जेसिन्डा आर्डर्न: के न्यूजिल्यान्डकी प्रधानमन्त्रीको नेतृत्व शैलीले अहिलेको विभाजित राजनीतिमा सन्तुलन ल्याउला?

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, CHRISTCHURCH KENT KONSEYİ

तस्बिरको क्याप्शन, क्राइस्टचर्च आक्रमणमा ज्यान गुमाएका मानिसको अन्तिम संस्कारमा सहभागी हुने क्रममा प्रधानमन्त्री जेसिन्डा आर्डर्न
    • Author, इभा ओन्टिभेरोस
    • Role, बीबीसी विश्व सेवा

"हामी एक हौँ, उनीहरू हामीमध्येकै हुन्।"

यो छोटो वाक्यमार्फत् न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले सिङ्गो न्यूजिल्यान्डलाई एकजुट पारिन् र विश्वलाई एउटा स्पष्ट सन्देश दिइन्।

एक स्वघोषित श्वेत सर्वोच्चतावादीले क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा ५० जनाको ज्यान जानेगरी गरेको आक्रमणपछि उत्पन्न राष्ट्रिय सङ्कट खेप्दा उनले देखाएको सुझबुझलाई लिएर आर्डर्नको अन्तर्राष्ट्रिय तहमा प्रशंसा भइरहेको छ।

राजनीतिक टिप्पणीकार तथा बीबीसीका पूर्वपत्रकार रबिन लस्टिङ भन्छन्, "विभिन्न हिसाबले राजनीतिक नेतृत्वमा एक निपुण व्यक्तिले सिकाएको यो एउटा पाठ हो।"

"उनले के भनिन् भन्ने कुराले मात्रै होइन, बरु उनले कसरी ती कुरा भनिन् भनेर पनि। उनले राष्ट्रको आवश्यकता बुझिन् र साँच्चिकै उदाहरणीय रूपमा कदम चालिन्।"

विश्वभरिबाट प्रशंसा

आर्डर्नले उपयुक्त शब्दहरू फेला पारिन्, राम्रो ढङ्गले त्यसलाई अभिव्यक्त गरिन् र केही नेताहरूले जसरी देशलाई एकजुट पार्न सक्छन्, त्यसैगरी देशलाई एकजुट पारिन्।

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, आक्रमणको भोलिपल्ट प्रधानमन्त्री जेसिन्डा आर्डर्नले पीडितका परिवार र समुदाय अरू मानिसलाई भेटिन्

विश्वभरिबाट सो घटनाक्रमलाई नियाल्नेहरूले उनको नेतृत्वको प्रशंसा गरिरहेका छन्।

अमेरिकाको द वाशिङ्टन पोस्ट पत्रिकामा इशान थरूरले लेखे, "आर्डर्न आफ्नो देशको पीडा एवम् शोक र त्यसको समाधानको प्रतीक बनेकी छन्।"

अस्ट्रेलियाको एबीसी बेवसाइटकी अन्नाबेल क्र्याबका अनुसार त्यस्तो दु:खद घटना हुँदा पनि आर्डर्नले अहिलेसम्म कुनै गल्ती गरेकी छैनन्।

"नेता भनेको यस्तै हुनुपर्छ," म्यारी क्लेयर अस्ट्रेलिया नामक म्याग्जिनमा ग्रेस ब्याकले लेखेकी छन्।

ब्रिटेनको द गार्डियन पत्रिकामा सुजेन मूरले लेखिन्, "मार्टिन लुथर किङले भनेका थिए वास्तविक नेताले सहमतिको खोजी गर्दैनन् बरु सहमतिको निर्माण गर्छन्।"

"आर्डर्नले एउटा भिन्न खालको सहमतिको निर्माण गरिन्। काम गरेको, ख्याल गरेको र एकता कायम गरेको देखाइन्।"

मूर थप्छिन्, "आतङ्कवादले विविधतालाई हेर्छ र त्यसलाई नाश गर्न चाहन्छ। आर्डर्न विविधता हेर्छिन् र त्यसलाई सम्मान गर्छिन्, अपनाउँछिन् र त्यससँग जोडिन्छिन्।"

