चिया बगान र उद्योगमा हडताल: मजदुर भन्छन्, 'छ हप्तादेखि न भात न औषधि'

चिया मजदुर प्रिया मुन्डा
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी नेपाली सेवा

छ हप्तादेखि पूर्वी नेपालका चिया बगान तथा उद्योग बन्द भएका कारण मजदुरहरूको बिचल्ली भएको छ।

मजदुरहरूआफैँले बगान र उद्योग बन्द गराएका हुन्। तर व्यवस्थापनले ४३ दिनदेखि पैसा नदिएपछि उनीहरू भोकभोकै बस्न बाध्य छन्।

सामान्य बिरामी हुँदा पनि औषधि किन्न सक्ने अवस्था आफ्नो नरहेको उनीहरू बताउँछन्।

गत चैत १७ गतेदेखि नेपाल सरकारले तोकेको दैनिक ज्याला पाउनुपर्ने माग गर्दै चिया बगानमा काम गर्ने मजदुर आन्दोलित भएका हुन्। दैनिक ज्याला ३८५ रुपैयाँ पाउनुपर्ने माग गर्दै उनीहरूले बगान र कारखाना बन्द गरेका छन्।

सम्झना उराऊ बाल्यकालदेखि नै झापाको भद्रपुरमा रहेको बुधकरण चिया बगानमा मजदुरको रूपमा काम गर्छिन्। उनको बाल्यकाल पनि बगानभित्रै बित्यो। उनका पति पनि बगानकै मजदुर हुन्। उनीहरु दुई जनाको कमाइले चार जना छोरीहरुसमेत खर्च टार्नुपर्छ।

तर चिया बगान तथा उद्योग बन्द भएको ४३ दिन बित्दा पनि उनीहरुको माग सम्बोधन हुन सकेको छैन। यत्रो दिनसम्म न त उनीहरुले साविकको ज्याला पाएका छन् न बढेको ज्याला नै।

'गिट्ठाको भर'मा मजदुर

खानका लागि जंगलबाट ल्याएको गिठ्ठा देखाउँदै चिया मजदुर सम्झना उराउ

चिया बगानमा काम गर्ने मजदुरले बगान तथा उद्योग बन्द भएयता राम्ररी भात खान नपाएको गुनासो गरेका छन्। परिवारमा कोही बिरामी पर्दा औषधि पनि किन्न नसकेको उनीहरू बताउँछन्।

सम्झना उराऊ भन्छिन्, "यी यहाँ हेर्नीस् जङ्गलबाट खोजेर ल्याएका गिट्ठा। यही उसिनेर खाँदैछौँ।"

चामलको भात खान नपाएको झन्डै एक महिना भएको सुनाउँदै उनी भन्छिन्, "उधारो कति खाऊँ? त्यो पनि नतिरी हुँदैन। कमाइ छैन भने कहाँबाट ल्याएर पैसा तिर्नू?'

अर्की मजदुर प्रिया मुन्डाका अनुसार नजिकै जङ्गलबाट गिट्ठा खोजेर ल्याएर आलु जस्तै पकाएर खाने गरिएको छ।

उनी भन्छिन्, "भात तरकारी किनेर खाने अवस्था छैन। जङ्गलमा गिट्ठा छ, त्यही ल्याएर खान्छौँ।'

उधारोमा किताबकपी

तीन हप्ताभन्दा बढी समयदेखि एक पैसा हात नपारेका चिया मजदुरहरू छोराछोरीको पढाई खर्च जुटाउन पनि त्यतिकै मुस्कल भएको बताउँछन्।

सम्झना उराऊ उधारोमा सन्तानलाई शैक्षिक सामग्री लिनुपर्ने बाध्यता देखाउँछिन्।

उनी भन्छिन्, "एउटी छोरीको किताबका लागि मात्र तीन हजार रुपैयाँ भन्दा बढी तिर्नुपर्ने हुन्छ। तर पसलेले उधारोमा दिएन भने रित्तो हात फर्कनुपर्ने हुन्छ।'

प्रिया मुन्डाले पनि आफ्ना बच्चाको पढाइका लागि किताब तथा कपीको जोहो गर्न नसकेको बताउँछिन्।

भन्छिन्, "खानेकुरा त जङ्गलबाट ल्याएर खानुपरेको छ। किताबकपी किन्नु त परैको कुरा...।"

चिया मजदुर अञ्जली बनियाँ बाल बच्चाका साथ।

'यस्तो अवस्था आएको थिएन'

चिया उद्योगमा पहिला पनि हडताल हुन्थ्यो। तर अहिलेको जस्तो अवस्था नदेखेको नभोगेको मजदुरहरू बताउँछन्।

