तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आत्महत्या दुरुत्साहन मुद्दा: धरौटी बुझाएपछि रवि लामिछाने र अन्य दुई अभियुक्त थुनामुक्त
चितवन जिल्ला अदालतको आदेशपछि पाँच लाख धरौटी बुझाएर सञ्चारकर्मी रवि लामिछाने सोमवार साँझ रिहा भएका छन्।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालतले अपराह्ण लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अर्की अभियुक्त अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश भएको थियो।
उनीहरूसँग बयान लिएपछि सोमवार नै थुनछेक बहस सम्पन्न गरी न्यायाधीश हेमन्त रावलको इजलासले यस्तो निर्णय सुनाएको हो।
लामिछानेसँगै तीन लाख रुपैयाँ धरौटी बुझाएर उनका सहकर्मी एवम् पत्रकार युवराज कँडेल पनि रिहा भएको हाम्रा चितवन संवाददाता ईश्वर जोशीले जानकारी दिएका छन्।
मुद्दाबारे बोल्न रोक
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी टेकनारायण कोइरालाले बीबीसीसँग भने, "धरौटी बुझाएर उहाँहरू भर्खरै रिहा भएको जानकारी आएको छ।"
चितवन जिल्ला अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले अदालतमा विचाराधीन आफ्नो मुद्दालाई प्रभावित पार्ने गरी लामिछानेले कार्यक्रम उत्पादन गर्न नपाउने पनि आदेशमा उल्लेख भएको बताए।
त्यसैगरी स्वास्थ्योपचार वा कुनै काम विशेषले विदेश जानुपरे चितवन जिल्ला अदालतको अनुमति लिनुपर्ने सीमितता तोकिदिएको पनि बताइएको छ।
अदालतको आदेशपछि थुनाबाट मुक्त भएका तीनै जना हाल चितवनमा नै रहेका बीबीसी नेपाली सेवाका सम्वाददाता ईश्वर जोशीले जनाएका छन्।
यसअघि मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरूपण गर्ने निकाय रहेको क्षेत्रमा हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै चितवन जिल्ला प्रशासन कार्यालयले भरतपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो।
तर पनि निषेधित क्षेत्रबाहिर रवि लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका थिए।
आत्महत्या दुरुत्साहनको अनुसन्धानका सिलसिलामा ११ दिनअघि पक्राउ परेका तीनै जनाविरुद्ध आइतवार अदालतमा अभियोग दायर गरिएको थियो।