बीच भलिबल: पहिलो पटक साग गेम्समा समावेश, तर नेपालमा कोर्ट निर्माण र प्रशिक्षणमा समस्या

समुद्रको किनारामा बालुवामा खेलिने बीच भलिबल खेल भूपरिवेष्ठित देश नेपालमा हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग गेम्समा पहिलो पटक समावेश हुने निश्चित भएको छ। तर बीच भलिबल कोर्ट निर्माणदेखि खेलाडीको बन्द प्रशिक्षण भने अनिश्चित देखिएको अधिकारीहरुले बताएका छन्।
पुरुष इन्डोर भलिबल खेलको साग गेम्सकेन्द्रित बन्द प्रशिक्षण नेपालमा सुरु भएको दुई हप्ता भइसकेको छ। महिला इन्डोर भलिबल टोलीको प्रशिक्षण पनि गत हप्ताबाट काठमाण्डूमा थालिसकिएको छ।
तर साग गेम्समा नयाँ खेलको रूपमा थप गरिएको बीच भलिबलको प्रारम्भिक टोलीको छनोट (पुरुष र महिला) बाहेक बाँकी काम अगाडि बढ्न सकेको देखिँदैन।
नेपाल भलिवल सङ्घका अनुसार पहिलो पटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागिएको बीच भलिबलको नेपालमा खेल्ने मैदान निर्माण गर्न बाँकी छ।
त्यसैले खेलाडीहरूको प्रशिक्षण सुरु गर्न नसकिएको सङ्घका अधिकारीहरूले बताएका छन्।
के हो बीच भलिबल?
बीच भलिबल खासगरी समुद्र छेउको बालुवामा खेलिने फरक प्रकृतिको खेल हो।
यसमा टोलीमा दुई जना खेलाडी खेल्छन्।
नेपालमा समुद्र नभएकोले पोखराको फेवाताल छेउमा बालुवाको कोर्ट बनाएर यो खेल खेलाउने योजना बनाइएको छ।
नेपाल भलिवल सङ्घका महासचिव जितेन्द्र चन्द भन्छन्, "फेवाताल छेउमा खेलाउँदा समुद्रवरिपरि खेलाएजस्तै अनुभूति हुने भएकोले स्थानको समस्या छैन। तर दुईवटा मुख्य कोर्ट र अभ्यासका लागि अरू दुईवटा गरी चारवटा कोर्ट भने बनाउन आवश्यक छ। "
लुगा
अन्तर्राष्ट्रिय नियमानुसार बीच भलिबलमा पुरुष खेलाडीहरुले हाफ प्यान्ट्स र टीशर्ट लगाउनुपर्छ भने महिला खेलाडीहरुले टूपीस लगाएर खेल्नुपर्छ।
उनीहरूसँग दुई जोडी लुगा, घाममा लगाउने क्रीम र रुमाल अनिवार्य हुनुपर्छ।

दर्शकहरूको चासो बढ्ने बीच भलिबलको यो एउटा आकर्षक पक्ष मानिन्छ।
तर आयोजक राष्ट्रले सम्बन्धित देशको संस्कृतिअनुसार लुगाको सन्दर्भमा नियम परिवर्तन गर्न सकिने भलिबल सङ्घका महासचिव चन्द बताउँछन्।
उनले भने, "आयोजकले सहमतिमा नियम परिवर्तन गर्न सक्छ। जस्तै पाकिस्तानी महिलाहरूले त्यस्तो लुगा लगाउन सक्दैनन्। हाम्रा खेलाडीहरूले पनि सक्दैनन्। त्यसैले टूपीस लगाउने नियम चाहिँ परिवर्तन हुनेछ। "
दाबी
नेपाल भलिवल सङ्घले पुरुष र महिलाको तीन-तीन टोली गरी छ खेलाडी छानेको छ।
त्यसमा अन्तिम चरणमा एउटा टोली फ्याँकिनेछ र दुई टोलीले साग गेम्स खेल्नेछन्।
खेलाडीहरू भने बन्द प्रशिक्षणको प्रतीक्षा गरिरहेका छन्।