बाल्यकालदेखि नै आफू चियाका बुटावरपर रहेको बताउने अर्की मजदुर अञ्जली बनियाँले अहिलेको जस्तो अवस्था पहिला आफूले नभोगेको बताइन्।

उनले भनिन्, "पहिला पनि हडताल भए। तर केही दिन मै सहमति भयो। यो पालि यत्रो दिनसम्म यस्तो भोकै रहनु परेको जस्तो अवस्था कहिले पनि भोगेनौँ।"

अर्का मजदुर जितलाल हेमरमका अनुसार ज्याला मजदुरीकै विषयमा पहिला पनि हडताल भए पनि केही दिनमै समाधान भएकाले अहिले मजदुरले भोगेको अवस्थाजस्तो त्यो बेला थिएन।

चिया बगान बन्द भएपछि हुर्केको हरियो पत्ती।

'सरकार र उद्योगी जिम्मेवार'

चिया मजदुरलाई यो हालतमा ल्याइपुर्‍याउने मुख्य जिम्मेवार सरकार र उद्योगीहरू भएको मजदुरहरूको दाबी छ।

बुधकरण चिया बगानमा काम गर्ने मजदुर राजकुमार तामाङले नियम बनाउने सरकार र कार्यान्वयन नगर्ने चिया उद्योगी यो अवस्थाको जिम्मेवार रहेको बताए।

उनले भने, "मजदुरले कानुनी उपचार खोजेको हो। कानुनले दिएको हक खोजेको हो। त्यसलाई कार्यान्वय गराउन सरकारले किन सक्दैन?"

अर्का मजदुर कङ्ग्रेस बनियाँले जसरी पनि आफूहरुले पाउनुपर्ने बढेको ज्याला गत साउन महिनादेखि पाउनैपर्ने बताए।

ज्याला कति छ

सरकारले चिया श्रमिकको दैनिक ज्याला ३८५ रुपैयाँ र अतिरिक्त समयका लागि प्रतिघण्टा ५१ रुपैयाँ तोकेको छ।

तर श्रमिकले अहिले दिनको २७८ रुपियाँ मात्र पाइरहेका छन्। बढेको ज्याला गत साउन महिनादेखि पाउनुपर्ने मजदुरहरू बताउँछन्।

कारखानामा काम गर्ने श्रमिकलाई न्यूनतम ज्यालामा दैनिक थप ४२ रुपैयाँ तोकिएको छ। त्यो पनि कार्यान्वयन भएको छैन।

बगानसंगै चिया उद्योग समेत बन्द छन्।

उद्योगी के भन्छन्

उद्योगीहरूका अनुसार श्रम ऐन २०७४ ले सबै क्षेत्रका मजदुरलाई एक रूपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो।

चिया क्षेत्रलाई सबै क्षेत्रसँग मिलाइएकाले यो अवैज्ञानिक भएको उनीहरूको दाबी छ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलका अनुसार चिया उद्योगीमाथि एक्कासि थेग्नै नसक्नेगरी आर्थिक भार पर्ने किसिमको ऐन आएपछि चिया क्षेत्र धराशायी बन्ने स्थिति छ।

उनले भने, 'भारतमा भन्दा धेरै सुविधा मजदुरलाई हामी दिनु परेपछि हामीले हात उठाउन बाहेक अर्को विकल्प छैन।'

सरकारको भनाइ के छ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चिया उद्योगीहरूले मजदुरलाई ऐनले तोकेको ज्याला दिनैपर्ने बताउँदै आएको छ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार मजदुरलाई दिइने ज्यालाका कारण चिया उद्योगमा सङ्कट आए त्यसलाई सम्बोधन गर्न सरकार तयार छ।

तर मजदुरलाई सरकारले तोकेको ज्याला उपलब्ध गराउनु नै पर्ने सचिव दाहालले बताए।

उनले भने, "हामी धेरै पटक वार्तामा बस्यौँ। मजदुरलाई सरकारले तोकेको ज्याला तपाईँहरू दिनुहोस् अनि बाँकी कुरा गरौँला भन्यौँ। तर उहाँहरु मान्नुभएको छैन। मजदुरलाई ज्याला उपलब्ध गराउने विषयमा कतै कन्जुस्याइँ हुनुहुँदैन।'

नेपालमा वार्षिक झन्डै दुई करोड ५० लाख केजी तयारी चिया उत्पादन हुने गरेको तथ्याङ्क राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँग छ।

नेपालका चिया बगानमा झन्डै ६० हजार मजदुर कार्यरत रहेको मजदुरका सङ्गठनहरुले बताउँदै आएका छन्।