तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
शौका समुदायको मेलामा भाग लिन जाँदा नेपाली पत्रकारले देखेको कालापानी
- Author, मञ्जु कल्याल
- Role, बीबीसी न्यूज नेपाली
भारतबाट अतिक्रमित भनिएको नेपाली भूमि कालापानी-लिपुलेक क्षेत्रमा अवस्थित गुन्जी गाउँमा सन् २०१४ को जुलाईको अन्तिम साता एउटा सांस्कृतिक मेला आयोजना गरिएको थियो।
रङ्ग महोत्सव (ब्यानरमा रं महोत्सव लेखिएको छ) महाकाली नदीवारि नेपाल र पारि भारतमा बस्ने शौका समुदाय सहभागी हुने मेला हो।
शोका समुदायले रङ्ग महोत्सवलाई भेटघाटको अवसरका रूपमा लिने गरेका छन्।
दुई वर्षमा एक पटक यो मेला लाग्ने गर्छ। यो मेला शौका समुदायको बसोबास भएका विभिन्न स्थानमा आयोजित हुन्छ।
जहाँ मेला लाग्छ त्यहाँ सबैतिरका शौका समुदायका मानिसहरू भेला हुन्छन्, नाचगान र रमाइलो गर्छन्।
प्राय: यो मेला भारततर्फ रहेका शौका समुदायका मानिसहरूले नै गर्ने गरेका छन्।
'मिचिएको क्षेत्र' पुग्ने धोको
दुई भिन्न देशका नागरिक भए पनि शौका समुदायको रहनसहन तथा रीतिरिवाज उस्तै छ।
वारिपारि बसोबास गर्ने समुदायबीच वैवाहिक सम्बन्ध पनि छ।
भारतले अतिक्रमण गरेको भनिएको भूभागमा बसोबास गर्ने शौका र नेपाली भूमिमा बसोबास गर्ने शौकाबीच त अझ प्रगाढ सम्बन्ध हुने नै भयो।
म आफैँ पनि शौका समुदायकी सदस्य भएकाले दार्चुला सदरमुकाम खलङ्गामा बसोबास गर्ने मैले पनि सन् २०१४ को जुलाई २७ र २८ मा उक्त मेलामा सहभागी हुने निर्णय गरेँ।
त्यस वर्षको मेलामा जाने निर्णय गर्न मलाई "भारतले मिचेको भनिएको नेपाली भूमिमा जान पाइन्छ" भन्ने कुराले पनि प्रेरित गरेको थियो।
मैले यसअघि कालापानी र लिपुलेकबारे धेरै सुनेकी र समाचार पढेकी थिएँ। तर प्रत्यक्ष रूपमा त्यस क्षेत्रमा जान पाएकी थिइनँ।
गुन्जी जाने निर्णय गरेपछि हामी खलङ्गाबाट त्यसतर्फ लाग्यौँ।
दुईतीन घण्टा गाडीबाट यात्रा गरेपछि गुन्जीसम्म पुग्न पैदल यात्रा गर्नुपर्ने भएकाले हामीले त्यसैअनुसार तयारी गरेर यात्रा सुरु गर्यौँ।
खलङ्गाबाट यात्रा सुरु गरेको दिन हामी भारतको बुदी गाउँको छाङ्काङ्रे भन्ने ठाउँमा पुगेर बास बस्यौँ।
दोस्रो दिनको यात्रा सुरु भयो छाङ्काङ्रेबाट। त्यहाँबाट अघि बढ्ने क्रममा पुगियो बुदी गाउँ। बुदीबाट तीन किलोमिटर पैदल हिँडेपछि हामी भारतको छियालेक पुग्यौँ।
अनुमति लिनुपर्ने क्षेत्र
त्यहीँबाट सुरु हुने रहेछ भारतको 'नोटिफाइड एरिया' अर्थात् निषेधित क्षेत्र।
त्यस क्षेत्रमा नेपाली मात्र होइन, भारतीय नागरिकले पनि अनुमतिपत्र लिएर मात्र प्रवेश पाउने रहेछन्।
नेपाली नागरिकले त्यस क्षेत्रबाट अघि बढ्नका लागि जिल्ला प्रशासन कार्यालयको सिफारिसमा मात्र भारतीय पक्षबाट अनुमतिपत्र पाउने रहेछन्।
हामीले पहिले नै जिल्ला प्रशासन कार्यालयबाट सिफारिसपत्र लिएको र रङ्ग महोत्सवमा जान लागेकाले भारतीय अनुमतिपत्र लिन सकस भने परेन।
तर धेरै नेपालीहरूले यस्तो अनुमतिपत्र लिन पनि विभिन्न अड्चन बेहोर्नुपर्ने रहेछ।
जिल्ला प्रशासन कार्यालयको सिफारिस भएपछि भारतीय कर्मचारीहरूले 'सब-डिभिजनल मेजिस्ट्रेट'को हस्ताक्षरयुक्त एउटा अनुमतिपत्र जारी गर्ने रहेछन्।
उनको हस्ताक्षर नभएको अनुमतिपत्रबिना त्यस क्षेत्रमा प्रवेश गर्न नपाइने रहेछ।
