियो।
उक्त प्रतियोगितामा नेपालले माल्दिभ्स, बाङ्ग्लादेश तथा किर्गिस्तानलाई पनि पराजित गरेको थियो।









