इरानलाई नरोके तेलको मूल्य सोच्दै नसोचेको तहमा बढ्ने साउदी युवराजको चेतावनी

साउदी युवराज मोहम्मद बिन सलमान

तस्बिर स्रोत, Reuters

साउदी अरबका युवराजले इरानलाई नियन्त्रणमा नराखिए तेलको मूल्य "सोच्दै नसोचेको तहमा बढ्ने" चेतावनी दिएका छन्।

युवराज मोहम्मद बिन सलमानले इरान र साउदी अरबबीच युद्ध भए त्यसले विश्वको अर्थतन्त्रलाई तहसनहस पारिदिने सम्भावना व्यक्त गरेका छन्।

दुई हप्ताअघि साउदी तेल खानी र प्रशोधन केन्द्रमा आक्रमणहरू भएका थिए। साउदी अरबले इरानलाई ती आक्रमणको दोष लगाउने गरेको छ।

सीबीएस न्यूजसँग कुरा गर्दै साउदी युवराजले पत्रकार जमाल खशोग्जीको हत्याको उत्तरदायित्व आफूले लिने बताएका छन्।

तर आफूले व्यक्तिगत रूपमा खशोग्जीको हत्या गर्न आदेश नदिएको उनको दाबी छ।

उनी साउदी राजाका उत्तराधिकारी हुन्। उनलाई साउदी अरबमा सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ।

हत्याको आरोपबारे के भने?

साउदी सरकारको आलोचना गर्ने पत्रकार खशोग्जीमाथि युवराजकै आदेशमा कारबाही भएको शङ्का गरिन्छ।

खशोग्जी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, खशोग्जीको गत वर्ष टर्कीस्थित साउदी कूटनीतिक नियोगमा हत्या भएको थियो

गत वर्ष अक्टोबर २ मा टर्कीस्थित साउदी कूटनीतिक नियोगमा खशोग्जीको हत्या भएको थियो। तर अहिलेसम्म उनको शव वा शारीरिक अवशेष भेटिएको छैन।

एउटा अमेरिक समाचार च्यानल सीबीएसमा प्रसारित अन्तर्वार्तामा उनले भने, "साउदी अरबको नेताका रूपमा म पूर्ण जिम्मेवारी लिन्छु खासगरी किनभने यो [खशोग्जीको हत्या] साउदी सरकारका लागि काम गर्ने व्यक्तिले गरेका थिए।"

तर आफूले खशोग्जीलाई मार्न आदेश नदिएको र त्यसबारे त्यतिबेला आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै उनले आफूविरुद्ध लागेका आरोपहरू अस्वीकार गरेका छन्।

साउदी अधिकारीहरूले खशोग्जीको हत्या एउटा "उच्छृङ्खल कारबाही" मा भएको र त्यसमा संलग्न भएका ११ व्यक्तिलाई मुद्दा चलाइएको बताएका छन्।

तेलको मूल्यबारे के भने?

इरानले साउदी तेल खानी र प्रशोधन केन्द्रमा भएका आक्रमणमा आफू संलग्न नभएको बताउने गरेको छ।

साउदी तेल खानी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, तेल खानी र प्रशोधन केन्द्रमा आगलागी भएपछि साउदी अरबले उत्पादन कटौती गरेको छ

तर मोहम्मद बिन सलमानले भने, "इरानलाई रोक्न यदि विश्वले बलियो र सुदृढ कारबाही गर्न सक्दैन भने हामीले तनाव वृद्धि भएको देख्नुपर्नेछ र त्यसले विश्वको हितलाई जोखिममा पार्नेछ।"

"तेलको आपूर्ति अवरुद्ध हुनेछ र तेलको मूल्य हामीले आफ्नो जीवनकालमा नदेखेको र सोच्दै नसोचेको तहमा बढ्नेछ।"

उनले मध्यपूर्वबाट विश्वको ३० प्रतिशत इन्धन आपूर्ति, २० प्रतिशत व्यापार र चार प्रतिशत कुल गार्हस्थ उत्पादन (जीडीपी) हुने गरेको तथ्य प्रस्तुत गरे।

"यी तीनवटै कुरा रोकिएको कल्पना गर्नुहोस्। अर्थात् विश्व अर्थतन्त्र पूरै भताभुङ्ग हुनु हो, खालि साउदी अरब वा मध्यपूर्वका देशहरू मात्र हैन," उनले भने।

साउदी तेल केन्द्रमा के भएको थियो?

गत सेप्टेम्बर १४ मा साउदी अरबस्थित एउटा तेल खानी र अर्को प्रशोधन केन्द्रमा ड्रोन र क्षेप्यास्त्र प्रहार भएका थिए।

साउदी अरबका अनुसार ती आक्रमणमा १८ वटा ड्रोन र सातवटा क्रूज क्षेप्यास्त्र प्रयोग भएका थिए।

आक्रमण गरिएका स्थानमा भेटिएका ड्रोन र क्षेप्यास्त्रका अवशेष

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आक्रमण गरिएका स्थानमा भेटिएका ड्रोन र क्षेप्यास्त्रका अवशेष

इरानको समर्थनमा यमनमा सक्रिय हूथी विद्रोहीहरूले आफूले ती आक्रमण गरेको दाबी गरेका छन्।

तर अमेरिका र साउदी अरबले इरानमाथि दोषारोपण गरेका छन्।

साउदी अरबले आक्रमण यमनतिरबाट नभएर अर्कै दिशाबाट आएको दाबी गरेको छ।

गत हप्ता आयोजित पत्रकार सम्मेलनमा रक्षा मन्त्रालयका प्रवक्ताले ती प्रमाणले आक्रमणहरू उत्तर दिशाबाट भएका र तिनलाई "निस्सन्देह इरानले प्रायोजित गरेको" दाबी गरेका थिए।

आक्रमणपछि साउदी अरबले तेल उत्पादनमा कटौती गरेको थिए। फलस्वरूप तेलको मूल्य बढ्यो।

घटनाको पृष्ठभूमि के हो?

सन् २०१५ मा हूथी विद्रोहीहरूले राष्ट्रपति अब्द्रब्बुह मन्सूर हादी र उनको मन्त्रिपरिषद्का सदस्यहरूलाई राजधानी छोड्न बाध्य पारेपछि त्यहाँ युद्ध सुरु भएको थियो।

त्यसअघि ती विद्रोहीहरू देशको उत्तरी भागलाई आफ्नो नियन्त्रणमा लिएका थिए।

साउदी अरबले अपदस्थ राष्ट्रपति हादीलाई समर्थन गर्दै यमनमा हवाई आक्रमण सुरु गर्‍यो। हूथी विद्रोहीविरुद्ध आक्रमण गर्न साउदी अरबले त्यस क्षेत्रका राष्ट्रहरूको एउटा गठबन्धनको नेतृत्व गरिरहेको छ।

यमन युद्धमा ६५ प्रतिशतभन्दा बढीको मृत्यु साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई हमलाका कारण भएको बताइन्छ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, यमन युद्धमा ६५ प्रतिशतभन्दा बढीको मृत्यु साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई हमलाका कारण भएको बताइन्छ

उक्त गठबन्धनले दिनहुँजसो यमनमा हवाई आक्रमण गर्छ। हूथीहरूले प्राय: साउदी अरबतिर क्षेप्यास्त्र आक्रमण गर्छन्।

सन् २०१६ देखि यता सङ्घर्षमा परेर ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको आकलनले देखाउँछ।