तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा आरोहण: चुचुरोमा पुग्ने दिनको पर्खाइमा आधार शिविरमा आरोहीहरू
सगरमाथा आधार शिविर अहिले 'पालको सहर' बनेको छ। यो वर्ष वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर आरोहण गर्न अनुमति लिएका झन्डै ३७५ पर्वतारोही र तिनका पथप्रदर्शक तथा सहयोगीसमेत दुई हजार व्यक्तिहरू आधार शिविरमा भेला भएका छन्।
नेपालमा सगरमाथाको दक्षिण मोहडापट्टि झन्डै ५,३८० मिटरको उचाइमा आधार शिविर छ। शिखर आरोहणको प्रयास गर्नुभन्दा केही हप्ताअघिदेखि पर्वतारोहीहरू आधार शिविरमा बसेर उच्च स्थानको हावापानीसँग अनुकूल हुन्छन्।
यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमशिखर चढ्न झन्डै ८०० आरोहीले अनुमति लिएका बताइएको छ।
सगरमाथाका लागि मात्रै पाँचवटा नेपाली र ३५ वटा टोलीले आरोहणको अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको अधिकारीहरूले बताएका छन्।
गत हप्ता बङ्गालको खाडीमा उत्पन्न भएको समुद्री आँधी फणी उत्तरतिर सर्दा नेपालका हिमालमा पनि ठूलो हिमपात भएको थियो। शक्तिशाली हावाहुरीले सगरमाथाको माथिल्लो शिविरमा सामान राख्न बनाइएका पालहरू उडाएको थियो।
समुद्री आँधीको प्रभावका कारण हिमालमा जोखिम हुने भन्दै पर्वतारोहीलाई सुरक्षित ठाउँमा बस्न भनिएको थियो।
तर पछि मौसममा सुधार भयो। फेरि पर्वतारोहीहरू आरोहणको अभ्यासमा जुटेका छन्।
सबै तस्बिरको प्रतिलिपि अधिकार उल्लेख गरिएका व्यक्तिहरूसँग सुरक्षित छन्।