महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेकालाई पक्राउ गर्नुपर्छः ट्रम्प

ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति ट्रम्पले आफूविरुद्ध महाभियोगबारे छानबिनको नेतृत्व गरिरहेका कङ्ग्रेस सदस्यलाई देशद्रोहको आरोपमा पक्राउ गरिनुपर्ने बताएका छन्।

कुनै प्रमाणविनै संसद्‌को तल्लो सदनको जासुसीसम्बन्धी समितिका अध्यक्ष डेमोक्र्याटिक नेता एड्म सीफले अमेरिकी तथा युक्रेनी राष्ट्रपतिबीचको फोन कुराकानीको लिखित स्वरूप झूटो रूपमा प्रस्तुत गरेको ट्रम्पले आरोप लगाए।

ट्रम्पले उनलाई पदबाट हटाइए गृहयुद्ध हुने भनी एकजना प्यास्टरले फक्स न्यूजलाई बताएको कुरा पनि उद्धृत गरेका छन्।

ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा छानबिन शुरू गराउने एकजना उजुरीकर्ताका वकिलहरूले राष्ट्रपतिका भनाइले उनी खतरामा परेको बताएका छन्।

बयान

युक्रेनी राष्ट्रपतिसँगको टेलिफोन कुराकानीको लिखित स्वरूप बाहिर आइसकेपछि ट्रम्पले उजुरीकर्तालाई सार्वजनिक गरिनुपर्ने बताएका छन्।

डेमोक्र्याटहरूले पहिचानको रक्षा गरिने सुनिश्चित भएपछि उजुरीकर्तालाई "छिट्टै" बयान लिइने बताएका छन्।

ट्रम्पले आफ्ना विपक्षीहरू राज्यद्रोहको आरोपमा पक्राउ पर्न सक्ने बताएका छन्।

न्यान्सी र ट्रम्प

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी अनुसन्धानको अगुवाइ गरेकी छन्

युक्रेनी राष्ट्रपतिसँगको कुराकानीमा ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा उनका सम्भावित डेमोक्र्याटिक प्रत्याशी जो बाइडेन र उनका छोरामाथि भ्रष्टाचारको आरोपबारे छानबिन गर्न भनेको विवरण सार्वजनिक भइसकेको छ।

उक्त टेलिफोन संवाद अमेरिकी राष्ट्रपतिमाथि महाभियोग लगाउने कुराको केन्द्रमा रहिआएको छ।

यद्यपि त्यसका लागि रिपब्लिकन पार्टीका सदस्यहरू ट्रम्पविरुद्ध उभिनुपर्ने हुन्छ।

वकिलहरूले के भनेका छन्?

उजुरीकर्ताको कानुनी टोलीका सदस्यले राष्ट्रिय गुप्तचर निकायका कार्यवाहक निर्देशक जोसेफ मग्वायरलाई पठाएको पत्र शनिवार सार्वजनिक गरिएको हो।

वकिल एन्ड्र्यु बकाजले पत्रमा लेखेका छन्, "हाम्रा सेवाग्राहीको पहिचान खुलाउने गत हप्ताको कुराले हाम्रो चिन्ता बढाएको छ र त्यसले उनलाई खतरामा पार्नेछ।"

उजुरीकर्ताको पहिचान सार्वजनिक रूपमा खुलाउनुपर्ने ट्रम्पको आह्वानबारे तोकेरै भनिएको छ।

पत्रमा ट्रम्पका दुईजना समर्थकले उजुरीकर्ताबारे जानकारी दिनेलाई ५० हजार डलर पुरस्कार दिन घोषणा गरेकोबारे पनि उल्लेख गरिएको छ।

ट्रम्प हटाइने सम्भावना कति?

यदि महाभियोग अघि बढ्यो भने कुनै पनि अभियोगमाथि तल्लो सदन प्रतिनिधिसभामा मतदान हुनेछ र त्यहाँ डेमोक्र्याटहरूको बहुमत रहेकाले सहजै पारित हुनसक्छ।

तर त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। रिपब्लिनहरूको पकड रहेको सिनेटमा दुई तिहाइ बहुमतको खाँचो पर्छ।

क्लिन्टन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महाभियोगको आरोपको सामना गर्ने पछिल्लो राष्ट्रपति बिल क्लिन्टन हुन्

डेमोक्र्याटहरूसँग मिलेर आफ्ना राष्ट्रपतिलाई हटाउन ठूलो सङ्ख्यामा रिपब्लिकन सिनेटहरू तयार हुने कुनै सङ्केत अहिलेसम्म देखिएको छैन।

अमेरिकाको इतिहासमा दुईजना राष्ट्रपतिलाई महाभियोग लगाइएको थियो।

सन् १८६८ मा एन्ड्र्यु जोनसन र सन् १९९७ मा बिल क्लिन्टनले महाभियोगको सामना गरेका थिए। तर कोही पनि हटाइएनन्।