यस्तो अनुमतिपत्रका आधारमा बहुयात्रा अर्थात् छ महिनाका लागि पटकपटक यात्रा गर्ने अनुमति प्राप्त हुने रहेछ। अनुमतिपत्र बोकेर हामी गुन्जीतर्फ लागेका थियौँ।
खानतलासी
छियालेक, गर्ब्याङ आदि गाउँदेखि कालापानी र लिपुलेकसम्म त्यस क्षेत्रका विभिन्न स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र इन्डो-टिबेटन बोर्डर पुलिस (आईटीबीपी) को बाक्लो उपस्थिति थियो।
यात्राका क्रममा विभिन्न स्थानमा भारतीय सुरक्षाकर्मीको हाम्रो खानतलासीको गरे।
अनुमतिपत्र देखाउदै हामी गर्ब्याङ पुग्यौँ। त्यहाँबाट चार किलोमिटरजति हिँडेपछि हाल ब्यास गाउँपालिका वडा नम्बर १ मा रहेको नेपाल-भारत जोड्ने सीतापुल पुगियो।
त्यहाँ पनि भारततर्फ आईटीबीपीले सुरक्षा दिइरहेको थियो। नेपालतर्फ भने पुलको छेउमा सुरक्षकर्मी देखिएनन्। नेपाली सुरक्षाकर्मीहरू उक्त पुलबाट एक किलोमिटर परतिर थिए।
उक्त क्षेत्रबाट अघि बढेर हामी नपल्चु गाउँ पुग्यौँ। सोही गाउँबाट पारि पर्छ गुन्जी। गुन्जी भारतबाट अतिक्रमित भएको भनिएको कालापनी क्षेत्रमै पर्छ।
कालापानी क्षेत्रमा नेपाली नागरिकहरूलाई भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएका छन्।
भाषाले सजिलै प्रवेश
सामान्य अवस्थामा नेपाली नागरिकलाई उक्त क्षेत्रमा प्रवेश गर्न सजिलो छैन। मैले भने उक्त क्षेत्रमा पुग्दा खासै अफ्ठ्यारो महसुस गरिनँ।
सम्भवत: उक्त क्षेत्रमा बसोबास गर्ने शौका समुदायको सदस्य भएको र हाम्रो भाषा मिल्ने भएर पनि हुन सक्छ।
रङ्ग महोत्सवको अवलोकन तथा नयाँ ठाउँ घुम्दै जादाँ अलि पर मनेला भन्ने ठाउँमा मेलाको आयोजना गरिएको थियो।
उक्त ठाउँनजिकै भारतीय सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो।
गुन्जीभन्दा पूर्वोत्तर झन्डै नौ किलोमिटर टाढाको क्षेत्रमा कालापानी पर्छ, जहाँ पनि भारतीय सुरक्षाकर्मीहरू तैनाथ छन्।
कालापानीबाट करिब २७ किलोमिटरपर लिपुलेक छ। त्यस क्षेत्रमा भारतले तिब्बतसम्म पुग्ने सडक बनाउँदैछ।
भारतबाट अतिक्रमित भनिएको नेपाली भूमि कालापनी र लिपुलेक क्षेत्रमा पर्ने गुन्जी, नाबी र कुती गाउँमा शौका समुदायको बसोबास छ।
पत्रकार भैरव रिसालले आफूले जनगणना गरेको भन्ने गरेको त्यही क्षेत्रमा हो।
दुवैतर्फ शौका समुदाय
त्यस्तै नेपालको ब्यास गाउँपालिका वडा नम्बर १ मा रहेको टिङ्कर, छाङ्रुमा बासोबास गर्ने शौका समुदायको भाषा रहनसहन आदि सबै कुरा समान छ।
भारतले अतिक्रमण गरेको नेपाली भूमिमा बसोबास गर्ने शौका समुदायका बूढापाकाको नेपाली नागरिकता भेटिए पनि पछिल्लो समय भने सबैले भारतीय नागरिकता लिइसकेको बताइन्छ।
कालापानीको विषय बेलाबेला बहसमा आउने गरेको छ। तर त्यसको प्रत्यक्ष असर टिङ्कर र छाङ्रुमा बसोबास गर्ने शौका समुदायले भोग्नुपरेको छ।
उनीहरूले सदरमुकाम आवतजावत गर्ने सहज बाटो नेपालतर्फबाट नहुँदा भारतकै बाटो प्रयोग गर्ने गर्छन्।
जबजब कालापानी र लिपुलेकको कुरा आउँछ तबतब भारतीय सुरक्षाकर्मीले ब्यासवासीलाई आउँदाजाँदा दुःख दिने गरेको गुनासो व्यापक सुनिन्छ।
तसर्थ यो कुराको बहस सुरु भएसँगै निकास आउने गरेर टुङ्गिओस् भन्ने चाहना ब्यासवासीमा पाइन्छ।
यो पनि हेर्नुहोस्