हङ्‍कङ विमानस्थलमा प्रदर्शनकारीले लगाए 'ट्रली'को बार, हज्जारौँ यात्रु प्रभावित

हङ्‍कङ विमानस्थलमा भइरहेका प्रदर्शनका कारण लगातार दोस्रो दिन उक्त विमानस्थलबाट हुने उडान स्थगित गरिएको छ।

विश्वको व्यस्त मध्येको एक मानिने उक्त विमानस्थलमा शुक्रवार देखि निरन्तर प्रदर्शन हुँदै आएको छ।

सामाजिक सञ्जालहरूमा राखिएका भिडिओका अनुसार प्रदर्शनकारीहरू प्रस्थान क्षेत्रमा बसेका कारण यात्रुहरू विमानस्थल प्रवेश गर्न सङ्घर्ष गर्नुपरेको देख्न सकिन्छ।

अधिकारीहरूले सोमवार प्रदर्शनकारीहरूलाई सचेत गराउँदा गराउँदै पनि मङ्गलवार विमानस्थलमा भिड जम्मा भएको थियो।

विमानस्थल भित्रबाट आइरहेका तस्बिरहरूमा प्रदर्शनकारीहरूले 'लगेज' बोकिने ट्रलीहरू प्रयोग गरेर अवरोधहरू सिर्जना गरेको देखिन्छ।

केही यात्रुहरू त्यस्तो अवरोधका कारण क्रुद्ध र भयभीत देखिन्छन्।

स्थानीय समय अनुसार साढे चार बजेतिर विमानस्थलका अधिकारीहरूले उडान अनुमति रोकेको बताएका थिए।

विमानस्थलको वेबसाइटमा राखिएको विज्ञप्तिमा यात्रुहरूलाई छिटोभन्दा छिटो टर्मिनल भवन छाड्न सुझाइएको थियो।

मङ्गलवार कति अवतरणहरू प्रभावित भए भन्ने चाहिँ अझै स्पष्ट भएको छैन।

सोमवार नै सयौं उडानहरू रद्द हुँदा विश्वको व्यस्तमध्येको एक उक्त विमानस्थलमा हजारौं यात्रु प्रभावित भएका थिए

चेतावनी

हङ्‍कङकी प्रमुख कार्यकारी क्यारी लामले प्रदर्शनकारीहरूलाई चेतावनी दिँदै उनीहरूले शहरलाई रसातलमा पु‍‌र्‌याउन लागेको आरोप लगाएकी छन्।

जेनेभामा बोल्दै राष्ट्रसंघकी मानवअधिकार प्रमुख मिचेल बाक्चेलेटले प्रदर्शनकारीहरूमाथि भएका अत्याधिक दमनको शीघ्र, स्वतन्त्र र तटस्थ अनुसन्धान हुनुपर्ने बताएकी छन्।

हङ्‍कङको राजनीतिक सङ्कट तेस्रो महिनामा चलिरहँदा बेइजिङ्ले हस्तक्षेप गर्ने चेतावनी दिएको छ।