सिरियामा टर्कीको आक्रमण: एर्दोआन र पुटिनबीच कुर्द फौजलाई टर्की-सिरिया सीमाबाट परै राख्ने सहमति

पुटिन र एर्दोआन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, पुटिन र एर्दोआन

कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित टर्की र रुसले एउटा सहमति गरेका छन्।

टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच छलफल भएपछि उक्त सहमति भएको हो। दुवै देशले त्यसलाई "ऐतिहासिक" भनेका छन्।

टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो।

रुस सिरियाका राष्ट्रपति बशर अल-असदको साझेदार हो। उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो।

अब टर्की र रुसले सीमामा संयुक्त गस्ती गर्नेछन्।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो।

विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आकलन गरेका छन्।

उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुन: कारबाही गर्नु नपर्ने बताएको छ। यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो।

सहमतिमा के छ?

टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ। त्यसलाई "सुरक्षित क्षेत्र" बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ।

रुसले दुई पक्षबीच द्वन्द्व हटाएर टर्कीको उक्त योजना कार्यान्वयन हुन दिन सहमति व्यक्त गरेको छ।

उत्तरी सिरियाको नक्सा

दुई देशले जारी गरेको विज्ञप्तिमा मन्बिज र ताल रिफात नगरबाट कुर्द फौज हटाइने उल्लेख छ।

तर कुर्द पक्षले यस विषयमा टिप्पणी गर्न बाँकी नै छ।

कुर्द फौज टर्की-सिरिया सीमानजिकै नआएको आश्वस्त पार्न योजनानुरूप रुसले टर्कीसँगै उत्तरी सिरियाका केही भागमा बुधवारदेखि संयुक्त गस्ती गर्नेछ।

कुर्द फौज उपस्थित नभएको क्षेत्रमा पनि संयुक्त गस्ती हुनेछ।

टर्कीका राष्ट्रपति एर्दोआन र रुसका राष्ट्रपति पुटिनले यस विषयमा छलफल गरेका थिए। त्यसपछि सहमति भएको घोषणा भयो।

उक्त सहमतिका लागि सिरियाका राष्ट्रपति असदले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको क्रेम्लिनले जनाएको छ। उसका अनुसार असदले रुसले गरेको सहमतिप्रति पूर्ण सहयोग हुने बताएका छन्।

टर्कीले समर्थन गरेका सिरियाली विद्रोहीले सीमावर्ती तल अब्यद नगर आफ्नो नियन्त्रणमा लिएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, टर्कीले समर्थन गरेका सिरियाली विद्रोहीले सीमावर्ती तल अब्यद नगर आफ्नो नियन्त्रणमा लिएका छन्

यो स्थिति कसरी आयो?

सिरियामा जिहादी समूह इस्लामिक स्टेटलाई परास्त गर्ने अमेरिकी अभियानमा कुर्द नेतृत्वको फौजले चार वर्षदेखि सघाएको थियो।

कुर्द फौजमा कुर्दिश पीपल्स प्रोटेक्शन यूनिट्स (वाईपीजी) का लडाकुहरूको बाहुल्य छ। ती लडाकुहरूलाई टर्कीले आतङ्कवादी समूह मान्छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेपछि त्यहाँ परिस्थिति फेरियो।

टर्कीले कुर्दहरूलाई लक्ष्य गर्दै उत्तरी सिरियामा सैन्य कारबाही थाल्यो।

सिरियाली भूमिमा विदेशी शक्तिले अतिक्रमण भएकाले सजग बनेको रुसले सीमानजिकै आफ्नो सेना खटायो।

गत हप्ता अमेरिकाको अनुरोधमा टर्कीको नियन्त्रणमा रहेको क्षेत्रबाट वाईपीजीलाई अन्यत्र जान दिन तत्कालका लागि आक्रमण रोक्न टर्की सहमत भयो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिकी फौजलाई ढुङ्गा हान्दै सिरियाली नागरिकहरू

त्यसयता त्यहाँ युद्धविरामको स्थिति छ।

कुर्दहरूलाई सीमाबाट ३२ किलोमिटर पर जान थप १५० घण्टाको समय दिइएको छ।

कारबाहीको परिणाम के?

संयुक्त राष्ट्रसङ्घले झन्डै ३० लाख मानिस बस्ने पूर्वोत्तर सिरियाबाट एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ।

तीमध्ये ८० हजार बालबालिका छन्।

टर्कीले सैन्य कारबाही थालेपछि सर्वसाधारण नागरिक तथा लडाकुसमेत ठूलो मानवीय क्षति भएको छ।

सिरियन अब्जर्भटरी फोर ह्यूमन राइट्सका अनुसार एक १२० जना गैरसैनिक नागरिक, २५९ कुर्द लडाकु, १९६ जना टर्कीको समर्थनप्राप्त सिरियाली विद्रोही तथा सात जना टर्कीका सैनिकको मृत्यु भएको छ।

टर्कीको भूमिमा कुर्द लडाकुले गरेको आक्रमणमा २२ सर्वसाधारण नागरिकको मृत्यु भएको टर्कीले जनाएको छ।