तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा सर्वाधिक सङ्ख्यामा आरोहीहरू
- Author, सुरेन्द्र फुयाल
- Role, बीबीसी नेपाली सेवा
यो वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा चढ्नका लागि नेपाल सरकारबाट अनुमति लिने आरोहीहरूको सङ्ख्या अहिलेसम्मकै बढी भएको पर्यटन विभागले जनाएको छ।
पर्यटन विभागका अनुसार यो वसन्त ऋतुमा सगरमाथा आरोहण गर्नका लागि ३७५ जना आरोहीहरूले अनुमति लिइसकेका छन्।
यो सङ्ख्या अझै बढ्न सक्छ।
सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीहरूको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको अधिकारीहरूले बताएका छन्।
आरोहीको आकर्षण
पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सगरमाथामा यसअघि सन् २०१७ मा आरोहीहरूको धेरै भिड लागेको थियो। त्यतिबेला ३७२ जनाले आरोहण अनुमति लिएका थिए।
यसपटक सोमवारसम्म आरोहण अनुमति लिनेको सङ्ख्या ३७५ पुगिसकेको छ। उनीहरू पाँच नेपालीसहित ३८ टोलीमा आबद्ध छन्।
विभागका सूचना अधिकारी सुरेन्द्र थापाले भने, "आरोहीहरू आउने क्रम अझै जारी छ। त्यो सङ्ख्या अझै बढ्न सक्छ।"
यो वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा सफाइको काम पनि चलिरहेको उनको भनाइ छ। त्यसका लागि अनुभवी शेर्पा आरोहीहरूसँगै नेपाली सेना पनि खटिइरहेको छ।
अन्य हिमालमा पनि बढे
यो वसन्त ऋतुमा नेपालका झन्डै ३० हिमशिखर चढ्न करिब ८०० आरोहीले अनुमति लिएका छन्।
यसपाला सगरमाथासँगै ल्होत्से, नुप्से, आमादब्लम र अन्य साना हिमाल आरोहणका लागि अनुमती लिनेको सङ्ख्या पनि बढेको छ।
सगरमाथापछि धेरै आरोहीहरूको भिड आमादब्लम हिमालमा लाग्ने देखिन्छ। त्यो शिखर चढ्नका लागि ४९ आरोहीले अनुमति लिइसकेका छन्।
अन्नपूर्ण प्रथम आरोहण गर्नका लागि २३ आरोहीले अनुमति पाएका छन्।
तेस्रो ठूलो शिखर कन्चनजङ्घा आरोहणका लागि ३२ आरोहीले अनुमति लिइसकेका छन्।
सगरमाथामा आरोही व्यवस्थापन
विभागका महानिर्देशक घिमिरेका अनुसार सगरमाथा क्षेत्रमा आरोही र सहयोगी बस्ने शिविरहरू कहाँ कहाँ रहने भनेर छुट्ट्याउने काम सकिइसकेको छ।
उनले बीबीसीसँग भने, "सगरमाथा सफाइ पनि हुँदैछ। सेना र सरसफाइको काम धेरै छ। हामीले सबै आरोहीलाई व्यवस्थापनबारे सजग गराएका छौँ।"
उनका अनुसार हेलिकोप्टहरूको भिड बढ्न सक्ने सम्भावनालाई विचार गरेर हेलिप्याड राख्ने ठाउँ समेत निर्धारण गरिएको छ।
उनले भने, "हेलिकोप्टर आधार शिविरमा नै रहनुपर्छ। आपत्कालीन बाहेकका अवस्थामा हेलिकोप्टर आधार शिविरभन्दा माथि जान मिल्दैन।"
आरोहणको अनुगमन र व्यवस्थापन गर्न सघाउन विभागले सबै टोलीसँग सम्पर्क अधिकृतहरू पनि खटाइसकेको छ। विभागमा अनुसार सगरमाथा क्षेत्रमा मात्र ३३ जना अधिकृत खटाइएको छ।
उनले भने, "उहाँहरू आधार शिविरमा बस्नुपर्छ र उहाँहरूले आफ्नो कार्यक्षेत्र छोड्न पाउनुहुन्न।"