तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कम्प्युटर खेल फोर्टनाइटको विश्व च्याम्पियन बन्दै १६ वर्षे किशोरले जिते ३३ करोड
- Author, जो टाइडी
- Role, साइबर सुरक्षा सम्वाददाता
एक अमेरिकी किशोरले फोर्टनाइट नामक कम्प्युटर खेलको विश्व च्याम्पियन बन्दै करिब ३३ करोड नेपाली रुपैयाँ (३० लाख अमेरिकी डलर) पुरस्कार जितेका छन्।
कम्प्युटर खेलको इतिहासमा सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगितामा विजेताहरूले तीन अर्ब ३० करोड रुपैयाँ बाँडेका छन्।
सोह्र वर्षीय काइल गियर्सडर्फले यूएस ओपन टेनिस प्रतियोगिता हुने न्यूयोर्कको आर्थर एस स्टेडियममा एकलतर्फको खेल जितेका थिए।
इन्टरनेटमा बुघा उपनाम राखेका गियर्सडर्फ विजेता घोषित भएपछि ताली बजाइरहेका दर्शकहरूलाई अभिवादन गर्नका लागि मुस्कुराउँदै उठेका थिए।
उनले बीबीसीलाई आफूले जितेको पुरस्कारको धेरै रकम बचत गर्न चाहेको बताए।
"मलाई चाहिएको भनको एउटा नयाँ टेबुल हो," उनले भने। "जितेको ट्रफिको लागि पनि नयाँ टेबुल चाहिन्छ कि।"
प्रतियोगिताको फाइनल खेललाई कमेन्टेटरहरूले 'हास्यास्पद विजयी दौड' भनेका थिए किनकि गियर्सडर्फले मन्द मुस्कानका साथ आफ्ना प्रतिद्वन्द्वीलाई हराएका थिए।
सन् २०१९ मा खर्बौँ अमेरिकी डलरको उद्योगको रूपमा स्थापित भएको कम्प्युटर खेलको इतिहासमा यो प्रतियोगितालाई कोशेढुङ्गाको रूपमा लिइएको छ।
तर सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगिताको रूपमा यसको कीर्तिमान भने अगस्टमा तय भएको द इन्टरन्याश्नल प्रतियोगिताले तोड्ने छ।
फोर्टनाइटको फाइनलमा १०० प्रतियोगीले ठूला कम्प्युटर स्क्रिनमा प्रतिस्पर्धा गरेका थिए।
दश हप्ता चलेको अनलाइन प्रतियोगितामा संसारभरका चार करोड मानिसले छनौट हुन प्रतिस्पर्धा गरेका थिए।
अन्तिम छनौटमा परेका प्रतियोगीले ३० भन्दा बढी राष्ट्रको प्रतिनिधित्व गरेका थिए। सबैभन्दा धेरै अमेरिकाका ७० जना, फ्रान्सका १४ जना र यूकेका ११ जना थिए।
सो खेल कम्प्युटरको एउटा कृत्रिम दुनियाँमा हुन्छ र त्यसका लागि १०० खेलाडीहरूलाई त्यहाँको एउटा टापुमा झारिन्छ। उनीहरूले हतियार खोज्दै, संरचनाहरू निर्माण गर्दै अन्तिममा एकजना मात्र बाँकी रहँदासम्म प्रतिस्पर्धा गर्नुपर्छ।
संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल नि:शुल्क डाउनलोड गर्न सकिन्छ।
खेलाडीले एक्लै अथवा चिनेको वा नचिनेका अन्य खेलाडीहरूसँग चार जनाको समूह वा २० जनाको समूह बनाएर खेल्न सक्छन्।
गएको महिना यो खेलका विकासकर्ताहरूलाई ब्रिटिश सांसद्हरूले खेलाडीहरूको उमेर पत्ता लगाउन वा लामो समय खेलेपछि रोकिन यथेष्ट काम गरेका छन् कि छैनन् भनेर प्रश्न गरेका थिए।
गएको एप्रिलमा राजकुमार ह्यारीले फोर्टनाइट कम्प्युटर खेलको दुर्व्यसनी बनाउन निर्माण गरिएको भन्दै यसमाथि प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए।
यसका निर्माता इपिक गेम्सका कानुनी सल्लाहकारले सांसद्हरूलाई राजकुमार ह्यारीको भनाइले आफूहरू छक्क परेको बताएका थिए।