तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ब्रिटेन: जोनसनको मन्त्रिमण्डलमा ब्रेक्जिट अभियानकर्ताको बाहुल्य
ब्रिटेनका नव नियुक्त प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघ-ईयूबाट ब्रिटेन बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएका छन्।
जोनसनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना ब्रिटिश नागरिकहरू पनि परेका छन्।
जोनसनको मन्त्रिमण्डलमा डोमिनिक रब विदेश र प्रिती पटेल गृहमन्त्रीका रूपमा सरकारमा फर्किएका छन्।
टरिजा मेको सरकारमा गृहमन्त्री रहेका साजिद जावेदले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
प्रतिस्पर्धा
पटेल र जावेद एसियाली मूलका ब्रिटिश हुन्।
यद्यपि मेको मन्त्रिमण्डलका आधाभन्दा बढी सदस्यहरूले कि त राजीनामा दिएका छन् कि हटाइएका छन्।
त्यस्तोमा जोनसनसँगै प्रधानमन्त्रीका लागि पार्टीभित्र प्रतिस्पर्धा गरेका जेरमी हन्ट पनि पर्छन्।
प्रतिबद्धता
यसअघि उनले ब्रेक्जिटका "भाग्यवादी र निराशावादी" गलत भएको र आगामी अक्टोबर ३१ तारिखभित्र यूकेले इयू छाड्ने बताएका थिए।
प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिट बाहिर बोल्दै उनले "यदि र तर" जस्ता कुरा नगरी तोकिएकै समयमा यूके ईयूबाट बाहिरिने दाबी गरेका हुन्।
त्यसपछि उनले आफ्नो ध्यान सरकारमा कट्टरपन्थी परिवर्तन गर्नतर्फ लगाए र पूर्ववर्ती सरकारका १७ जना वरिष्ठ मन्त्रीहरूलाई हटाए वा राजीनामा गर्न बाध्य बनाए।
जोनसनका प्रतिस्पर्धी विदेशमन्त्री जेरमी हन्टले पदबाट हट्दै गर्दा आफूलाई अर्को पद दिइन लागेको तर आफूले पद छाडेको बताएका छन्।
ईयूबाट ब्रिटेन बाहिरिनु पर्छ भनेर वकालत गर्ने प्रमुख नेतृत्वकर्तामध्येकी एक र पार्टीमा लोकप्रिय रहेकी रक्षा मन्त्री पेनी मोर्डन्टको पनि आश्चर्यजनक बहिर्गमन भएको छ।
उनको स्थान पूर्व सैनिक तथा लामो समयदेखि जोनसनको साथमा रहदैँ आएका बेन वालेसले लिएका छन्।
ईयूबाट ब्रिटेन बाहिरिनु पर्छ भनेर वकालत गर्ने अर्का अन्तर्राष्ट्रिय व्यापारमन्त्री लाइम फक्स र व्यापारमन्त्री ग्रेग क्लार्क पनि बाहिरिएका छन्।
क्लार्क बिना कुनै सम्झौता इयू छाड्ने प्रस्तावको खुलेर विरोध गर्ने व्यक्ति हुन्।
ती तीनैजनाले टोरी नेताका रूपमा जेरमी हन्टलाई समर्थन गरेका थिए।