तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चिनियाँ राष्ट्रपति सीको उत्तर कोरिया भ्रमण केमा केन्द्रित होला?
दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङ्याङमा उत्साहजनक स्वागत पाएका छन्।
उनलाई एअरपोर्टमा उत्तर कोरियाली नेता किम जङ-अन र हजारौँ मानिसहरूले स्वागत गरेका थिए।
खुला छत भएको कारमा उभिएर अघि बढेका राष्ट्रपति सीलाई सडक छेउमा उभिएका मानिसहरूले समेत दोहोर्याएर स्वागत गरेका थिए।
बीबीसी संवाददाता रोबिन ब्रान्टका अनुसार चिनियाँ राष्ट्रपति र नेता किमबीच पहिलो चरणको वार्ता भएको छ।
उनीहरूका कुराकानी उत्तर कोरियाली परमाणु र क्षेप्यास्त्र कार्यक्रम र उत्तर कोरियामाथि लागेका प्रतिबन्धमा केन्द्रित हुने ठानिएको छ।
पछिल्ला १५ महिनामा उनीहरूबीच पाँच पटक बैठक भए पनि प्योङ्याङमा भेटवार्ता भएको भने यो पहिलो पटक हो।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम हाल अमेरिकासँग आ-आफ्नै किसिमका विवादमा रहेका छन्।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ता बिना कुनै सम्झौता टुङ्गिएपछि किम र सी बीच भएको यो पहिलो भेटघाट हो।
आगामी हप्ता जापानमा हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरूको सम्मेलनमा सी र ट्रम्पबीच छलफल हुँदैछ।
लामो समयदेखि एकअर्काका सहयोगी राष्ट्रको भूमिका खेल्दै आएको चीन र उत्तर कोरियाको सम्बन्ध पछिल्लो दशकमा भने तनावपूर्ण रहँदै आएको छ।
बेइजिङले उत्तर कोरियाको परमाणु महत्त्वाकाङ्क्षालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेपछि त्यस्तो समस्या उत्पन्न भएको हो।