तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इमरान खान: भारतको कश्मीर कारबाहीले मुसलमान जगतलाई उग्रवादमा धकेल्छ
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मीरमा भएका प्रदर्शन र विरोधका स्वरमाथि भारतले गरेको दमनले मुसलमान जगतलाई उग्रवादतर्फ थप उन्मुख गराउने चेतावनी दिएका छन्।
पाकिस्तान प्रशासित कश्मीरको भूभागमा एउटा सभालाई सम्बोधन गर्दै उनले भारतीय सेनाले दिल्लीको निर्देशनमा कश्मीरमा गम्भीर अपराध गरिरहेको बताए।
अघिल्लो महिना भारत सरकारले कश्मीरको विशेष हैसियत खारेज गरेर कडा सुरक्षा व्यवस्था कायम गरेपछि त्यहाँको स्थिति अझै तनावपूर्ण छ।
त्यसपछिका साताहरूमा सैयौँको सङ्ख्यामा राजनीतिज्ञ तथा व्यापारीहरूलाई गिरफ्तार गरिएको छ।
भारत सरकारले प्रदर्शनका कारण हुनसक्ने मानवीय क्षति रोक्न निषेधाज्ञा लगाउनुपरेको बताउने गरेको छ।
के भने इमरानले?
पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा शुक्रवार एउटा कार्यक्रमलाई सम्बोधन गर्दै इमरान खानले आफूले भारत प्रशासित कश्मीरका मानिसहरूका निम्ति यसअघि कसैले नगरेको काम गर्ने बताए।
कश्मीरी जनताको राजदूतको रूपमा विश्वभर जाने र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका मार्फत् कश्मीरीहरूको अवस्थाबारे दुनियालाई जानकारी दिने उनले बताए।
सम्बोधनका क्रममा इमरान खानले भारतको सत्तारुढ पार्टी बीजेपी तथा उसको वैचारिक संगठन आरएसएसको कटु आलोचना गरे।
आरएसएसले हिटलर तथा मुसोलिनिबाट प्रेरणा लिने गरेको भन्दै उस्तै विचारधारा भारत सरकारले कश्मीरमा थोपर्न खोजेको खानले आरोप लगाए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिँदै उनले वर्तमान कारबाहीले त्यहाँ हिँसाका घटना झनै बढ्ने बताए।
इमरान खानले कश्मीरमा मात्र नभइ भारतभरीका २० करोड मुसलमान तथा संसारभरीका सवा अर्ब मुसलमानले त्यसविरुद्ध प्रतिक्रिया जनाउने बताए।
विवाद
भारतले अगस्ट ५ मा जम्मु-कश्मीर राज्यलाई दिइँदै आएको विशेष संवैधानिक हैसियत खारेज गरिदिएको थियो।
त्यसलगत्तै कश्मीरमा तनाव निरन्तर जारी छ।
नागरिक अधिकारहरूमाथि अङ्कुश लगाइएको छ।
सन् १९४७ मा भारतको स्वतन्त्रता र देशको विभाजनको समयदेखि नै कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच चर्को विवाद रहँदै आएको छ।
पाकिस्तान भन्छ कश्मीरको अन्तिम फैसला संयुक्त राष्ट्रसंघको प्रस्तावहरूका बमोजिम तथा कश्मीरी जनताको इच्छा अनुसार हुनुपर्छ।
तर भारत भन्छ कश्मीर उसको अभिन्न अंग हो र पाकिस्तानको कब्जामा रहेको कश्मीरको भूभागमाथि पनि उसले दाबी गरेको छ।