अमेरिकी राष्ट्रपतीय निर्वाचन: डोनल्ड ट्रम्पले औपचारिक रूपमा नै थाले सन् २०२० को चुनावी अभियान

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले थप चार वर्षको कार्यकालका निम्ति आफ्नो चुनाव प्रचार अभियानको औपचारिक रूपमा थालनी गरेका छन्।

सन् २०२० मा हुने अर्को राष्ट्रपतीय चुनावका लागि औपचारिक अभियान सुरुवात गर्न उनले फ्लोरिडामा आयोजित एक र्‍यालीलाई सम्बोधन गरेका छन्।

फ्लोरिडा राज्य आफ्नो "दोस्रो घर" भएको बताउँदै उनले समर्थकहरूलाई अर्को चार वर्षको लागि "एक ढिक्का रहन" आग्रह गरे।

उनले विपक्षी डेमोक्र्याटिक पार्टीका सदस्यहरूको आलोचना गर्दै उनीहरूले देशलाई "टुक्रा टुक्रा पार्न" खोजेको आरोप पनि लगाए।

प्रारम्भिक मत सर्वेक्षणहरूले ट्रम्प सम्भाव्य डिमोक्रयाटिक प्रतिद्वन्द्वीहरूभन्दा पछाडि रहेको देखाएका छन्।

ओर्ल्यान्डोको सभामा बोल्दै ट्रम्पले भने, "हामी अमेरिकालाई महान बनाइ राख्ने छौँ। आज म तपाईँहरू सामु उभिएर दोस्रो कार्यकालको लागि संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचिन हुनका लागि औपचारिक रूपमा प्रचार अभियान थाल्दैछु।"

ट्रम्पको चुनावी रणनीति कस्तो होला?

ओर्ल्यान्डोमा सम्बोधन गर्दै उनले देशले सबभन्दा पहिले उसका नागरिकको हेरविचार गर्नु पर्ने बताए। "अमेरिकी सपना" अझ राम्रो, ठूलो र बलियो बनेको उनले बताए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

उनले बलियो अर्थतन्त्र तथा आप्रवासीबारे कडाइको नीतिलाई मतदाताले रुचाउने ठानेका छन्।

उनको अनौठो नेतृत्व शैली तथा विभाजनकारी मानिने नीतिप्रतिको असहमतिलाई ती योजनाले जित्ने ट्रम्पको आशा छ।

र्‍यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिइन्।

कतिपय मत सर्वेक्षणले भने महत्त्वपूर्ण राज्यहरूमा ट्रम्प पूर्व उपराष्ट्रपति जो बाइडन लगायतका डेमोक्र्याटिक प्रतिद्वन्द्वीभन्दा पछाडि परिरहेको देखाएका छन्।

सन् २०१६ को चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गरेका थिए। उक्त चुनावमा रुसी हस्तक्षेप भएको भनेर लामो समयदेखिको विवादले अमेरिकी राजनीति प्रभावित रहँदै आएको छ।

आप्रवासीबारे ट्रम्पले के भने?

सोमवार राति ट्वीट सन्देश लेख्दै ट्रम्पले अमेरिकामा रहेका सूचिकृत नभएका सबै आप्रवासीहरूलाई उनीहरू "जति छिटो अमेरिका आए त्यति नै छिटो देश निकाला गरिने" चेतावनी दिएका छन्।

यो महिनाको सुरुमा एक अमेरिकी अधिकारीले अमेरिका छोड्न निर्देशन दिइएका सबै आप्रवासीहरूले तिनका परिवारजनसहित देश छोड्नु पर्ने बताएका थिए। उनले तिनको अनुगमन गरिने बताएका थिए।