तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जेफ्री एप्स्टिनः शक्तिशाली अमेरिकी लगानीकर्तामाथि यौन दुराचारसम्बन्धी आरोप
संयुक्त राज्य अमेरिकाका शक्तिशाली लगानीकर्ता जेफ्री एप्स्टिन कम उमेरका बालिकाहरूबाट यौनकार्य गराएको आरोपमा न्यूयोर्कस्थित एउटा अदालतमा उपस्थित भएका छन्।
गाढा नीलो ज्याकेटमा सोमवार अदालतमा उपस्थित भएका एप्स्टिनले आफू दोषी नभएको जिकिर गरे।
उनीमाथि सन् २००२ देखि सन् २००५ को अवधिमा कम उमेरका बालिकाहरूलाई म्यानह्याटन र फ्लोरिडास्थित आफ्नो घरमा फकाइफुलाइ लगेको आरोप छ।
उनीमाथि लगाइएका आरोपहरूका अनुसार यौनकर्मका लागि उनले ती बालिकाहरूलाई सयौँ डलर दिएका थिए। बालिकामध्ये केही १४ वर्षका पनि थिए।
उनीमाथि यौनकार्यका लागि ओसारपसारसम्बन्धी एउटा र ओसारपसारको षड्यन्त्रसम्बन्धी अर्को अभियोग लगाइएको छ।
फ्रान्सबाट निजी विमानमा टेटेर्बोरो विमानस्थल झरेका ६६ वर्षीय एप्स्टिनलाई शनिवार पक्राउ गरिएको थियो।
जमानतसम्बन्धी सुनुवाइ नहुञ्जेल उनी जुलाइ ११ तारिखसम्म हिरासतमा रहनेछन्।
अभियोगपत्रले के भन्छ?
पीडितहरू १८ वर्षमुनिका रहेको कुरा एप्स्टिनलाई थाहा भएको उनीमाथि आरोप छ।
नाङ्गो भएर मसाज गर्नका लागि बालिकाहरूलाई बोलाउने गरिएको र त्यसपछि यौन दुराचार गर्ने गरिएको अभियोगपत्रमा उल्लेख छ।
साथै आरोपितले त्यस्तै कार्यका लागि अन्य बालिकाहरू ल्याउन पीडित बालिकाहरूलाई "निश्चित रकम" दिएको आरोप लगाइएको छ।
आफ्ना "कर्मचारी र सहयोगीसँग" पनि मिलीभगत गरेको र तिनीहरूले म्यानह्याटन र पाम बिचस्थित निवासमा बालिकाहरूसँग भेटघाट गराउने समय मिलाएको पनि उनीमाथि आरोप छ।
एप्स्टिनले आफूलाई ती बालिकाहरू कम्तीमा १८ वर्ष पुगिसकेको र सहमतिमा भेटघाट गराइएको विश्वास भएको बताएका छन्।
एउटा पत्रकार सम्मेलनमा साउदर्न डिस्ट्रिक्ट अफ न्यूयोर्कका लागि अमेरिकी न्यायाधिवक्ता जिओफ्री बर्म्यानले बताए अनुसार प्रहरीले एप्स्टिनको म्यानह्याटनस्थित सम्पत्तिमाथि छापा मार्दा नग्न बालिकाहरूको तस्बिरहरू फेला पारेका थिए।
पहिलाका आरोप के छन्?
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका पनि साथी एप्स्टिनमाथि सन् १९९९ देखि २००७ को अवधिमा कैयौँ किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो।
तर एउटा सम्झौतामार्फत् उक्त मुद्दाबारे टुङ्गो लगाइएको थियो।
सन् २००८ मा उनले १८ वर्षमुनिका बालिकाहरूलाई पैसा तिरी यौनकर्म गराएको भनी कम सजाय हुने गल्ती स्वीकारेका थिए।
उनले १३ महिना जेल सजाय काटे र सम्भावित जन्मकैदबाट बच्दै एक यौन आक्रमणकारीका रूपमा दर्ता भए।
एप्स्टिनको पृष्ठभूमि के हो?
न्यूयोर्कमा जन्मेका एप्स्टिनले जवान उमेरमा म्यानह्याटनको डाल्टन स्कूलमा गणित र भौतिकशास्त्र पढाए।
सन् १९७६ मा उनी वित्तीय क्षेत्रमा लागे र ब्याङ्किङ कम्पनी बीयर स्टिअर्न्समा उनले काम गरे। त्यसको चार वर्षभित्र उनलाई साझेदार बनाइयो।
त्यसपछि उनले आफ्नै वित्तीय व्यवस्थापन कम्पनी जे एप्स्टिन खोले।
सन् १९९६ मा कम्पनीको नाम परिवर्तन गरी उनले द फाइनान्सियल ट्रस्ट को राखे।
विलासी जीवजशैली, आफ्ना सेवाग्राही र अन्य कारोबारसम्बन्धी गोपनीयताका कारण उनको छवि एक रहस्यमय पैसावालको रूपमा बन्यो।