नेपाल-भारत सम्बन्ध: जयशङ्करमार्फत् नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई पठाएको सन्देश

तस्बिर स्रोत, PMO India/RSS
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
नेपालका उच्च नेताहरूसँग भेटघाट गरेर स्वदेश फर्किएका भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणको मुख्य चासो प्रधानमन्त्री केपी शर्मा ओली र उनीबीच बुधवार एक्लाएक्लै भएको भेटबारे पाइन्छ।
सुरुमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुवै पक्षका प्रतिनिधिहरू सम्मिलित सामूहिक भेटपछि दुई जनाबीच एकान्तमा कुराकानी भएको हो।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार दुवैथरी भेटवार्ता एक घण्टाभन्दा बढी चलेका थिए। त्यो लामो कुराकानी मूल रूपमा केमा केन्द्रित थियो त?
भारतीय विदेशमन्त्री शिष्टाचारका लागि ओलीलाई भेट्न गएको र कुराकानी द्विपक्षीय मामिलामा केन्द्रित रहेको भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएको विदेशमन्त्री जयशङ्करले बताएको उनको भनाइ छ।
मोदीको सन्देश
भट्टराईका अनुसार भारतीय विदेशमन्त्री एस जयशङ्करमार्फत् भारतीय प्रधानमन्त्री मोदीको सन्देश यस्तो थियो -
- नेपाल-भारत सम्बन्ध जति हामी नजिक छौँ, यसलाई अझ नजिक बनाएर नयाँ उचाइमा लिएर जानका लागि अहिले अनुकूल वातावरण बनेको छ
- दुवै मुलुकमा राजनीतिक स्थायित्व प्राप्त भएपछि नेतृत्वबीचको सघन भेटघाट र छलफलका कारणले गर्दा एउटा विश्वासको वातावरण बनेको छ
- यो विश्वासको वातावरणबाट हामीले विगतका कतिपय निर्णयमा पुर्याउनुपर्ने र टुङ्ग्याउनुपर्ने विषयहरूलाई टुङ्ग्याएर जाऔँ
- र, आजको युग र समय सुहाउँदो हाम्रो सम्बन्धलाई अगाडि बढाउन के कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिएर अघि बढौँ
मोदी मतसँग मिल्दो ओली मत
प्रधानमन्त्री ओलीले मोदीलाई के सन्देश पठाए त?

भट्टराईका अनुसार ओलीले आफूले पनि नेपाल-भारत सम्बन्धलाई अत्यन्त महत्त्वका साथ अगाडि लग्न चाहिरहेको बताए।
ओलीलाई उद्धृत गर्दै भट्टराईले भने, "दुइटा स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न मुलुक अन्त्य नजिकको र गहिराइको सम्बन्ध छ। अब यसलाई विगतका कतिपय इतिहासले छोडेर गएका समस्या र विषयहरू छन् भने तिनहरूलाई टुङ्ग्याउँदै आगामी दिनमा आजको युग सुहाउँदो र आजको जनचेतना अनुसारको सम्बन्धनको त्यो दायरा र उचाइ प्राप्त गर्ने काममा हामी लाग्नुपर्छ।"
त्यसका लागि अहिले दुवै देशमा सबैभन्दा अनुकूल वातावरण रहेको कुरामा ओली पनि सहमत भएको भट्टराईको भनाइ छ।

तस्बिर स्रोत, RSS
उपयुक्त समयको खोजी
दुवै देशले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्तिहरूको समूह ईपीजीको प्रतिवेदन भारतीय प्रधानमन्त्रीले अहिलेसम्म बुझेका छैनन्।
भट्टराईका अनुसार त्यसबारे प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्रीले कुरा राखेका छन् भने अनौपचारिक रूपमा पनि अन्य ठाउँमा कुरा भएको छ।
भारतीय प्रतिक्रियाबारे जानकारी दिँदै उनले भने, "उहाँहरूले 'त्यो बुझ्दैनौँ भनेका छैनौँ। प्रतिवेदन अत्यन्त महत्त्वका साथ तयार गरिएको हो, सबै विषयहरू त्यसमा समेटिएका छन् भन्ने हामीलाई लागेको छ। हामीले उपयुक्त समयमा त्यसकोबारेमा निर्णय गर्छौँ' भन्ने प्रतिक्रिया दिनु भएको छ।"
'भेट मर्यादाविपरीत हैन'
प्रधानमन्त्रीले भारतका विदेशमन्त्रीसँग एक्लै गरेको भेटलाई कतिपयले कूटनीतिक मर्यादाविपरीतको कदम ठानेका छन्।

त्यो प्रश्न राख्दा प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच पनि दुई दिन एक्लाएक्लै कुराकानी भएको उदाहरण प्रस्तुत गरे।
तर त्यो दुई देशका कार्यकारीबीचको भेट थियो। 'प्रोटोकल' का दृष्टिले ओली र जयशङ्करबीचको भेट त्यससँग मिल्दो देखिँदैन।
तर भट्टराईको तर्क छ: "यो कूटनीतिक मर्यादाविपरीत होइन। यो अभ्यास नयाँ हो। नयाँनयाँ अभ्यासहरू भइरहेका छन्। अन्तर्राष्ट्रिय रूपमा स्वीकार गरिँदैछ। विश्वासको वातावरण बनाउन र विषयलाई गहिरोसँग बुझ्न नेताहरूबीच त्यसरी छलफल हुने अभ्यास अगाडि बढेको छ।"
अभिलेख
त्यस्ता बैठकका महत्त्वपूर्ण कुरा पछि आआफ्ना सम्बन्धित निकायमा जानकारी गराइनुपर्ने उनको धारणा छ। र, प्रधानमन्त्री ओलीले त्यो अनुसरण गर्ने उनको भनाइ छ।
आवश्यक कुरा परराष्ट्र मन्त्रालयको अभिलेखमा रहने पनि उनले विश्वास दिलाए। तर अहिलेसम्म त्यस्तो अभ्यास नेपाली नेताहरूले नगरेको भन्दै चर्को आलोचना हुनेगर्छ।
नेताहरूको कूटनीतिक व्यवहारबारे निकै बहस हुने गरेका बेला कतिपयले बहुमत प्राप्त बलियो सरकारको निम्ति त्यसलाई मर्यादित बनाउन नजिर स्थापित गर्ने अवसर रहेको ठान्छन्।
तर जयशङ्करसँग एक्लाएक्लै भेट गरेर ओली त्यस मामिलामा चुकेको एकथरीको मत छ।













