पार्टीका नेताहरूबीच विवाद चर्काउन केही मानिस रातदिन लागे: प्रचण्ड

तस्बिर स्रोत, RSS
पछिल्ला दिनमा विगतको सहमति कार्यान्वयनका विषयलाई लिएर सत्ताधारी नेकपाका अध्यक्षबीच असन्तुष्टीका खबरहरु सार्वजनिक भैरहेका बेला उक्त पार्टीका एकजना अध्यक्ष प्रचण्डले पार्टीका नेताहरूबीच विवाद पैदा गर्न केही मानिस रातदिन लागिरहेको बताएका छन्।
यसरी नेताहरूबीच 'विवाद ल्याउन लागि परेका' मानिसको नाम भने नलिएका उनले त्यस्ता शक्तिहरू परिवर्तन विरोधी अनि प्रगति विरोधी निरङकुश प्रवृत्तिका भएको पनि बताए।
अपिल
नेपाल सम्वतका अवसरमा मध्यपुर थिमीमा आयोजित एउटा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कम्युनिस्टहरूको दुई तिहाइ सहित बलियो सरकार बनेको, तथा कम्युनिष्टहरूको एकता भएको विषयलाई त्यस्ता प्रवृत्तिका मानिसहरूले मन नपराएको बताए।
उनीहरू रातदिन यो पार्टीलाई के गरि कमजोर पार्न सकिएला? यो सरकारलाई के गरि बदनाम गर्न सकिएला? पार्टीका नेताहरूभित्र के गरी विवाद पैदा गर्न सकिएला भनेर लागिरहेका छन।
उनले भने: "उनीहरू रातदिन यो पार्टीलाई के गरि कमजोर पार्न सकिएला? यो सरकारलाई के गरि बदनाम गर्न सकिएला? पार्टीका नेताहरूभित्र के गरी विवाद पैदा गर्न सकिएला भनेर लागिरहेका छन।"
उनले त्यस्ता प्रवृत्तिविरुद्ध आवाज उठाउन समेत कार्यक्रममा उपस्थितहरूलाई अपिल गरे।
'दूरी बढेको छैन'
केही दिनको विदेश भ्रमणपछि आइतवार फर्किएका नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षबीच 'नेपाल र विदेशमा रहेका बेला बाहेक अरू कुनै दूरी नबढेको' स्पष्टीकरण दिएका छन्।
काठमाण्डूमा भन्दा बाकुमा हुँदा टाढा हुने नै भयो। त्यो बाहेक टाढा केही पनि छैन। हामीबीच कुनै प्रकारको दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन।
अजरबैजानको राजधानी बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिएर स्वेदश फर्किएका ओलीले विमानस्थलमा पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदैथिए।
उनले भने: "काठमाण्डूमा भन्दा बाकुमा हुँदा टाढा हुने नै भयो। त्यो बाहेक टाढा केही पनि छैन। हामीबीच कुनै प्रकारको दूरीको अवस्था पनि छैन, सम्भावना पनि छैन।"

तस्बिर स्रोत, RSS
एकता प्रकृया कहाँ?
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।
दुई पार्टीमा तत्काल रहेका केन्द्रीय सदस्यहरूलाई नै केन्द्रीय सदस्य बनाएर सुरु भएको एकता प्रक्रिया अन्तर्गत हालसम्म केन्द्रीय समिति, केन्द्रीय सचिवालय, स्थायी समिति अनि प्रदेश, जिल्लासम्मको नेतृत्वको टुङ्गो लागेर तल्लो तहका समितिहरूको घोषणा भैरहेका छन्।
केन्द्रीय सदस्यहरूलाई सह-इन्चार्जसम्म भए पनि बनाएर जिम्मेवारी दिइएको छ।
पार्टी एकता र आफूहरूबीचको सम्बन्धलाई लिएर दुई अध्यक्षका यस्ता अभिव्यक्ति आए पनि उनीहरूको जिम्मेवारीमा रहेको पार्टी एकताको प्रकृया भने अझै बाँकी नै छ।
अझै पनि पोलिटब्युरो, केन्द्रीय सल्लाहकार परिषद्, राष्ट्रिय परिषद्, ज्येष्ठ कम्युनिस्ट मन्च, केन्द्रीय आयोग, प्रवास समिति आदिको गठन बाँकी रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

तस्बिर स्रोत, PM Secretariat
प्रधानमन्त्री अजरबैजानको राजधानी बाकु जानु पहिले सचिवालयको बैठक बसे पनि त्यसबारे कुनै छलफल नभएको बताइएको छ।
बलात्कारको आरोप लागेपछि कृष्णबहादुर महराले दिएको राजीनामापछि रिक्त सभामुख पदमा पूर्व माओवादीबाटै बनाउने वा पूर्व एमाले नेताहरूबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाम्फेलाई बनाउने भन्ने पनि दुई अध्यक्षले सहमतिमै निर्णय लिनु पर्ने अवस्था छ।
नेताहरूले जेजस्ता दाबी गरे पनि तिहार सकिएपछि हुने पार्टी बैठकहरू कसरी अगाडि बढ्छन् र दुई अध्यक्षले कसरी सहमतिलाई लैजान्छन् भन्ने विषयले धेरै प्रश्नको जवाफ दिने जानकारहरू बताउँछन्।








