तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लिबिया सङ्कट: द्वन्द्व चर्किए मात्रै राष्ट्रसङ्घका कर्मचारीसँगै 'नेपाली सेना पनि फर्किने'
अफ्रिकी मुलुक लिबियास्थित संयुक्त राष्ट्रसङ्घीय सहायता नियोगमा सुरक्षा प्रदान गर्न खटिएका नेपाली शान्ति सैनिकहरूलाई राष्ट्रसङ्घले सो नियोग बन्द गर्ने निर्णय गरे मात्र अन्यत्र सारिने नेपाली सेनाले जनाएको छ।
अरू देशले लिबियामा रहेका आफ्ना सैनिकलाई अन्यत्र सारेपछि नेपाली सेनाको टोलीले त्यहाँको राष्ट्रसङ्घीय नियोगमा सुरक्षा दिइरहेको छ।
लिबियामा द्वन्द्व चर्किएपछि अन्य देशहरूले आफ्ना सैनिकलाई त्यहाँबाट सारेको बेला नेपाली सैन्य अधिकारीहरूको यस्तो धारणा आएको हो।
लिबियामा 'राजनीतिक सङ्कट र सुरक्षा खतरा' बढेको भन्दै भारत र अमेरिकाले पनि आफ्ना सैनिक अन्यत्र सारिसकेका छन्।
नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले बीबीसीसँग भने, "स्थिति अझै खराब भयो भने हाम्रो सेनालाई त्यहाँबाट सुरक्षित ठाँउमा लैजान संयुक्त राष्ट्रसङ्घले पहल लिने कुरा भएको छ।"
लिबियामा कति नेपाली शान्ति सैनिक छन्?
ढकालका अनुसार अहिलेसम्म राष्ट्रसङ्घीय नियोग त्यहीँ रहेको हुनाले नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ।
त्यहाँ प्रमुख सेनानी समीर प्रतापजङ्ग राणाको नेतृत्वमा दुई सय ३१ सैनिक छन्।
लिबियाको परिस्थिति र नेपाली सैनिकबारे न्यूयोर्कस्थित राष्ट्रसङ्घको मुख्यालयमा कुरा भएको उनले जानकारी दिए।
"यदि राष्ट्रसङ्घले लिबिया छाड्नुपर्ने भयो भने त्यहाँका कर्मचारीहरूसँगै हाम्रा सैनिकलाई पनि अन्यत्र सारिनेछ, नत्र उनीहरू त्यहीँ सुरक्षामा तैनाथ हुनेछन्।"
सुरक्षा खतरा कति छ?
केही निवृत्त सैन्य अधिकारीहरूले लिबियामा विद्यमान सुरक्षा खतरालाई नेपाली सेनाले गम्भीर रूपमा नलिएको टिप्पणी गरेका छन्।
तर प्रवक्ता ढकालले भने त्यस्ता टिप्पणीको खण्डन गरेका छन्।
उनले भने, "हामी लिबियामा रहेको हाम्रो टोलीसँग नियमित सम्पर्कमा छौँ। त्यहाँको स्थिति सामान्य नभए पनि हामीले सुरक्षा दिइरहेको स्थानमा त्यस्तो ठूलो खतरा रहेको छैन।"
नेपाली सेनाका पूर्वरथी विवेककुमार शाहले पनि सेनाले सामान्य अवस्थामा मात्र नभई असामान्य अवस्थामा पनि सुरक्षा दिनुपर्ने भएकाले लिबियामा नेपाली सेना राखिनु उचित भएको बताए।
उनले भने, "पहिले पनि धेरै स्थानमा नेपाली सेनाले एकदमै अप्ठ्यारो अवस्थामा पनि काम गरेको छ। अहिले पनि राष्ट्रसङ्घको कार्यालयलाई सुरक्षा दिनु ठिकै हो जस्तो लाग्छ। यसले नेपाली सेनाको छविलाई नै उचो बनाउँछ।"
उनले राष्ट्रसङ्घसँग कस्तो प्रतिबद्धता जनाइएको छ भन्ने आधारमा पनि सेना फिर्ता ल्याउने नल्याउने भन्ने निर्भर गर्ने बताए।
अन्य देशहरूले नेपालको जस्तो राष्ट्रसङ्घसँग अन्तिम अवस्थासम्म सुरक्षा दिने प्रतिबद्धता नगरेको हुनसक्ने भएकाले भारत वा अमेरिकाले सैनिकहरू लिबियाबाट बोलाए भन्दैमा नेपालले पनि त्यस्तै गर्न नहुने उनको तर्क छ।
लिबियामा भएको के हो?
लिबियामा अहिले फेरि द्वन्द्व चर्किएको छ।
त्यहाँको एउटा विद्रोही समूह 'द लिबिया न्याश्नल आर्मी'ले राजधानी ट्रिपोलीलाई कब्जा गर्ने उद्देश्यले आक्रमण गर्न थालेपछि द्वन्द्व बढेको हो।
लिबियाको यो सङ्कटपछि शान्तिवार्ताका लागि भएका पहलहरू सफल हुन सकेका छैनन्।
त्यसले लिबियामा सङ्कट बढ्न सक्ने सुरक्षा विश्लेषकहरू बताउँछन्।
द्वन्द्वको कारण के हो?
नेटो समर्थित फौजले सन् २०११ मा लामो समय शासन गरेका कर्णेल मुअम्मर गद्दाफीलाई पदच्युत गरेदेखि नै लिबिया अराजकता व्याप्त छ।
खनिज तेलको भण्डार भएको लिबिया अहिले युरोप जाने हजारौँ आप्रवासीहरूको मुख्य केन्द्र बनेको छ।
नि:शुल्क शिक्षा र स्वास्थ सेवा पाइने लिबिया कुनै बेला अफ्रिकामा उच्चस्तरीय जीवनशैली भएको मुलुकका रूपमा चिनिन्थ्यो।
तर त्यस्तो समृद्धिको बनेको स्थायित्व अहिले त्यहाँ छैन।
गद्दाफीको पतनपछि राजधानी ट्रिपोलीमा प्रतिद्वन्द्वी समूहहरूबीच सङ्घर्ष हुने गरेको छ।
स्थिति सुधार्न कस्तो प्रयास हुँदैछ?
लिबियामा संयुक्त राष्ट्रसङ्घको समर्थन पाएको एउटा र विद्रोहीहरूको अर्को गरी दुई समानान्तर सरकार छन्।
पछिल्ला दिनमा विद्रोहीहरूले राजधानी र अन्य क्षेत्रमा आक्रमण गरेपछि त्यहाँ द्वन्द्व चर्किएको हो।
दुईतर्फी आक्रमणमा सर्वसाधारणहरूलाई निसाना बनाइएको समाचारहरू आएका छन्।
संयुक्त राष्ट्रसङ्घकी मानवाधिकार प्रमुख मिचेल ब्याचेलेटले सबै पक्षलाई रक्तपात रोक्न आग्रह गरेकी छन्।
यो पनि पढ्नुहोस्
उनले नागरिकहरूमाथिको आक्रमणलाई युद्ध अपराधका रूपमा लिन सकिने चेतावनी पनि दिएकी छन्।
तर त्यहाँको द्वन्द्व कम गर्न राष्ट्रसङ्घले गरेको प्रयास सफल हुन सकेको छैन।
राष्ट्रसङ्घका महसचिव एन्टोनिया गुटोरेजले लिबिया पुगेर गत साता त्यहाँका विद्रोही नेता खलिफा हफ्तारबीच गरेको वार्ता पनि असफल भएको थियो।