तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ओलीले मिडियाको भाषाको आलोचना गर्दा ट्विटरमा व्यङ्ग्यको बाढी
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले संसद् अवरूद्ध गरि बोल्न नदिएपछि आफ्ना धारणा सार्वजनिक गर्न मङ्गलवार साँझ पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अभिव्यक्तिप्रति सामाजिक सञ्चालमा चर्चा चुलिएको छ।
प्रमुख प्रतिपक्षी दल सहित आफ्ना विरोधीको आलोचना गरेका ओलीले नेपाली सञ्चारमाध्यमप्रति राखेको एउटा धारणाले सामाजिक सञ्जाल तताएको हो।
उनले सञ्चार माध्यमले तपाईँ नभनेर तिमी भनेको भन्दै आलोचना गरेका थिए। धेरैजसो सञ्चार माध्यममा व्यक्तिलाई अप्रत्यक्ष रूपमा उद्धृत गर्दा उनी, उनले जस्ता तृतीय पुरुष प्रयोग बनाइँदै आएको छ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भनेका थिए, "फेसबुकका सञ्चालकले फेसबुक पैदा गरेर गल्ती गरे कि क्या हो? यस्सै भनेको हैन। मैले गल्ती गरे यस्सै भनेको होइन। हामीले हाम्रो सामाजिक मूल्य, मान्यता, मर्यादा… हाम्रो समाज त एउटा शिष्ट, सभ्य, मर्यादित समाज हो। हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन। तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो।"
उनले सञ्चारमाध्यमको थप आलोचना गर्दै भने, "हाम्रो सञ्चार माध्यमले हाम्रो भाषा संस्कृतिका कुरा गर्छ। नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ होउ! बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी, हजुरामालाई तिमी! यो त नेपाली भाषा, नेपाली सम्यता, नेपाली संस्कृतिभित्र पर्दैन।"
आलोचना र समर्थन
पत्रकार सम्मेलनमा ओलीले राखेको उक्त धारणा लगत्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले उनको भनाइको आलोचना गरेका थिए।
कतिपयले भने ओलीको भनाइको समर्थन पनि गरेका छन्।
पत्रकार प्रतिक प्रधानले ट्विटरमा लेखेका छन्, "गुठीमा सामन्तवाद देख्ने हाम्रा प्रमलाई मिडियाले तपाईं/हजुर भन्नुपर्यो रे! ल है सचेत हौँ। तिमी लेख्दा गाली बेइज्यती लाग्ला, अझ साइबर ल नै लाग्न के बेर!"
प्रधानको उक्त ट्विट आएपछि निर्मला ढकालले भने प्रधानमन्त्रीको बचाउ र प्रधानको आलोचन गरिन्।
उनले ट्विटरमा लेखिन्, "प्रतिकजी तपाईंबाट यस्तो आशा थिएन। केपी ओली र प्रधानमन्त्रीबीचको भिन्नता सायद छुट्ट्याउन सक्नु भएन कि? लाजको पसारो! पदको सम्मान त गर्नै पर्छ।"
ओलीको उक्त टिप्पणीलाई कतिपयले उनी 'राजा बन्न खोजेको' रूपमा पनि अर्थ्याए।
केहीले भने ओलीप्रति व्याङ्ग्य गर्दै सामाजिक सञ्जालमा कवितात्मक शैलीमा पनि प्रतिक्रिया जनाएका छन्।
बबिता राईले अलि फरक ढङ्गले प्रधानमन्त्रीको धारणाप्रति प्रतिक्रिया जनाएकी छिन्।
उनले ट्विटरमा लेखेकी छिन्, "नेपालका कतिपय जनजातिमा बा-आमालाई 'तिमी' सम्बोधन गर्ने चलन छ। प्रधानमन्त्री ज्यूका अनुसार यो त नेपाली संस्कारभित्र नपर्ने रहेछ। कसको संस्कार चाहिँ नेपाली रहेछ?"
लेखक खगेन्द्र सग्रौलाले पनि उस्तै खालको प्रतिक्रिया जनाएका छन्।
उनी लेख्छन्, "आमा-बा हामीलाई 'तँ' भन्थे, त्यसमा ममताको कमी थिएन। हामी आमा-बालाई 'तिमी' भन्थ्यौँ त्यसमा आदरभावको कमी थिएन। सम्माननीय प्रम ओली मिडियामा मलाई 'तपाइँ' भनिनस् भनेर राजाझैँ कुर्लिन थाले। यी 'समाजवादी'सँग डर लाग्छ, लेखक र पत्रकारलाई यिनले झ्याप्प पक्रेर थला बसाउने पो हुन् कि!"
एकजना कवि रमेश सायनले व्याङ्ग्यात्मक शैलीमा प्रतिक्रिया जनाएका छन्।
उनी लेख्छन्, " 'प्रधानमन्त्रीले भन्नु भयो। बोल्नु भयो।' ठीकै छ त। त्यो उहाँहरूको भाषा हो। तर हामी त 'बाउ आयो सुँगुरले सप्पै साग खानु भयो'वाला भाषा सुन्दै बोल्दै आएका मान्छे। कसरी मिलाउनु भाषा? आँ होस्। हामी हाम्रै भाषा बोल्छम् 'प्रधानमन्त्रीले भने' ठीकै छ त।"
ट्विटरमा हिमा विष्ट लेख्छिन्, "हिजो प्रमको चित्त दुखाइ त कुनै बेलाको कथा याद आयो। दाई 'आलु तारेको छ' भनेर सोध्दा 'छैन' अनि आलुको के परिकार पाइन्छ त छिट्टै भन्दा 'फ्रेन्च फ्राइज' भनेको याद आयो।"
प्रधानमन्त्री ओलीलाई मेन्सन गरिएको ट्विटमा मपाई कजिनी नामक ट्विटर प्रयोगकर्ताको धारणा यस्तो छ, "हजुर केपी ओली सरकार, कुन-कुन असंस्कारी पत्रकारले हजुरको जुनाफमा अनादर प्रकट गरे, नाम हुकुम मात्र होस्। एक-एकलाई प्रभुका पाउँमा शिर नुगाउन हाजिर गराउँछे सेविकाले राष्ट्र नायक हजुरका बाहुलीबाट यस्तो सबक पाउनेछन् कि तिनका सात पुस्ताले अङ्ग्रेजीमा पनि हजुर/तपाईं भन्न थाल्नेछन्।"