तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा क्षेत्रमा सन् २०२० देखि प्लास्टिक निषेध, यस्ता छन् विकल्पहरू
- Author, सुरेन्द्र फुयाल
- Role, बीबीसी न्यूज नेपाली
प्लास्टिकले जमिनको उर्बराशक्ति नाश गर्नेजस्ता घातक वातावरणीय असर गर्छ भनी विज्ञहरूले सचेत गराउँदा गराउँदै पनि प्लास्टिकसँग मानिस वा मानिससँग प्लास्टिक अलग्याउनै कठिन हुने परस्थिति बनिसकेको देखिन्छ।
यस्तो स्थितिमा खुम्बु पासाङल्हामु गाउँपालिकाले सन् २०२० देखि सगरमाथा क्षेत्रमा कसरी प्लास्टिक निषेध गर्ला? प्लास्टिकका विकल्प के-के हुन सक्लान्?
सगरमाथाको प्रवेशद्वारमा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिका अधिकारीहरूका अनुसार गाउँवासीहरूसँग अहिले प्लास्टिकका विकल्पहरुका बारेमा छलफल गर्ने क्रम चलिरहेको छ।
गाउँपालिकाकी उपाध्यक्ष टासील्हामु शेर्पाका अनुसार खुम्बु क्षेत्रका हरेक घर परिवारलाई प्लास्टिकको झोलाको सट्टामा पाँच प्रकारका वैकल्पिक झोलाहरू वितरण गर्ने योजना बनाइएको छ।
विकल्पहरू यस्ता छन्
पानी पिउन प्रयोग गरिने पातला प्लास्टिकको बोतलको सट्टा मोटा प्लास्टिक वा धातुका 'तुमलेट'जस्ता साना भाँडा वितरण गर्ने योजना बनाइएको छ।
उनले बीबीसी न्यूज नेपालीसँग भनिन्, "प्लास्टिकको झोलाको सट्टा हामी हरेक घर परिवारलाई पाँच थरी कपडाका झोला वितरण गर्दैछौँ। त्यो एउटा भरपर्दो विकल्प हुन सक्छ।"
प्रमुख प्रशासकीय अधिकृत धनेश घिमिरेका अनुसार प्लास्टिक निषेध गर्नुअघि गाउँपालिकाका झन्डै दुई हजार घर परिवारलाई प्लास्टिकको विकल्पको रूपमा पाँच थरी झोला वितरण गर्ने योजना बनाइएको छ।
उनले बीबीसी न्यूज नेपालीसँग भने, "ती झोला कपडाका हुनेछन्। घरायसी प्रयोजनका लागि चाहिने हुँदा ती विभिन्न आकारका हुनेछन्। ती झोलामा सगरमाथा बचाऔँ वा यस्तै कुनै नारा लेखिएको हुनेछ।"
बोतलको विकल्प
पेय पदार्थ राखिने प्लास्टिकका बोतललाई टिनको क्यान वा मोटा राम्रो प्लास्टिकका बोतलले प्रतिस्थापन गर्ने योजना बनाइएको उनले बताए।
सगरमाथा क्षेत्रको वातावरणमा सिसाले ठूलो समस्या निम्त्याउन थालेपछि खुम्बु क्षेत्रमा बियर र अन्य पेय पदार्थ राखिने बोतल यसअघि नै प्रतिबन्धित भइसकेका छन्।
त्यहाँ हरेक वर्ष सफाइ अभियानहरू सञ्चालन हुने गर्दछ। तैपनि बढ्दो पर्यटकीय गतिविधिका कारण सफाई र स्वच्छताबारेका चिन्ताहरू घटेका छैनन्।
घिमिरेका अनुसार खुम्बु क्षेत्रमा दीर्घकालीन "पर्यावरणमैत्री थिती बसाल्नका लागि गाउँपालिकाले आफ्नै स्वास्थ्य तथा सरसफाइ ऐन, नियमावली र कार्यविधि बनाउँदैछ।"
सगरमाथा क्षेत्रमा कति फोहर?
गत वर्ष झन्डै एक लाख ५० हजार पर्यटकहरूले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए।
गाउँपालिकाका अनुसार तीमध्ये आधा विदेशी पर्यटक थिए।
सगरमाथा क्षेत्रमा फोहरमैला बढ्ने क्रम नरोकिएकोप्रति विश्वव्यापी चिन्ता व्यक्त भइरहेको बेला गाउँपालिकाको गाउँसभाले गत साउन २७ त्यस्तो निर्णय गरेको हो।
गाउँपालिकाको निर्णयानुसार आगामी ज्यानुअरी १ (पुस १६ गते) देखि गते ३० माइक्रन्स (०.०३ मिलिमिटर) भन्दा कम मोटाइ भएका प्लास्टिकका झोला र पेयपदार्थ राखिने प्लास्टिकका बोतल खुम्बु क्षेत्रमा निषेधित हुनेछन्।
विश्वको सर्वोच्च शिखर र अन्य हिमचुली रहेको सोलुखुम्बु पदयात्रा र पर्वतारोहणका लागि विश्वप्रसिद्ध छ।
तर बढ्दो पर्यटकीय गतिविधिका कारण सगरमाथा क्षेत्रमा फोहरमैला बढ्दै गइरहेकोप्रति चिन्ता व्यक्त हुन थालेको छ।
पर्वतारोहण गर्न जानेहरूको बढ्दो चापका कारण उच्च हिमाली भेगसमेत प्रदूषित र दुर्गन्धित हुन थालेको आरोहीहरू बताउँछन्।
सगरमाथा क्षेत्रको सफाइमा सक्रिय सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार गत वैशाख-जेठ महिनामा आयोजित सफाइ अभियानमा १० हजार ५०० केजी फोहरमैला सङ्कलन गरिएको थियो।
"त्यसमध्ये झन्डै आधा पुन: प्रयोग गर्न सकिने खालको फोहरमैला थियो," एसपीसीसीकी जनसम्पर्क अधिकृत याङ्जी शेर्पाले बीबीसी न्यूज नेपालीसँग भनिन्।
"आधा फोहोर चाहिँ प्रयोग गर्न नसकिने खालको थियो।"
शेर्पाले भनिन्, "सफाइ अभियानमा जम्मा भएको हिमाली क्षेत्रको फोहोर काठमाण्डू ल्याइयो।"
"तर खुम्बुका बस्तीमा थुप्रै फोहोर निस्किन्छ। त्यसलाई स्थानीय रूपमा व्यवस्थापन गरिन्छ।"
प्लास्टिक निषेधका फाइदा के?
