तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
समुद्री आँधी 'वायु': भारतमा तीन लाख मानिस स्थानान्तरित, आँधी अरब सागरतिरै फर्कियो
पश्चिम भारतको गुजरात राज्यमा बज्रिने पूर्वानुमान गरिएको समुद्री आँधी 'वायु' ले बाटो फेरेको छ। मौसमविद्हरूका अनुसार सो आँधी अरब सागरतिरै फर्किएको छ।
नराम्रो प्रभाव पार्ने अनुमानसहित उक्त आँधीको मार्गमा पर्ने ठानिएका क्षेत्रबाट झन्डै तीन लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो।
तर तटीय क्षेत्रमा बलियो हावाहुरी चलिरहने अधिकारीहरूले बताएका छन्।
गुजरात राज्य तथा दमन र दिऊ क्षेत्रलाई अझै उच्च सतर्कतामा राखिएको छ।
तटीय क्षेत्रमा आएपछि आँधीको वेग प्रतिघण्टा १७० किलोमिटर जति हुने अनुमान गरिएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले आँधी आउने स्थानमा मानिसहरूलाई सुरक्षित रहन आग्रह गरेका थिए।
रेल तथा हवाई उडान सेवा तत्कालका लागि स्थगित गरिएको थियो भने गुजरातको प्रमुख समुद्री बन्दरगाह पनि बन्द गरिएको थियो।
विद्यालयहरू पनि बन्द गर्न आदेश दिइएको थियो।
विपद्को तयारी
भारतको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जोखिममा पर्न सक्ने क्षेत्रमा विपद् व्यवस्थापन टोलीहरू खटाएको थियो। विपद् व्यवस्थापन शिविरहरू पनि खोलिएका थिए।
उक्त आँधी पोरबन्दरनजिकै तटीय क्षेत्रमा बिहीवार बिहान बज्रिने अनुमान गरिएको थियो।
एउटा ट्वीटमा प्रधानमन्त्री मोदीले आँधीको बाटोमा पर्ने स्थानका मानिसहरू सुरक्षित हुन् भन्ने आशा व्यक्त गरेका थिए।
सरकार तथा स्थानीय निकायले महत्त्वपूर्ण सूचना तत्कालै प्रवाह गरेको बताएका थिए्
चिन्ता
यो आँधी सन् १९९८ मा झन्डै दश हजार मानिसको ज्यान लिएको घातक आँधीपछि आएको नराम्रो आँधी हुन सक्ने भय व्यक्त गरिएको थियो।
गत मे महिनामा पूर्वी तटीय ओडिशामा आएको आँधी फणीमा परी कम्तीमा ८० जनाको ज्यान गएको थियो।
त्यो आँधीको वेग २०० किलोमिटर प्रतिघण्टा थियो।
आँधी आउनुअघि गरिएको स्थानान्तरणका कारण हताहत हुनेको सङ्ख्या कम भएको बताइन्छ।