साउदी तेल प्रशोधन केन्द्र आक्रमण: इरान संलग्न भएको देखाउने स्याटलाइट तस्बिर सार्वजनिक

स्याटलाइट तस्बिर

तस्बिर स्रोत, Reuters

साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै अमेरिकाले प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ।

तर इरानले शनिवार साउदी अरबमा भएका हवाई आक्रमणमा आफ्नो संलग्नता भएको आरोप खण्डन गर्दै आएको छ।

यमनमा सक्रिय विद्रोही हूथी समूहले आफूले ती आक्रमणहरू गरेको दाबी गरेको छ। हूथीहरूलाई इरानको समर्थन छ।

तर अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय समाचारसंस्थासँग कुरा गर्दै नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूले जुन दिशाबाट र जुन क्षमतामा आक्रमणहरू भए त्यसबाट हूथीहरू संलग्न भएको पत्याउन नसकिने आशय व्यक्त गरेका छन्।

आक्रमणपछि साउदी अरबले तेल तथा ग्यास उत्पादनमा कटौती गरेको छ। फलस्वरूप तेलको आपूर्ति पाँच प्रतिशतले घटेको छ भने तेलको मूल्य बढेको छ।

के भन्छ अमेरिका?

अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले साउदी अरबमा भएको घटना इरानले गराएको आरोप लगाएका छन्।

तर तेहरानले उक्त आरोपको खण्डन गर्दै त्यसलाई अमेरिकाको "जालझेल" भनेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोझै इरानलाई दोषारोपण गरेका त छैनन् तर आइतवार ट्वीट गर्दै उनले दोषीमाथि सम्भावित सैन्य कारबाही गर्ने सङ्केत दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

न्यूयोर्क टाइम्स, एबीसी तथा रोएटर्सले नाम उल्लेख नगरीकन अमेरिकी अधिकारीलाई उद्धृत गरेका छन्।

एक अधिकारीले यमनबाट नभएर पश्चिम तथा पश्चिमोत्तर दिशाबाट आक्रमण भएको बताएका छन्। तर यमन साउदी अरबको दक्षिणमा अवस्थित छ।

त्यसैले उत्तरी खाडी, इरान वा इराकतिरबाट आक्रमण भएको हुन सक्ने उनीहरूको भनाइ छ।

न्यूयोर्क टाइम्सका अनुसार आक्रमणमा ड्रोन र क्रूज क्षेप्यास्त्र प्रयोग भएको हुन सक्ने अमेरकी अधिकारीहरूले बताएका छन्। तर ती सबै अब्काइकस्थित प्रशोधन केन्द्र र खुरैसस्थित तेल खानीसम्म पुगेनन्।

एबीसीले नाम उल्लेख नगरिएका एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा इरान संलग्न भएकोबारे ट्रम्पलाई थाहा भएको जनाएको छ।

साउदी अरब

तेल बजारमा के हुँदैछ?

बजारमा तेलको मूल्य बढेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घटेको थियो।

त्यसपछि ब्रेन्ट कच्चा तेल परिसूचकमा कच्चा तेलको मूल्य १०% ले वृद्धि भई प्रतिब्यारल ६६.२८ अमेरिकी डलर पुगेको छ। ब्लूमबर्गले सन् १९८८ यता एकैदिन पहिलो पटक त्यति उच्च वृद्धि भएको टिप्पणी गरेको छ।

त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को परिसूचकमा कच्चा तेलको मूल्य ८.९ % ले बढ्दा प्रतिब्यारल ५९.७५ डलर पुगेको छ।

इरान के भन्छ?

प्रमाण भएको अमेरिकाको दाबीबारे इरानले केही बोलेको छैन।

तर इरानका परराष्ट्रमन्त्रीले पोम्पेओको आलोचना गर्दै आइतवार एउटा ट्वीट गरेका थिए। "अधिकतम दबावमा असफल भएपछि पोम्पेओ जालझेलमा लागेका छन्," उनले लेखेका थिए।

तेल प्रशोधन स्थलमा आगो

तस्बिर स्रोत, Reuters

उनले ट्रम्प प्रशासनले सुरु भएको इरानविरुद्ध "अधिकतम दबाव अभियान" लाई सङ्केत गरेका हुन्।

इरानसँग गरिएको परमाणु सम्झौताबाट बाहिरिएपछि अमेरिकाले इरानविरुद्ध आर्थिक प्रतिबन्धमा कडाइ गरेको छ।

हूथी विद्रोहीसँग साउदी अरबको शत्रुता किन?

सन् २०१५ देखि यमनमा युद्ध भइरहेको छ।

हूथी विद्रोहीले राष्ट्रपति अब्द्रबुह मन्सूर हादीलाई राजधानी सानाबाट भाग्न बाध्य पारेका थिए। साउदी अरबले हादीलाई समर्थन गर्छ।

सो क्षेत्रका देशहरू हूथी विद्रोहीविरुद्ध एकबद्ध भएका छन्।

उनीहरूको गठबन्धनले दिनहुँजसो हूथीविरुद्ध हवाई आक्रमण गर्छन्। हूथीहरूले प्राय: साउदी अरबमा क्षेप्यास्त्र प्रहार गर्छन्।

हूथी समूहका प्रवक्ताले आफूविरुद्ध नाकाबन्दी र आक्रमण जारी भए साउदी अरबमा थप आक्रमण गर्ने चेतावनी दिएका छन्।