भारतको मध्य प्रदेशमा महात्मा गान्धीको अस्तु चोरी

तस्बिर स्रोत, Getty Images
भारतको मध्य प्रदेशमा पर्ने रीवाबाट महात्मा गान्धीको अस्तु चोरी भएको प्रहरीले पुष्टि गरेको छ।
दुई दिनअघि अर्थात् अक्टोबर २ तारिखमा १५० औँ गान्धी जयन्ती मनाइएको थियो। चोरीको घटना त्यही दिन भएको बताइएको छ।
सन् १९४८ मा गान्धीको अस्तुको एउटा हिस्सा रीवास्थित बापु भवनमा राखिएको थियो।
घटनाबारे गरिएको उजुरी अनुसार अस्तुको चोरी मात्रै नभई गान्धीको तस्बिरमा समेत केरकार गरिएको छ।
गान्धीको तस्वीरमा हरियो रङ्गले 'देशद्रोही' लेखिएको छ।
लज्जास्पद
रीवा प्रहरीले घटनाबारे छानबिन गरिरहेको जनाएको छ। रीवास्थित बापु भवनको रेखदेख गर्ने मङ्गलदीपले घटनालाई लज्जास्पद भनेका छन्।
द वायर बेवसाइटसँग उनले भने, "गान्धी जयन्ती भएर मैले बिहानै भवनको ढोका खोलेको थिएँ। राति ११ बजेतिर हेर्दा गान्धीको अस्तु थिएन र उहाँको तस्वीरमा पनि केरकार गरिएको थियो।"
घटना सार्वजनिक भएपछि कांग्रेसका स्थानीय नेता गुरमीत सिंहले प्रहरीमा उजुरी गरेका हुन्।

तस्बिर स्रोत, SURAIH NIYAZI/BBC
द वायर बेवसाइटसँग उनले भने, "यस्तो पागलपन बन्द हुनुपर्छ। बापु भवनमा सीसीटीभी क्यामेरा जडान गर्न म माग गर्छु।"
महात्मा गान्धीले भारतलाई ब्रिटिश उपनिवेशबाट मुक्त गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सङ्ग्रहालय
सत्याग्रह र अहिंसात्मक आन्दोनलका कारण गान्धी विश्वभरि प्रख्यात भएका थिए।
यद्यपि भारतमा एकथरीले गान्धीलाई हिन्दू विरोधी ठान्छन्। उनीहरू गान्धीलाई मुस्लिम पक्षधर मान्छन्।

तस्बिर स्रोत, SURAIH NIYAZI/BBC
त्यही सोचका कारण हिन्दू महासभाका एक सदस्य नाथुराम गोड्सेले सन् १९४८ को ज्यानुअरी ३० मा गान्धीको हत्या गरिदिएका थिए।
हत्यापछि महात्मा गान्धीको अस्तुलाई नदीमा चाहिँ सेलाइएन।
बरू उनको अस्तुलाई केही हिस्सामा बाँडेर गान्धीका विभिन्न सङ्ग्रहालयमा राखियो। रीवास्थित बापु भवन त्यसैमध्येको एउटा हो।








