तेल खानीमा आक्रमण भएपछि अमेरिकाद्वारा साउदी अरबमा सेना परिचालन गर्ने घोषणा

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाले साउदी अरबका तेल खानी तथा प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि त्यहाँ आफ्नो सेना परिचालन गर्ने घोषणा गरेको छ।
अमेरिकी रक्षामन्त्री मार्क एस्परले साउदी अरबमा "प्रतिरक्षात्मक स्वरूप"मा अमेरिकी सैनिक खटाइने पत्रकारहरूलाई बताए।
तर कति सङ्ख्यामा अमेरिकी सैनिक पठाउने भन्ने विषयमा चाहिँ निर्णय भइसकेको छैन।
गत हप्ता साउदी अरबमा दुईवटा आक्रमण भएका थिए।
इरानको समर्थनप्राप्त यमनको हूथी विद्रोही समूहले ती आक्रमण आफूले गरेको दाबी गरेको छ। तर अमेरिका तथा साउदी अरबले इरान नै ती घटनामा संलग्न भएको आरोप लगाउँदै आएका छन्।
यसअघि शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सैनिक द्वन्द्वलाई टार्न खोजेको सङ्केत गर्दै इरानविरुद्ध "उच्च तहका" प्रतिबन्धहरूको घोषणा गरेका थिए।
नयाँ प्रतिबन्धहरू इरानको केन्द्रीय ब्याङ्क र उसको विशेष कोषमा केन्द्रित हुने ट्रम्पले बताएका छन्।
पेन्टागनले के भन्यो?
शुक्रवार रक्षामन्त्री एस्परले अमेरिकी सेनाको ज्वाइन्ट चीफ अफ स्टाफ जेनरल जोसेफ डन्फोर्ड जुनिअरलाई छेउमा राखेर साउदी अरबमा सेना पठाउने घोषणा गरेका हुन्।
साउदी अरब र संयुक्त अरब इमिरेट्सले सहयोगका लागि अमेरिकासँग आग्रह गरेको एस्परले बताए।
अमेरिकी सेना हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित रहनेछ र अमेरिकाले दुवै मुलुकलाई "सैन्य उपकरण उपलब्ध गराउने कार्यमा तीव्रता" दिनेछ।

तस्बिर स्रोत, Getty Images
जेनरल डन्फोर्डले अमेरिकी सेना परिचालनलाई "मध्यम" तहको भन्दै सैनिकहरू हजारौँको सङ्ख्यामा नहुने बताए।
साउदी अरब पठाइने सेनाको किसिमबारे चाहिँ उनले विस्तृत विवरण दिएनन्।
न्यूयोर्क टाइम्सका अनुसार इरानमाथि सैनिक कारबाहीबारे अझै विचार भइरहेको छ कि भन्ने संवाददाताहरूको जिज्ञासामा रक्षामन्त्रीले भनेः "हामी त्यो ठाउँमा अहिले छैनौँ।"
साउदी अरबमा के भएको थियो?
एक हप्ताअघि साउदी अरबका अब्काइक र खुरैस प्रशोधन केन्द्रमा आक्रमण गरिएपछि विश्वभरि तेल आपूर्ति प्रभावित हुन पुग्यो।
बुधवार साउदी अधिराज्यको रक्षा मन्त्रालयले ड्रोन र क्रूज क्षेप्यास्त्रको अवशेष देखाउँदै इरानको संलग्नता रहेको पुष्टि भएको बताएको थियो।
यद्यपि "ठ्याक्कै कहाँबाट प्रहार गरिएको थियो भन्नेबारे निर्क्योल गर्न अझै काम भइरहेको" मन्त्रालयका एक प्रवक्ताले बताए।

तस्बिर स्रोत, Reuters
अमेरिकाले पनि इरानमाथि आक्रमणको आरोप लगाउँदै आएको छ।
वरिष्ठ अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमहरूलाई बताएअनुसार दक्षिणी इरानबाट आक्रमण गरिएको कुराको उनीहरूसँग प्रमाण छ।
इरानले ती आक्रमणमा आफ्नो कुनै भूमिका रहेको आरोप अस्वीकार गर्दै आएको छ र राष्ट्रपति हसन रूहानीले आक्रमणलाई "यमनी जनताबाट दिइएको उत्तर" भन्ने गरेका छन्।
बुधवार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आक्रमणलाई "युद्धको कदम" भनेका थिए।
सामाजिक सञ्जाल ट्विटरमार्फत् चेतावनी दिँदै इरानी विदेशमन्त्री जवाद जारिफले युद्ध गर्ने इरानको चाहना नभए पनि "प्रतिरक्षा गर्न आफूहरू नहिच्किचाउने" बताए।
यी सबैको पृष्ठभूमि के हो?
हूथी विद्रोहीले साउदी अरबतिर बस्ती भएको क्षेत्रमा पटकपटक रकेट, क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको छ।
हूथी विद्रोहीहरू साउदी नेतृत्वको गठबन्धन सेनासँग यमनमा लडिरहेका छन्।
गठबन्धन सेनाले यमनका राष्ट्रपतिलाई समर्थन गर्दै आएको छ जो सन् २०१५ को मार्चमा द्वन्द्व चर्किएपछि भाग्न बाध्य भएका थिए।
इरान सो क्षेत्रमा साउदी अरबको प्रतिद्वन्द्वी हो भने अमेरिकाको विरोधी हो। ट्रम्प सत्तामा आएपछि अमेरिका तेहरानसँग गरिएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट अलग्गिएको थियो।
यो वर्ष अमेरिका र इरानबीचको तनाव उल्लेख्य रूपमा चुलिएको छ।
अमेरिकाले गत जुन र जुलाईमा खाडीमा दुईवटा तेल ट्याङ्कर र मेमा चारवटा ट्याङ्करमा गरिएका आक्रमणमा इरानको हात रहेको बताउँदै आएको छ।
तर तेहरानले ती दुईवटै घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।









