एसिड आक्रमण: वीरगन्जमा विद्यालय हिँडेकी १५ वर्षीया छात्रा गम्भीर घाइते

- Author, माधुरी महतो
- Role, बीबीसी न्यूज नेपाली
वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि शुक्रवार बिहानै एसिड प्रहार भएको छ। उनी गम्भीर भएको उनको प्राथमिक उपचार भएको स्थानीय अस्पतालले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार घरबाट विद्यालय जान लागेकी ती छात्रामाथि गणेशमान चोकनजिकै दुई युवकले आक्रमण गरेका थिए।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाको पुष्टि गरेका छन्।
आक्रमण गर्ने दुई किशोरलाई प्रहरीले पक्राउ गरेको र अर्को व्यक्तिको खोजी भइरहेको राठौरले बीबीसीलाई बताए।
पीडित र आक्रमणकारी सबै जना मुस्लिम समुदायका भएको बताइएको छ।
छात्राको अवस्था
बिहान ६ बजे विद्यालय जाँदैगर्दा एसिड आक्रमणमा परेपछि गम्भीर घाइते भएकी उनलाई नारायणी अस्पताल पुर्याइएको थियो।
उपचारमा संलग्न स्वास्थ्यकर्मी जयमोद ठाकुर भन्छन्, "अस्पताल आइपुग्दा एसिडले उनको अनुहारको आधा भाग, निधार, शरीर, छाती, हातखुट्टा आदि भाग निकै जलेका थिए।"

उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डूस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।
प्रहरी नायब उपरीक्षक अनन्तराम शर्मा भन्छन्, "एसिड प्रहार गर्ने किशोरहरू १६ तथा १७ वर्षका किशोर भएको खुलेको छ।"
घटनाको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।
तर पीडित र ती किशोरहरू छिमेकी भएको बुझिएको छ।

यो पनि हेर्नुहोस्









