टर्की-सिरिया तनाव: रूसी फौजहरू सीमामा तैनाथ

रूस

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, रुसी सेना सन् २०१५ यता सिरियामा उपस्थित छन्।

सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी फौजहरू टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन्।

सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरिसकेका छन्।

कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्‍याउने कार्यमा रूसी सैनिकले सघाउने बताइएको छ।

१५० घण्टाको समय

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनबीच मङ्गलवार भएको सहमतिले कुर्द लडाकुहरूलाई फिर्ता हुनका लागि बुधवार मध्याह्नबाट १५० घण्टाको समय उपलब्ध गराएको हो।

टर्कीका फौजहरूले भने कुर्दविरूद्धको सैन्य कारबाहीमा कब्जामा लिएका क्षेत्रहरू आफ्नो नियन्त्रणमा राख्नेछन्।

सिरिया

टर्कीको एउटा योजना सीमावर्ती भेगमा एउटा 'सुरक्षित क्षेत्र' बनाउनेछ जहाँ टर्कीमा रहेका बीस लाख शरणार्थीलाई पुनर्स्थापित गर्न सकिनेछ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको थियो।

घटनाक्रम

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको फौजले चार वर्षदेखि सघाएको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेपछि त्यहाँ परिस्थिति फेरिएको थियो।

जसलगत्तै टर्कीले कुर्दहरूलाई लक्षित गर्दै उत्तरी सिरियामा सैन्य कारबाही थालेको थियो।

रूस

तस्बिर स्रोत, AFP

आक्रमणको प्रतिकार गर्न सिरियाली कुर्दहरूलाई बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको थियो।

तर एक सातापछि अङ्करामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफल भएपछि टर्की आक्रमण रोक्न सहमत भएको थियो।

पछिल्लो हमला सुरु भएपछि झन्डै ३० लाख मानिस बस्ने पूर्वोत्तर सिरियाबाट एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।