सगरमाथा क्षेत्रको भ्रमणमा जाने पदयात्री तथा पर्वतारोहीहरूले प्लास्टिकमा पोको पारिने चकलेट, चाउचाउ, बिस्कुटजस्ता खाद्य सामग्रीहरू लैजाने गर्छन्।
पर्यटककै उपभोगका लागि खुम्बु क्षेत्रमा पेयपदार्थ हालिएका प्लास्टिकका बोतलहरू समेत ढुवानी गर्ने गरिएको छ।
सगरमाथा क्षेत्रमा स्थानीय रूपमा व्यवस्थापन गर्न सकिने मलमूत्र र अन्य जैविक फोहरका अतिरिक्त पर्वतारोहीले प्रयोग गर्ने त्रिपाल, पोसाक, झोलाका अवशेषका अतिरिक्त फलाम, एलुमुनियमजस्ता धातु र प्रयोग गरिएका विभिन्न प्रकारका ब्याट्रीहरू फ्याँकिने गरेको छ।
गाउँपालिकाकी उपाध्यक्ष टाशील्हामु शेर्पाका अनुसार फोहोरको ठूलो अंश प्लास्टिकले ओगट्ने गरेको छ। त्यस्तो फोहोर खुम्बुका विभिन्न बस्तीमा बनाइएका खाल्टोहरूमा जम्मा गरेर जलाउने गरिएको छ।
तर प्लास्टिक जलाउँदा विषाक्त रसायनयुक्त ग्यासहरू निस्कन्छन र तिनले स्थानीय वन, वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेका हुन्छन्।
"त्यसैले हामीले खुम्बु क्षेत्रमा प्लास्टिक निषेध गर्ने नीति लिइएको हो," शेर्पाले बीबीसी न्यूज नेपालीसँग भनिन्।
"अब हामी स्थानीय समुदायहरूको सहयोगमा प्लास्टिकलाई पूरै निषेध गर्न लागेका छौँ।"
स्थानीय अधिकारीहरूका अनुसार प्लास्टिक निषेध गर्दा गाउँपालिकाको फोहोरमैला व्यवस्थापन खर्च पनि जोगिन्छ।
प्लास्टिक निषेध कार्यान्वयन कसरी?
सगरमाथा क्षेत्रमा जाने पर्यटक हुन् वा पथप्रदर्शक, भारी बोक्ने श्रमिक हुन् वा स्थानीय बासिन्दा - सबैले प्लास्टिकका कुनै न कुनै पोका बोकेकै हुन्छन्। यात्रामा प्यास लाग्दा पिउने पानी वा पेय पदार्थ प्राय प्लास्टिककै बोतलमा पाइन्छन्।
त्यसैले सन् २०२० को ज्यानुअरी १ तारिख (पुस १६ गते) देखि प्लास्टिक निषेध अभियान सहज नहुने गाउँपालिकाका अधिकारीहरू स्विकार्छन्।
खुम्बु पासाङल्हामु गाउँपालिकाले यसको कार्यान्वयनका लागि सबैको हातेमालो आवश्यक रहेको बताएको छ।
प्लास्टिक निषेध गर्ने कार्य चुनौतीपूर्ण रहेको भनाइहरूबीच गाउँपालिकाले यसका लागि यथेष्ट तयारी गर्ने समेत बताएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई निर्णयलाई स्वागतयोग्य भन्दै भन्छन्, "तर जताततै प्रयोग हुने प्लास्टिक निषेध गर्ने काम चुनौतीपूर्ण छ।"
गाउँपालिका उपाध्यक्ष टाशील्हामु शेर्पा भन्छिन्, "प्लास्टिक निषेध गर्ने हाम्रो योजना सफल बनाउन सबैको हातेमालो आवश्यक छ।"
सजाय के होला?
सगरमाथा क्षेत्रमा प्लास्टिक निषेध गर्ने नियम अटेर गर्नेलाई के सजाय होला त?
गाउँपालिका उपाध्यक्ष टाशील्हामु शेर्पा भन्छिन्, "त्यसबारेमा हामीले अहिले कुनै निर्णय गरिसकेका छैनौँ।"
"तर त्यो नियम लागु हुने दिन आउनुअघि नै हामीले गाउँपालिकाको बैठकबाट कुनै निर्णय अवश्य गर्नेछौँ।"
यो पनि हेर्नुहोस्