अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन विपक्षीद्वारा औपचारिक प्रक्रिया सुरु

पेलोसी र ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकी तल्लो सदनकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन औपचारिक अनुसन्धानको प्रक्रिया सुरु भएको घोषणा गरेकी छन्।

डेमक्र्याट सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिमाथि "विदेशी शक्तिलाई अमेरिकी चुनावमा हस्तक्षेप गर्न निम्ता दिएर संविधान उल्लङ्घन गरेको" आरोप लगाएकी छन्।

ट्रम्पमाथि आफ्ना डेमक्र्याट प्रतिस्पर्धी जो बाइडन र उनका छोराविरुद्ध भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिने प्रयास गरेको आरोप छ।

ट्वीटमा राष्ट्रपति ट्रम्पले पेलोसीको घोषणालाई दुराशय राखेर आफूलाई हतोत्साहित गर्ने तुच्छ कदमको सङ्ज्ञा दिएका छन्।

पेलोसीले राष्ट्रपति उत्तरदायी हुनुपर्ने बताइन्।

राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गरेको फोनवार्ताबारे एक सुराकीले औपचारिक रूपमा उजुरी हालेको समाचार आएपछि विवाद चर्किएको हो।

लाग्ला त महाभियोग?

फोनमा ठ्याक्कै के भनिएको थियो भन्ने अझै अस्पष्ट छ। तर ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई बाइडन र उनका छोराविरुद्ध अनुसन्धान नगरे सैन्य सहायता रोक्ने चेतावनी दिएको डेमक्र्याटहरूको आरोप छ।

जो बाइडेन (दाहिने) डेमक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपङ्ग्रिमा छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जो बाइडेन (दाहिने) डेमक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपङ्ग्रिमा छन्

सभामुख पेलोसीले ट्रम्पले कानुनको उल्लङ्घन गरेको र उनका कदमले 'उनको संवैधानिक जिम्मेवारी' अवज्ञा गरेको बताइन्।

पेलोसीको घोषणाले संसदीय समितिलाई राष्ट्रपतिको फोन संवादबारे अनुसन्धानको निम्ति अनुमति दिएको छ। जसले राष्ट्रपतिद्वारा महाभियोग भोग्नुपर्ने गलत काम गरे वा नगरेको निश्चित गर्नेछ।

घोषणामा उनले छवटा अन्य समितिले ट्रम्पविरुद्ध अरू विषयमा अनुसन्धान गरिरहेको र ती महाभियोगको औपचारिक अनुसन्धान अन्तर्गत जारी रहने उल्लेख गरेकी छन्।

महाभियोगको पक्षमा विपक्षी डेमक्र्याटहरूको बलियो समर्थन छ।

यदि अनुसन्धान संसद्‌मा अघि बढेमा मतदान हुनेछ र तल्लो सदनबाट सहजै पारित हुने देखिन्छ।

त्यसपछि त्यो माथिल्लो सदन सिनेटमा पुग्नेछ। दुईतिहाइ बहुमतको खाँचो पर्ने उक्त सदनमा रिपब्लिकनहरूको बाहुल्य रहेकाले त्यहाँबाट पारित हुने सम्भावना भने कम देखिन्छ।

के भन्छन् ट्रम्प?

ट्वीटहरूको एउटा शृङ्खलामा ट्रम्पले विपक्षी दलले दुराशय राखेर नै संयुक्त राष्ट्रसङ्घको उनको भ्रमण प्रभावित पार्न खोजेको आरोप लगाएका छन्।

"उनीहरूले फोनवार्ताको लिखित प्रतिलिपि हेरेकै छैनन्," उनले भने।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

युक्रेनका राष्ट्रपतिसँग भएको फोनवार्ता "पूरै उचित" थयो भनेर देखाउने त्यसको लिखित प्रतिलिपि बुधवार सार्वजनिक गर्ने ट्रम्पले प्रतिबद्धता व्यक्त गरेका छन्।

पत्रकारहरूले सोमवार ट्रम्पलाई महाभियोगको चेतावनीलाई उनले कतिको गम्भीरतापूर्वक लिएका छन् भनेर सोधेका थिए।

राष्ट्रपति ट्रम्पको उत्तर थियो, "बिल्कुल लिएको छैन।"

अब के हुन्छ?

पेलोसीको घोषणापछि एउटा समितिले ट्रम्पले युक्रेनी नेतासँग गरेको कुराकानी महाभियोगयोग्य अपराध हो कि हैन भनेर अनुसन्धान गर्नेछ।

पेलोसी

आफ्नो घोषणामा पेलोसीले अन्य छवटा संसदीय समितिले अरू विषयमा ट्रम्पबारे छानबिन जारी राख्ने र तिनको काम महाभियोगको औपचारिक अनुसन्धानअन्तर्गत आउने बताइन्।

महाभियोग प्रस्ताव आए हाउस अफ रेप्रिजेन्टटिभ्समा मतदान हुनेछ। त्यहाँ डेमक्र्याटहरूको बहुमत भएकाले त्यो पारित हुने स्थिति छ।

तर त्यो प्रस्ताव सिनेटमा जाँदा पारित हुनका लागि दुईतिहाइ मत पुग्दैन। किनभने त्यहाँ रिपब्लिकनहरूको बाहुल्य छ।

यदि ट्रम्पले युक्रेनलाई दबाव दिन सैन्य सहायता रोकेको पुष्टि भए ५५ प्रतिशत अमेरिकीहरूले महाभियोगको समर्थन गर्ने यूगभ नामक वेबसाइमा राखिएको गरिएको एउटा पोलले देखाएको छ।

युक्रेनलाई दबाव किन?

ह्वाइट हाउसले युक्रेनलाई दिने २५ करोड डलरसम्मको सैन्य सहायतामा अस्थायी रोक लगाउने निर्णय गरेकै समयमा दुई राष्ट्रपतिबीच उक्त विवादित फोनवार्ता भएको संयोग देखिएको छ।

अमेरिकी सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार सहायता निलम्बन गर्ने निर्णय जुलाई २५ मा भएको फोनवार्ताअघि भएको थियो र दुई नेताहरूको संवादमा त्यसबारे कुरा भएको कुनै सङ्केत छैन।

सहायता ढिलाइको द्विपक्षीय आलोचनाबीच यो महिना युक्रेनका निम्ति २५ करोड डलर अनुमोदन गरिएको थियो।

ट्रम्पका वकिल रुडी जुलियानीले फक्स बिज्नसलाई सोमवार राष्ट्रपतिले युक्रेनलाई सैन्य सहायता रोक्ने चेतावनी नदिएको कुरा शत प्रतिशत भन्न नसक्ने बताए।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line