दशैँका बेला विदेश घुम्न जाने नेपालीको सङ्ख्या 'बढ्दै'

पछिल्ला वर्षहरूमा नेपालीहरू विदेश घुम्न जाने क्रम बढ्दै गएको छ।

आकर्षक टुर प्याकेज र यात्रा गर्नका लागि सहज बन्दै गएको परिस्थितिका कारण फस्टाएको भनिएको बाह्य पर्यटनलाई दशैँ र तिहारजस्ता चाडबाडले टेवा पुर्‍याएको जानकारहरू बताउँछन्।

अरू बेलाभन्दा लामो छुट्टी हुने तथा चाडबाड मनाउने शैलीमा आएको परिवर्तनका कारण नेपालीहरू दशैँ, तिहार पारेर विदेश घुम्न जाने चलन बढ्दै गएको उनीहरू सुनाउँछन्।

पहिलो पटक जाने यात्रुहरूको रोजाइमा थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, दुबईजस्ता मुलुक पर्ने व्यावसायीहरूको अनुभव छ।

दोस्रो पटक जानेहरूले चीन लगायतका मुलुक छान्ने र त्यसपछि भने युरोप र अमेरिका रोजाइमा पर्ने उनीहरूले अनुभव सुनाए।

कारण

इन्टरनेटको बढ्दो पहुँचका कारण नजिकिँदै गएको बाह्य संसारका साथै विदेश जान सहज र सुलभ हुँदै गएको अवस्थाका कारण नेपालीहरू विभिन्न गन्तव्य जाने क्रम बढ्न थालेको नेपाल एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टका (नाटा) अधिकारीहरू बताउँछन्।

सामान्य अवस्थाको तुलनामा दशैँ र तिहारका बेला विदेश यात्रा गर्नेको सङ्ख्या करिब २० देखि २५ प्रतिशतले बढ्ने र यो वर्ष पनि त्यही अवस्था रहेको नाटाका वरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईले बीबीसी न्यूज नेपालीलाई बताए।

त्यसो त घुमघाम गर्नु पर्छ भन्नेबारे बढ्दो जनचेतनाका साथै सुलभ हुँदै गएको विदेश भ्रमण नेपालीहरूको बढ्दो सङ्ख्याको प्रमुख कारण रहेको उनी बताउँछन्।

"कतिपयको त रहर राहदानीमा भिसा लगाउने हुन्छ जसकारण उनीहरू घुम्नका लागि विदेश जाने गर्छन्," उनले बीबीसीसँग भने। "अर्को कुरा बढ्दो प्रतिस्पर्धा गर्दा हवाई भाडासहित टुरको दर पनि सर्वसाधारणको पहुँच हुने गरी तय हुँदै गएको छ।"

सङ्ख्या

ठ्याक्कै तथ्याङ्क नभए पनि बर्सेनि थाइल्यान्डमा मात्रै वार्षिक करिब ४० हजार सर्वसाधारण घुमघाम गर्नका लागि जाने गरेको व्यावसायीहरू बताउँछन्।

सङ्गठित रूपमा वा टुर अपरेटरसँग समन्वय नगरिनै विदेश जानेहरूको सङ्ख्या पनि बढ्दो क्रममा रहेको हुँदा विदेश जानेको सङ्ख्या अझ बढी हुन सक्ने गुरागाईले जानकारी दिए।

त्यसबाहेक विभिन्न व्यावसायिक घराना तथा निजी क्षेत्रका रोजगारदाताहरूले समेत आफ्ना कर्मचारी एवम् ग्राहकहरूलाई विदेश घुमाउन लाने चलन बढ्दै गएको व्यावसायीहरू बताँउछन्।

समस्या

नेपालीहरूको विदेश जाने सङ्ख्या बढ्दै जानुका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको केन्द्रीय ब्याङ्कले बताउँदै आएको छ।

नेपालीहरूले भारी सङ्ख्यामा डलर लगायत अन्य विदेशी मुद्रा साट्ने र त्यो विदेशमा खर्च गर्दा मुलुकको विदेशी मुद्रा सञ्चितिमा प्रतिकूल असर पर्ने हुँदा त्यस्तो किसिमको खर्च कसरी कम गर्ने भन्ने विषयमा नियमन गर्ने तयारी अगाडि बढाइसकेको पछिल्लो मौद्रिक नीतिमै उल्लेख गरिएको नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए।

"यस विषयमा हामी चाँडै थप नीतिगत व्यवस्था सार्वजनिक गर्नेछौँ," निरौलाले थपे।

विदेशमा नेपालीहरूले गर्ने खर्चको अनुपात बढ्दै गएका कारण २५०० अमेरिकी डलरसम्म साट्न पाउने गरी तोकिएको सीमा घटाएर १५०० अमेरिकी डलर बनाइएको उनले बताए।

"विदेश जाँदा वृद्ध-वृद्धा हावापानी परिवतर्नका कारण बिरामी पर्ने र त्यहीका अस्पतालमा उपचार गराउने हुँदा विदेशी मुद्रा खर्च व्यापक हुँदै गएको उनको भनाइ छ," निरौलाले थपे।

हाल नेपाल केन्द्रीय ब्याङ्कसँग झन्डै १० महिना वस्तु र सेवा आयात गर्ने पुग्ने विदेशि मुद्रा सञ्चिति रहेको निरौला बताँउछन्।

"हाम्रो व्यापार घाटा ठूलो छ र आयात बढेका कारण त्यसमा थप वृद्धि हुन सक्ने हुँदा विदेशि मुद्रा सञ्चिति गर्दा फाइदा हुने हुँदा केन्द्रीय ब्याङ्कले केही हदसम्म कडाइ गर्न खोजेको हो," निरौलाले थपे।