जनकपुरमा नरेन्द्र मोदीको अभिनन्दन

जनकपुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा शुक्रबार हुने नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सरकारले एक लाख मानिस उतार्ने तयारी रहेको जनाएको छ।

तर बदलिँदो मौसम तथा विद्युतीय सञ्चार माध्यमहरूले कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने भएकाले जनकपुरकै धेरै सर्वसाधारणले घरमै बसेर कार्यक्रम हेर्ने मनिस्थितिमा रहेको बताएका छन्।

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले धनुषा सहित महोत्तरी र सिरहाबाट बढी सर्वसाधारण आउने अपेक्षा गरिएको जनाए।

जनकपुर विमानस्थलमा सवा दश बजे आइपुग्ने मोदीलाई सरकारकातर्फबाट रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ।

अभिनन्दन

जनकपुरधामको रामानन्द चोकमा व्यवसाय गर्दै आएका नविनकुमार यादवले मान्छे बेफुर्सदी भएकाले प्रदेश सरकारले अनुमान गरे अनुरुप सर्वसाधारण आउनसक्ने अवस्था नरहेको बताए।

उनले भने, "मान्छेलाई कहाँ त्यत्रो फुर्सद छ र मोदीलाई आएर हेर्न। पहिला जस्तो छ अहिले त्यस्तै छ। प्रशासनको उपस्थिति बाक्लो छ, त्यति चाहिँ हो।"

कतिपयको भनाइमा बारा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाहरूबाट बिहानै सर्वसाधारण आउन सक्ने अवस्था छैन।

त्यसमाथि पनि बिहान करिब ९ बजेभित्रमा बाह्र बिघा मैदानमा सर्वसाधारण प्रवेश गरिसक्नुपर्ने व्यवस्था छ।

मौसममा आइरहेको परिवर्तन र सोही कार्यक्रमको विभिन्न विद्युतीय सञ्चार माध्यमहरुले प्रत्यक्ष प्रशारण गर्ने भएकाले पनि धेरै सर्वसाधारणले घरमै बसेर कार्यक्रम हेर्ने इच्छा गरेको अर्का सर्वसाधारण महादेव राउतले बताए।

उनले भने, "मौसम बदलिरहन्छ। फेरि मान्छेले घरमै टेलिभिजनमा प्रत्यक्ष प्रशारण हेर्न पाउँछन्। जनकपुरकै धेरै मान्छे घरमै कार्यक्रम हेर्न इच्छा गरेका छन्।"

जनकपुर

सफाइ

मोदी जनकपुर आउने कार्यक्रमलाई सफल पार्ने भन्दै राजनीतिक दलका नेतादेखि प्रहरी, सेना तथा सशस्त्र प्रहरी झाडु लिएर सडक सफा गर्न निस्कने गरेका थिए।

पहिला भन्दा अहिले जनकपुरधाम सफा देखिन थालेको छ।

प्रत्येक दिन बिहान नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीका समूह झाडु लिएर बजार, सडक तथा गल्ली सफा गर्न निस्कने गरेका छन्।

नेपाल प्रहरीका ४५० जना, सशस्त्र प्रहरीबाट ४२५ जना तथा नेपाली सेनाका करिब २ सय जना बिहीवार सडक सफा गर्न खटिएका थिए।

सुरक्षा निकाय बाहेक नगरपालिकाका कर्मचारी समेत दैनिक सडक तथा गल्ली झाडु लगाउन निस्केका थिए।

हाल भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणमा नेपाल प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी नायव महानिरीक्षक ठूले राईले मोदीको स्वागतका लागि मात्र नभएर जनकपुरको फोहोरलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय समुदायसंग मिलेर काम गरिरहेको बताए।

उनले भने, "हामीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि पनि सफाई गर्ने कामलाई निरन्तरता दिनेछौं।"