तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालको कैलालीमा चार दर्जन डल्फिन, संरक्षणमा सरकार उदासीन
- Author, उमीद बागचन्द
- Role, बीबीसी न्यूज नेपाली
विसं २०५८ मा पहिलोपटक कर्णाली र त्यसका सहायक नदीहरूमा डल्फिन रहेको प्रमाणित भए पनि यसको संरक्षणमा सरकारले कुनै चासो नदिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
पहिचान हुनुअघि थरीथरीका माछाको नाम दिने गरेका स्थानीय बासिन्दाहरू अहिले डल्फिन महोत्सव गरेर पर्यटन प्रवर्द्धन र संरक्षणबारे जनचेतना फैलाउन थालेका छन्।
शनिवार पहिलोपटक कैलालीको मोहना, काँडा र पथरैया नदीको सङ्गमस्थल रहेको वैदीमा डल्फिन महोत्सव सुरु भएको छ।
नेपालमा डल्फिन पाइन्छ भन्ने धेरैलाई थाहा नभएको भन्दै आयोजकहरूले महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने बताएका छन्।
वन‚ वन्यजन्तु र पंक्षीको संरक्षणमा सक्रिय ८५ वर्षीय भोजराज श्रेष्ठले सुदूरपश्चिम नेपालका यी नदीहरूलाई डल्फिन प्रजनन केन्द्रको रुपमा विकास गर्नु पर्ने बताए।
महोत्सवको तयारीदेखि नै पर्यटकलाई सजिलो होस् भनेर डल्फिन होमस्टे सञ्चालनमा ल्याइएको छ।
डल्फिनलाई स्थानीय बासिन्दाले समृद्धिको सूचक माने पनि धेरैले नेपालमा डल्फिन पाइने कुराको विश्वासै नगर्ने उनीहरूले बताए।
डल्फिनको पहिचान
नेपालमा डल्फिन छ भन्ने कुरा प्रमाणित गर्न यसका अभियानकर्ताहरूलाई करिब दश वर्ष लागेको थियो।
राष्ट्रिय संरक्षण कोष बर्दियामा कार्यरत डा. शान्तराज ज्ञवालीको नेतृत्वमा बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन गोपालप्रसाद उपाध्याय र सेनाका मेजर बाबुकृष्ण कार्कीसहितको टोलीले २०५८ सालमा डल्फिन रहेको प्रमाणित गरेका थिए।
उनीहरूले त्यतिबेला ती नदीहरूमा सातवटा डल्फिन रहेको तथ्याङ्क दिएका थिए।
त्यसपछि नै डल्फिन संरक्षण र प्रचारप्रसारको अभियानले तीव्रता पाएको विजयराज श्रेष्ठले बताए।
राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल जैविक विविधता अनुसन्धान समाजले विसं २०५९ भदौ ३१ गते वैज्ञानिक प्रद्धतिबाट कर्णाली र त्यसका सहायक नदीहरूका १५ स्थानमा एकै समयमा डल्फिनको गणना गरेको थियो।
गत वर्ष गरिएको गणनाले विभिन्न उमेर समूहका चार दर्जन डल्फिन यी नदीहरूमा रहेका पत्ता लागेको छ।
गणनामा संलग्न डा. मुकेशकुमार चालिसेका अनुसार बेलाबखतमा अन्य नदीमा पनि पाइने भनिए पनि कर्णाली बाहेक अरू नदीमा डल्फिन देखिएको छैन।
"पछिल्लो समय बच्चाहरू समेत देखिएको हुनाले यो वर्ष डल्फिनको सङ्ख्यामा वृद्धि भएको हुनसक्छ," उनले बीबीसीलाई भने।
डल्फिनका विशेषता
डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ।
एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो।
जानकारहरूका अनुसार ७५ देखि १५० मिटर उचाइमा पाइने डल्फिनको तौल ६० देखि ८५ किलोसम्म हुन्छ।