तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साहित्यतर्फ दुई वर्षको नोबेल पुरस्कार एकै पटक
पोलिस लेखक ओल्गा तोकाचुक र अस्ट्रियन नाट्यकार पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिने भएको छ।
उनको पुस्ताको नेतृत्वदायी उपन्यासकार भनेर चिनिने तोकाचुकलाई सन् २०१८ को पुरस्कार प्रदान गर्न लागिएको हो।
पुरस्कार प्रदान गर्ने द स्विडिश अक्याडमीमा भएको एउटा आर्थिक र यौन उत्पीडनसम्बन्धी विवादका कारण यस वर्षसम्मका लागि स्थगित गरिएको थियो।
सन् २०१९ को साहित्यतर्फको नोबल पुरस्कार भने पिटर हान्कले पाउनेछन्।
विशेषता
अक्याडमीले जनाए अनुसार ७६ वर्षीय अस्ट्रियन नाट्यकार सरल भाषामा मानव अनुभवको परिधिलाई उजागर गर्न सिपालु मानिन्छन्।
आफ्नो समयका व्यावसायिक रूपमा अत्यधिक सफल लेखकमा गनिने ५७ वर्षीय पोलिस लेखक तोकाचुकले जीवनको परिधिहरूभन्दा माथि गएर कथात्मक परिकल्पना गर्न सक्ने उनको क्षमताको आधारमा पुरस्कार दिइएको बताइएको छ।
उनलाई गत वर्ष म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार पनि दिइएको थियो।
अक्याडमीकी एक सदस्य कट्रीना फ्रास्टेसनका पति ज्याँ क्लाँ अर्नाविरुद्ध यौन उत्पीडनको आरोप लागेपछि गत वर्षको साहित्य पुरस्कार स्थगित गरिएको थियो।
बलात्कारको सो अभियोगमा दोषी प्रमाणित भएपछि उनलाई दुई वर्षको जेल सजाय सुनाइएको थियो।