बांग्लादेशमा आगालागी: १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन

आगलागीपछिको दृष्य

बांग्लादेशको राजधानी ढाकास्थित एउटा बस्तीमा भीषण आगालागी हुँदा ५० हजार मानिस घरबारविहीन भएका छन्।

चलानटीकास्थित झुपडी-वस्तीमा शुक्रवार राती लागेको आगोमा करिब १५ हजार घर सखाप भएका छन्।

कैयौँ घरहरू प्लास्टिकको छानो थियो जसले गर्दा आगो तीव्र गतिमा फैलिएको थियो।

कारण अज्ञात

घटनामा कसैको मृत्यु भएको छैन तर थुप्रै मानिसहरू घाइते भएका छन्।

त्यहाँ बस्ने अधिकांश मानिसहरू न्यून आय भएकाहरू छन्।

कैयौँ मानिसहरू बकर ईद पर्व मनाउन आफ्नो पुर्खौली गाउँ गएका थिए।

आगलागीपछिको दृष्य

आगो लाग्नुको कारण थाहा भएको छैन, अनुसन्धान जारी छ।

विगतमा ठूलो क्षति

आगो नियन्त्रणमा लिन छ घण्टाभन्दा बढी समय लागेको थियो।

सरकारले घरबार विहीन भएका हजारौँ मानिसलाई राहत दिइने घोषणा गरेको छ।

फेब्रुअरी महिनामा ढाकास्थित एउटा ऐतिहासिक जिल्लामा भएको आगलागीमा करिब ८० जनाको मृत्यु भएको थियो।

त्यस्तै तटीय सहर चिट्टगाउँको एउटा बस्तीमा भएको आगलागीको अर्को घटनामा नौजनाको ज्यान गएको थियो।