प्यारिसमा प्लम्बरको अपहरण र कुटपिटमा साउदी राजकुमारीलाई सजाय

फ्रान्सको एउटा अदालतले साउदी राजकुमारीलाई एकजना पुरूषमाथि भएको कुटपिट र अपहरणमा दोषी ठहर गर्दै तत्कालै लागु नहुने गरि सर्त सहितको जेल सजाय र ११ हजार डलर जरिबाना तोकेको छ।

अभियोजकहरूले साउदी राजाकी ४३ वर्षीया छोरी राजकुमारी हास्सा बीन्त सलमानलाई आफ्ना एकजना अंगरक्षक लगाएर प्यारिसको आफ्नो विलासी अपार्टमेन्टमा एकजना प्लम्बरलाई कुटपिट गरेको आरोप लगाएका थिए।

ती व्यक्तिले प्रहरीलाई आफ्नो हात बाँधिएको र आफूलाई मुक्का र लात्ताले हानिएको अनि राजकुमारीको पैतला चुम्न लगाइएको बताएका थिए।

ती व्यक्तिमाथि राजकुमारीको भिडिओ खिचेको आरोप रहेको छ।

घटना विवरण

राजकुमारीविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएको थियो।

अदालतमा उनको अनुपस्थितिमा नै मुद्दा चलाइएको थियो।

यसअघि उनले आफूविरुद्धका आरोप अस्वीकार गरेकी थिइन्।

उनका अंगरक्षक रनी सइदीलाई ८ महिनाको तत्काल लागु नहुने गरी जेल सजाय सुनाइएको छ।

सन् २०१६ को सेप्टेम्बरमा असरफ इद नामक इजिप्टका नागरिक रहेका प्लम्बरलाई प्यारिसमा रहेको उनको विलासी अपार्टमेन्टमा विग्रिएको वाश बेसीन बनाउन डाकिएको थियो।

ती प्लम्बरका अनुसार उनको कामका लागि आवश्यक हुनाले उनले त्यहाँको बाथरुमको फोटो खिचेका थिए।

तर ऐनामा आफूलाई देखिएको र त्यसको फोटो लिइएकोमा राजकुमारी क्रुद्ध भएको बताइएको छ। त्यसपछि राजकुमारीले अंगरक्षकलाई डाकेर इदलाई कुटपिट गरेको आरोप लागेको थियो।

ती प्लम्बरका अनुसार कैयौँ घण्टासम्म उनलाई त्यहाँबाट बाहिर जान दिइएन।

त्यतिखेर राजकुमारीले चिच्च्याएर 'यसलाई मारिदेउ, यो कुकुर बाँच्न लायक छैन' भनेको आरोप लागेको थियो।

साउदी सरकारी सञ्चार माध्यममा राजकुमारी हास्सालाई उनको परोपकारी काम तथा महिला अधिकारको पैरवी गर्ने गरेकोमा प्रशंसा गर्ने गरिन्छ।

घटना हुनासाथ उनले फ्रान्स छाडेकी थिइन्।

सन् २०१८ को मार्चमा फ्रान्सका एक न्यायाधीशले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनी साउदी अरेबियामै बस्न बाध्य भइन्।