तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ड्रोन हमलाका कारण साउदी अरबका तेल प्रशोधनस्थलमा आगलागी
ड्रोन आक्रमणका कारण साउदी अरबको सरकारी कम्पनी अरामकोका दुई मुख्य तेल प्रशोधनस्थलमा आगलागी भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
अरामकोको सबैभन्दा विशाल तेल प्रशोधनस्थल अबकाइकको भिडिओमा आगोका ठूलो लप्का र धुँवा देखिन्छ।
दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो।
सरकारी समाचारमाध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्।
ड्रोनको प्रयोग
इराननिकट यमनका विद्रोही हुथी समूहका एक प्रवक्ताले सो आक्रमणका लागि १० वटा ड्रोन प्रयोग गरेको बताएका छन्।
बेरुतमा रहेको हुथी समूहको अल-मसिरा टीभीमा ती प्रवक्ताले थप आक्रमण हुनसक्ने बताएका छन्।
प्रवक्ता याह्या सारएले शनिवारको हमलालाई हुथी विद्रोहीहरूले साउदी अरबभित्र गरेको अहिलेसम्मकै ठूलो आक्रमण बताएका छन्।
"यो साउदी अधिराज्यभित्रकै प्रतिष्ठित व्यक्तिहरूको समन्वयमा गरिएको हो।"
तर यी आक्रमणहरू कसले गर्यो भन्नेबारे सउदी अरबले केही खुलाइएको छैन।
क्षतिको विवरण आइनसकेको भए पनि समाचार संस्था एएफपीले साउदी आन्तरिक मामिला मन्त्रालयका प्रवक्तालाई उद्धत गर्दै त्यहाँ कुनै मानविय क्षति नभएको बताएको छ।
वालस्ट्रीट जर्नल पत्रिकाले साउदी अरबले आफ्ना आधाजसो तेल प्रशोधनस्थल बन्द गर्ने समाचार प्रकाशित गरेको छ।
हमला
साउदी प्रेस एजेन्सीले लेखेको छ- स्थानीय समय अनुसार बिहान चार बजे अरामकोका सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा (ड्रोनका कारण सुरु भएको) आगो निभाउने प्रयास सुरु गरेका थिए।
"दुई आगलागी नियन्त्रणमा आएको छ," उक्त सरकारी समाचार संस्थाले भनेको छ।
अबकाइक र कुरिस साउदी अरबको पूर्वी प्रान्तमा रहेका छन्।
यसअघि सन् २००६ मा समेत अल कायदाले अबकाइकका प्रशोधन केन्द्रमा हमला प्रयास गरेको थियो।
आत्मघाती हमलाकारीमार्फत् भएको त्यस प्रयासलाई भने साउदी सुरक्षाबलले विफल पारिदिएका थिए।
बीबीसी संवाददाता जनर्थन मार्कस भन्छन्- पछिल्ला यी हमलाले साउदी अरबका तेल प्रशोधन केन्द्रका लागि हुथीहरू रणनीतिक रूपमै जोखिमपूर्ण रहेको देखाउँछ। साउदी अरबले यमनमा पछिल्ला वर्षमा आफ्ना हवाई हमलाहरू तिब्र पारेको छ। तर अहिले हुथीहरू जवाफी हमला गर्न सक्षम देखिन्छन्।
"यसले के देखाउँछ भने अहिलेसम्म केही सीमित देशहरूको वशमा देखिएको सशस्त्र ड्रोन हमलाको युग अब सकिएको छ।"