अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकद्वारा राजीनामा

सर किम डारक

तस्बिर स्रोत, PA Media

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनको आलोचना गरेको इमेल चुहिएपछि विवादमा तानिएका अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले आफ्नो पदबाट राजीनामा दिएका छन्।

ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै सर किमले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले ब्रिटेनका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको संज्ञा दिएका थिए।

ब्रिटेनको विदेश मन्त्रालयले बुधवार सर किमले राजीनामा दिने निर्णय गरेको पुष्टि गरेको छ।

सर किमले आफूले सबैखाले अडकालबाजीहरू रोक्न चाहेको बताउँदै, इमेल सार्वजनिक भएपछि उनलाई अमेरिकाको लागि राजदूतको रूपमा काम गर्न "असम्भव" भएको उल्लेख गरेका छन्।

ब्रिटेनको विदेश मन्त्रालयलाई पठाएको पत्रमा सर किमले लेखेका छन्, "अहिलेको परिस्थितिमा मैले चाहे जसरी काम गर्न असम्भव जस्तै भइरहेको छ।"

"मेरो कार्यावधि अर्को वर्षको अन्त्यतिर मात्र सकिँदैछ, तर अहिलेको परिस्थितिमा नयाँ राजदूत नियुक्तिका लागि गर्ने बाटो खोल्नु नै जिम्मेवार कदम हुने मेरो विश्वास छ।"

कूटनीतिक तनाव

स्थायी उपमन्त्री एवं कूटनीतिक सेवाका प्रमुख सर साइमन मक्डोनल्डले इमेल चुहिएको घटना "सुनियोजित" भएको बताउँदै उनले सर किमलाई भनेका छन्: "तपाईँ हामीहरू मध्येको उत्कृष्ट हुनुहुन्छ।"

संसदको तल्लो सदन कमन्स्‌को विदेश मामिला समिति बोल्दै उनले कुनै पनि ब्रिटिश राजदूतसँग कुनै राष्ट्रप्रमुखले काम गर्न अस्वीकार गरेको आफ्नो कार्यकालको पहिलो घटना भएको बताए।

गोप्य इमेल चुहिएलगत्तै ट्रम्पले डारकलाई "बेबकुफ"को संज्ञा दिएका थिए। उक्त घटना लगत्तै अमेरिका र ब्रिटेनबीच एक किसिमको तनाव उत्पन्न भएको थियो।

ब्रिटेनले सर किम एक "कर्तव्यपरायण र सम्मानित सरकारी अधिकारी" भएको र इमेल चुहावट प्रकरणपछि द्विपक्षीय सम्बन्धबारे मे र ट्रम्पबीच छलफल हुने कुनै योजना नरहेको बताएपछि ट्रम्प झन् चिढिएका थिए। डा

प्रधानमन्त्री टरिजा मेले भने डारकलाई ब्रिटेनको मन्त्री परिषद्को पूर्ण समर्थन रहेको बताएकी थिइन। लेबर पार्टीका नेता जेरेमी कर्बिनले पनि डारकविरुद्ध ट्रम्पले गरेको टिप्पणी "अनुचित र गलत" रहेको प्रतिक्रिया दिएका छन्।

राजीनामा गरेपछि डारकले अप्ठ्यारा केही दिनहरूमा अमेरिका र ब्रिटेनमा आफूलाई समर्थन गर्नेहरूलाई धन्यवाद दिएका छन्।

सर किम डारक को हुन्?

४२ वर्ष लामो कूटनीतिक सेवामा उनले राष्ट्रिय सुरक्षा र युरोपेली सङ्घ ईयूको नीतिमा विशेषज्ञता हासिल गरेका थिए। उनले सन् २०१२ देखि २०१५ सम्म ब्रिटेनका प्रधानमन्त्रीको राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा समेत काम गरेका थिए।

उक्त कार्यकालमा उनले इराक र सिरियामा इस्लामिक स्टेटको उदय र क्राइमियामा रुसले गरेको अतिक्रमण जस्ता मुद्दाहरूको सामना गरेका थिए।

ट्रम्पले राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्नु अघि सन् २०१६ मा डारक अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए।

हलचल

अमेरिकी विदेश मन्त्रालयले पछिल्लो प्रकरणमा ट्रम्पको प्रतिक्रियाबारे टिप्पणी गरिसकेको छैन।

तर ह्वाइट् हाउसमा सोमबार राति आयोजना गरिएको एउटा रात्रिभोजमा भने डारकलाई निम्ता गरिएको थिएन।

गोप्य सूचना चुहिएको विषयमा ब्रिटेन सरकारले भने आन्तरिक सुनुवाइ सुरु गरेको छ।

चुहावटको विषयमा प्रहरीलाई आपराधिक अनुसन्धान सुरु गर्न निर्देशन दिइएको छ।