बोइङ: ठूला दुर्घटना हुनुभन्दा पहिला नै ७३७ म्याक्स विमान समस्याग्रस्त भएको थाहा पाएको स्वीकार

आफूले निर्माण गरेका दुईवटा विमान दुर्घटना हुनुभन्दा एक वर्षअघि नै ७३७ म्याक्स मोडलमा देखएको एउटा समस्याबारे थाहा भएको तर त्यसको समाधानका लागि कुनै काम नगरेको बोइङ कम्पनीले स्वीकार गरेको छ।

बोइङका अनुसार उसले म्याक्स विमानमा रहेको एक विशेषतालाई अनिवार्य गर्नुको सट्टा त्यसलाई आवश्यक पर्दा मात्र प्रयोग गर्न मिल्ने बनाएको थियो।

त्यसो गर्दा उडान सुरक्षामा नकारात्मक असर नपरेको पाइएको बोइङको भनाइ छ।

गत मार्च महिनामा १५७ जनाको ज्यान जानेगरी इथियोपियन एअरलाइन्सको म्याक्स विमान दुर्घटनाभएपछि वायुसेवाहरूले विश्वभरि उडिरहेका सबै म्याक्स विमानका उडान रोकिदिएका छन्।

इथियोपियन एअरलाइन्सको म्याक्स विमान दुर्घटनामामा एक नेपाली एकता अधिकारीको पनि ज्यान गएको थियो।

त्योभन्दा पाँच महिना अघि इन्डोनेशियामा लायन एअरको म्याक्स विमान दुर्घटना हुँदा १८९ जनाको ज्यान गएको थियो। विश्वभरि ७३७ म्याक्स ढाँचाका ३८७ वटा विमान पछिल्लो दुर्घटनायता रोकिएका छन्।

विवादास्पद विशेषता

अहिले विवादमा परेको 'एङ्गल अफ अट्याक डिस्अग्री' अलर्ट भनिने विशेषता विमानभित्रको एउटा सूचना प्रणाली हो। त्यसले दुई भिन्न सेन्सरहरूले फरकफरक तथ्याङ्क दिएको बेला विमानचालकलाई सचेत गराउने काम गर्छ।

बोइङका अनुसार उसले त्यो सुविधालाई अनिवार्य बनाउन चाहे पनि त्यसो हुन नसकेको स्वीकार गरेको छ।

उसका अनुसार त्यसलाई म्याक्स किन्ने वायुसेवाहरूले आवश्यक पर्दा मात्रै किन्ने सुविधाको रूपमा लिएको बोइङलाई पछि मात्र थाहा हुन गयो।

बोइङले पछिल्लो दुर्घटनापछि नयाँ सफ्टवेअर निकालेर त्यो समस्या समाधान गर्ने उद्देश्य लिएको बताएको थियो। बोइङले सफ्टवेअरको समस्याका कारण "विमानको सुरक्षा वा सञ्चालनमा कुनै समस्या नहुने"मा जोड दिएको थियो।

तर अमेरिकी सङ्घीय उड्डयन निकाय एफएएले त्यो समस्याले "ठूलो क्षति नगर्ने" बताउँदै बोइङले त्यसबारे "अन्योल हटाउन पहिले नै आवश्यक कदमहरू चाल्न सक्ने" ठाउँ रहेको बताएको छ।

बोइङका अनुसार दुर्घटना भएका दुवै म्याक्स जेटको एओएस (एङ्गल अफ अट्याक डिस्अग्री) सूचनामा गडबडी भएपछि तिनको उड्दाउड्दै अचानक रोकिने अवस्था (एन्टिस्टल) बाट मुक्ति दिलाउने प्रणाली प्रभावित हुन पुगेको थियो।

त्यसयता त्यो प्रणालीमाथि निरन्तर निगरानी हुने क्रम जारी छ।