'सिरियामा दश दिनमा १०० भन्दा बढी गैरसैनिकको मृत्यु'

सिरियामा २६ बालबालिकासहित एक सयभन्दा बढी मानिसहरू अस्पताल, विद्यालय, बजार र बेकरीमा भएका सरकारी हमलामा मारिएको राष्ट्रसङ्घकी मानव अधिकार प्रमुखले बताएकी छन्।

मिचेल बचेलेटले त्यस्तो मृत्यु 'सरकार र रुससहितका उसका साझेदारले गरेका कठोर हवाई हमलासँग जोडिएको' बताएकी छन्।

उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताइन्।

रुसले चाहिँ नागरिक बस्ने ठाउँहरूमा आफूले हवाई हमला नगरेको बताएको छ।

आक्रमण

राष्ट्रसङ्घकी मानव अधिकार प्रमुखले स्पष्ट अन्तर्राष्ट्रिय मतभिन्नतालाई त्यस्तो अवस्था सिर्जना हुनुको कारण बताइन्।

पत्रकारहरूसँग बोल्दै मिचेल बचेलेटले त्यो विश्वका शक्तिशाली राष्ट्रको नेतृत्वको असफलता रहेको बताइन्।

विद्रोही पकड रहेको इडलिब क्षेत्रमा मृत्युको सङ्ख्या बढिरहेको अवस्थालाई उनले राष्ट्रसङ्घीय सुरक्षा परिष‌द्‌को निकम्मापनको रूपमा अर्थ्याइन्।

उनले त्यस्तो हमला गराउनेहरू युद्ध अपराधमा मुछिन सक्ने भन्दै चेतावनी समेत दिइन्।

बचेलेटले भनिन्: जसरी एकै तरिकाले धेरै हमलाहरू भएका छन् त्यसलाई दुर्घटना भन्न सकिँदैन।

सुरक्षा

इड्लिबसहित उत्तरी हामा र पश्चिमी अलेपो प्रान्त आठ वर्षयताको सिरियाली युद्धका अन्तिम पकड क्षेत्रहरू हुन्।

गत सेप्टेम्बरमा त्यहाँ रुस र विपक्षीलाई सघाइरहेको टर्कीले युद्धविराम गरेका थिए। जसले गर्दा त्यहाँ बस्ने २७ लाख नागरिकहरूले सुरक्षित महसुस गरेका थिए।

२९ एप्रिलयता बिग्रिएको त्यहाँको अवस्थाका कारण त्यहाँ ३५० भन्दा बढी नागरिकहरू मारिएको र तीन लाख तीस हजार घर छाड्न बाध्य भएको बताएको गतसाता राष्ट्रसङ्घले बताएको थियो।

गत दश दिनमा १०३ जना थप मानिसहरू मारिएपछि मृतक र विस्थापित दुवैको सङ्ख्या बढ्नेछ।

सरकारले भने अल कायदासँग जोडिएका जिहादीहरूले युद्धविराम उल्लङ्घनका कदमहरू बढाएकाले कारबाही गर्नुपरेको बताउँदै आएको छ।

रुसले भने बजार र नागरिक बसोबासका क्षेत्रमा आफूले हवाई हमला नगरेको बताएको छ।