ड्रोन खसालेर इरानले भयङ्कर गल्ती गर्‍यो: ट्रम्प

ड्रोन

तस्बिर स्रोत, US NAVY/KELLY SCHINDLER

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले भयङ्कर गल्ती गरेको तर त्यो अन्जानमा भएको हुनसक्ने टिप्पणी गरेका छन्।

उनले ड्रोन खसाल्ने काम शायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने सङ्केत गरे।

तर उनले त्यो काम ठूलो गल्ती भएको दोहोर्‍याएका छन्।

के भन्छ इरान?

मानवरहित उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको भनाइ छ।

उसले सो ड्रोनका टुक्रा आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताएको छ।

तेहरानले भनेको छ उक्त अमेरिकी ड्रोन आफ्नो हवाई क्षेत्रमा घुसेकाले उसले जानाजान नै त्यसलाई खसालिदिएको हो।

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत माजिद तख्त राभान्चीले उक्त ड्रोन विमान स्पष्ट रूपमा जासुसी कारबाहीमा संलग्न रहेको र त्यसले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एवं सुरक्षा परिषदलाई एक पत्र लेख्दै राभान्चीले इरानले युद्ध नखोजेको तर आफ्नो क्षेत्रमा गरिने दुश्मनी कार्य रोक्ने अधिकार आफूसँग सुरक्षित रहेको बताएका छन्।

तर राष्ट्रपति ट्रम्पले चाहिँ उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको दोहोर्‍याएका छन्।

"यो केवल शब्दमात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ," ट्रम्पले भने।

अरूले के भने?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र इरानबीच युद्ध भए त्यो विनाशकारी हुने र त्यसको असोचनीय परिणामहरू आउने चेतावनी दिएका छन्।

तेल ट्याङ्करमा हमला

तस्बिर स्रोत, EPA

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरजले सबै पक्षसँग संयमता अपनाउन आग्रह गेका छन्।

अमेरिकामा प्रतिनिधि सभाकी सभामुख एवं डेमोक्र्याटिक नेता न्यान्सी पेलोसीले इरानसँग युद्धको कुनै चाह अमेरिकामा नभएको बताइन्।

राष्ट्रपति पदका निम्ति डेमोक्र्याटिक दलका तर्फबाट आकांक्षी एवं पूर्व उपराष्ट्रपति जो बाइडनले ट्रम्पको इरान रणनीतिलाई "आफैँले रचना गरेको विपद" को संज्ञा दिएका छन्।

विपक्षी डेमोक्र्याटिक दलका वरिष्ठ सदस्यहरूले इरानसँग नचाहँदा नचाहँदै युद्ध सुरु हुन सक्ने स्थितिप्रति राष्ट्रपति ट्रम्पलाई सावधान गराएका छन्।

इरानले अमेरिकी ड्रोन खसालिदिएपछि ह्वाइट हाउसमा हतारमा आयोजित एक बैठकमा कंग्रेस सदस्यहरूले भाग लिएका थिए। सिनेटका वरिष्ठ डेमोक्र्याटिक नेता चक सुमरले एक्कासी युद्ध सुरु हुन सक्ने खतराप्रति आफू चिन्तित रहेको बताए।

साउदी अरेबियाका विदेशमन्त्री अदेल अल जुबैरले बीबीसीसँग कुरा गर्दै उनको देशले इरानलाई उसको व्यवहार अस्वीकार्य भएको सन्देश दिन चाहेको बताए।

"युद्ध छेड्न कोही चाहँदैन। तर इरानलाई यसरी नै व्यवहार गरिरहन दिन सकिँदैन। इरानविरुद्धको प्रमाण दह्रो छ। उसले पहिला जे गर्छु भन्यो त्यही गरेको छ," उनले भने।

तेलको भाउ बढ्यो

मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव झन् झन् बढ्दै गर्दा त्यसको फलस्वरूप तेलको मूल्य बढेको छ।

तेलको भाउ ५ प्रतिशतले बढेको छ।

हालको तनाव एउटा अत्यन्तै महत्त्वपूर्ण सामुद्रिक मार्ग वा इलाका स्ट्रेट अफ होर्मुजमा केन्द्रीत छन्।

यो त्यही इलाका हो जहाँबाट विश्वभरको पाँच भागको एक भाग तेल ढुवानी हुन्छ।

सोही क्षेत्रमा गत साता दुईवटा तेल ट्याङ्करमा गरिएका हमलामा अमेरिकाले इरानलाई दोष दिएको छ।

तर इरानले ती घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।