तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाका लागि 'औपचारिक चेतावनी'
उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण 'युद्ध चाहने दक्षिण कोरियालीहरू' का लागि 'एउटा औपचारिक चेतावनी' भएको जनाएको छ।
उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट 'इस्ट सी' भनेर पनि चिनिने 'सी अफ जापान' मा छोटो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए।
उत्तर कोरियाली नेता किम जङ-अनले 'सम्भावित तथा प्रत्यक्ष खतराहरूको सामना गर्नका लागि' अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य भएको बताएका छन्।
दक्षिण कोरियाका सेना प्रमुखका अनुसार एउटा क्षेप्यास्त्रले करिब ६९० किलोमिटर दूरीसम्म यात्रा गरेको थियो।
संयुक्त राज्य अमेरिकाले पनि ती क्षेप्यास्त्रहरू 'छोटो दूरीको' भएको पुष्टि गरेको छ।
ती क्षेप्यास्त्रहरू आफ्नो जलक्षेत्रसम्म नपुगेको जापानले जनाएको छ।
किमले के भने?
किमले नयाँ अस्त्र प्रणालीबाट 'सन्तुष्ट' भएको र त्यसको 'प्रतिरक्षा गर्न सहज नहुने' दाबी गरेका छन्।
दक्षिण कोरियाले 'चेतावनीलाई बेवास्ता गरेर भूल गर्न नहुने' उनको भनाइ छ।
दक्षिण कोरियाले तनाव मत्थर पार्ने काममा असहयोगी हुने गतिविधि बन्द गर्न प्योङयाङलाई आग्रह गरेको छ।
उसले क्षेप्यास्त्र परीक्षणहरू एउटा सैन्य खतरा भएको पनि बताएको छ।
अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियालाई उक्साहटपूर्ण कार्यबाट टाढा रहन आग्रह गरेको छ।
सन्दर्भ के हो?
जुन ३० तारिखमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर तथा दक्षिण कोरियालाई छुट्ट्याउने असैनिकृत क्षेत्रमा भेटेपछिको प्योङयाङबाट गरिएको पहिलो क्षेप्यास्त्र परीक्षण हो।
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको निर्धारित वार्षिक संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरिया क्रुद्ध भएपछि ती परीक्षणहरू गरिएका हुन्।
अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास रद्द गर्न अस्वीकार गरेका छन्। यद्यपि उनीहरूले उल्लेख्य रूपमा आकार घटाएका छन्।
गत वर्ष किम र उत्तर कोरियाले पारमाणविक परीक्षण तथा अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रहरूको प्रक्षेपण नगर्ने बताएका थिए।
यद्यपि उत्तर कोरियाले पारमाणविक गतिविधिहरू जारी राखेको देखिन्छ।
गत महिना प्राप्त उसको प्रमुख पारमाणविक केन्द्रका भूउपग्रह तस्वीरहरूले गतिविधिहरू भइरहेको देखाएका थिए।
कठोर आर्थिक प्रतिबन्धहरू लगाइए पनि प्योङयाङले नयाँ अस्त्रहरूको विकास गर्न सक्ने आफ्ना क्षमता प्रदर्शन गर्ने क्रम जारी राखेको छ।
उत्तर कोरियाली सञ्चारमाध्यमहरूका अनुसार यसै हप्ताको शुरूतिर किमले एउटा नयाँ प्रकारको पनडुब्बीको अवलोकन गरेका थिए।
प्योङयाङले गत मेमा पनि छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो।
सन् २०१७ मा उसले अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेयताको त्यो पहिलो परीक्षण थियो।