बीच भलिबलको प्रारम्भिक टोलीमा छानिएकी खेलाडी कोपिला उप्रेती भन्छिन्, "बीच भलिबल टोलीमा परिएको छ। नेपालको जर्सी लगाएर आफ्नै देशमा हुने प्रतियोगितामा खेल्न पर्खिरहेकी छु। तर अझैसम्म प्रशिक्षणको बारेमा केही जानकारी आएको छैन।"
खेलाडीहरूका अनुसार बन्द प्रशिक्षण निम्ति अहिले नै बालुवाको कोर्ट नभए पनि हुन्छ। अर्की खेलाडी नीता शाह भन्छिन्, " फिटनेसको लागि भएपनि बन्द प्रशिक्षण सुरु गरिहाले राम्रो हुने थियो।"
महिला टोलीले सागमा पदक जित्ने दाबी पनि गरिएको छ। त्यसका लागि बीच भलिबल मैदान निर्माण र प्रशिक्षण तत्कालै सुरु गर्नुपर्ने खेलाडीहरूको माग छ।
शाह भन्छिन्, "बीच भलिबलमा श्रीलङ्का सबैभन्दा बलियो छ। हामीले यो क्षेत्रमा विगतमा स्वर्ण पनि जितिसकेका छौँ। त्यसैले राम्रो प्रशिक्षण पाए कम्तिमा रजत नत्र स्वर्ण जित्न सक्छौँ।"
विसं २०६० बाट दक्षिण एशियाली बीच गेम्समा भाग लिन थालेको नेपाली पुरुष र महिला दुवै टोलीले अन्तर्राष्ट्रिय पदक जितिसकेका छन्।
एशियन बीच गेम्स र दक्षिण एशियाली बीच गेम्समा पनि खेलाडीहरूले भाग लिइसकेका छन्।
घरेलु स्तरमा नेपाल भलिबल सङ्घले पनि बीच भलिबलको सातौँ राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ।
पीडा
बीच भलिबालमा छानिएका खेलाडीहरूको अर्को पीडा पनि छ।
भलिबलको मुख्य प्रतिस्पर्धाको रूपमा रहने इन्डोर भलिबलमा नपरेका खेलाडीहरूले मात्र बीच भलिबलमा प्रतिस्पर्धा गर्न पाउने नियम छ।
नेपालका २५ उत्कृष्ट खेलाडीहरू इन्डोर टोलीमा छानिएका छन्। त्यसमा नपरेका खेलाडीहरू बीच भलिबलमा छानिएका हुन्।
त्यसैले कतिपय खेलाडीहरू बीच भलिवलको टोलीमा पररेकोमा भन्दा इन्डोर भलिबलमा नपरेकोमा दु:खी देखिन्छन्।
इन्डोर भलिबलमा छनोट नभएकोमा खिन्न मनीषा चौधरी भन्छिन्, " किन इन्डोर भलिवलमा परिनँ भनेर आश्चर्यमा छु। तर अब बीचमा नै मेहनत गर्छु।"
तर इन्डोर र बीचको खेलाडी छुट्याइनु लाभदायक हुने नेपाल भलिबल सङ्घकी केन्द्रीय सदस्य सुनकेशरी मालीको भनाइ छ।
उनी भन्छिन्, "इन्डोर र बीच भलिबलका खेलाडी फरकफरक हुने नियमले किन फाइदा छ भने अब खेलाडीहरू आफ्नो खेलमा केन्द्रित हुनेछन्। यसले नेपाललाई पदक दिलाउन सक्छ।"
सागमा पहिलो पटक
साग गेम्समा बीच भलिबल समावेश गरिएको पहिलो पटक हो।
ओलिम्पिक खेलमा भने यो खेल सन् १९९६ मा एट्लान्टाबाट समावेश गरिसकिएको थियो।
त्यसको दुई वर्षपछि सन् १९९८ को ब्याङ्कक एशियाली खेलकुदको १३ औँ संस्करणबाट बीच भलिबलले एशियाली खेलकुदमा पनि प्रवेश पायो।
त्यसैले बीच भलिबल साग गेम्समा पनि समावेश गर्नेबारे दक्षिण एशियाली ओलिम्पिक काउन्सिल बैठकमा बारम्बार चर्चा हुने गरेको थियो।
विभिन्न २७ वटा खेल साग गेम्समा समावेश गरिने निर्णय भइसकेकोमा अब बीच भलिबल र थ्री-अन-थ्री बास्केटबल थपिएसँगै कुल खेल सङ्ख्या २९ पुगेको छ।
नेपाल ओलिम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणा भन्छिन्, " ह्यान्डबलजस्तो अरू खेल पनि थपिने विषयमा छलफल भएको थियो। यसपालि दुई खेल मात्र थपियो। आगामी सागमा बीच गेम्सका अन्य खेलहरू पनि थपिँदै जाने सम्भावना छ।"