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन अघि सरे र आर्डर्नले देखाएको सहानुभूति विश्वका निम्ति एउटा उदाहरण भएको बताए।

त्यसअघि आफ्ना र्‍यालीमा आक्रमणको भिडिओ देखाएकोमा एर्दोआनले चर्को आलोचना खेप्नु परेको थियो।

र, स्वदेशमै विपक्षी दल न्याश्नल पार्टीकी जुडिथ कोलिन्सले संसद्‌मै बोल्दै प्रधानमन्त्रीलाई 'अभूतपूर्व' भनिन्।

line

यस्ती छिन् जेसिन्डा आर्डर्न

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, संयुक्त राष्ट्रसङ्घको महासभामा बच्चासहित उपस्थित हुने उनी पहिलो विश्वनेत्री हुन्
  • उनी ३८ वर्षकी भइन्
  • आफूलाई समाजवादी प्रजातन्त्रवादी र प्रगतिशीलको रूपमा चिनाउँछिन्
  • न्यूजिल्यान्डको कान्छो प्रधानमन्त्रीको रूपमा ३७ वर्षको उमेरमा निर्वाचित
  • उनी प्रकृतिको केही पनि ज्ञात हुन नसक्ने कुरामा विश्वास गर्छिन्, तर एक मोर्मनको रूपमा हुर्किन्। गिर्जाघरको समलिङ्गीविरोधी धारणाका कारण गिर्जाघर छाडिन्
  • छोरीलाई जन्म दिएपछि छ हप्ता सुत्केरी बिदा बसिन्
  • शिशुलाई संसद्‌मै स्तनपान गराउने उनी प्रथम प्रधानमन्त्री हुन्
  • संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो बच्चासहित उपस्थित भएर महिला विश्वनेत्रीको रूपमा कीर्तिमान राखिन्
line

किन न्यूजिल्यान्डमा गरिएको आक्रमणले अन्यत्र पनि पीडा दिएको छ

क्राइस्टचर्च आक्रमणका प्रमुख सन्दिन्ध अस्ट्रेलियाका नागरिक हुन्।

आक्रमणका पीडितमा भारत, पाकिस्तान, इजिप्ट, जोर्डन र सोमालिया लगायत विभिन्न देशका छन्।

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आक्रमणले मुस्लिम समुदायका मानिसलाई भेटेर प्रधानमन्त्री जेसिन्डा आर्डर्नले सहानुभूति दिइन्

आक्रमणको केही घण्टापछि प्रधामन्त्री जेसिन्डा आर्डर्नले जब पहिलो वक्तव्य दिइन् र भनिन्, "उनीहरू हामीमध्येकै हुन्।"

उनको वक्तव्य न्यूजिल्यान्डमा मात्र सीमित रहेन।

लस्टिङ भन्छन्, "ब्राजिल, चीन, हङ्गेरी, भारत र टर्कीजस्ता विविधता भएका देशमा नेताहरूले एउटा समुदायविरुद्ध अर्को समुदाय, अल्पसङ्ख्यकविरुद्ध बहुसङ्ख्यक खडा गरेका छन्।"

जब ती देशमा नेताहरू भन्छन्, "हामी, जनता" तब त्यो "एकताको नभई विभाजनको प्रतीक बन्छ, सम्भ्रान्त विरोधी जनता, विदेशीविरोधी जनता, शत्रुविरोधी जनता।"

आर्डर्नले रोजेका शब्द र कदम

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जेसिन्डा आर्डर्नले पीडित र तिनका आफन्तप्रति सहानुभूति जनाउन कुनै विलम्ब गरिनन्

"यो कुरा स्पष्ट छ कि अब यो घटनालाई एउटा आतङ्कवादी हमलाको रूपमा मात्रै वर्णन गरिनेछ," घटनापछि सञ्चारमाध्यमलाई गरेको पहिलो सम्बोधनमा उनले भनिन्।

बीबीसीकी आशिथा नागेश भन्छिन्, "तत्कालै र निर्णायक ढङ्गले गोलीकाण्डलाई एउटा 'आतङ्कवादी आक्रमण' भनेर आर्डर्नले एउटा सचेतना देखाएको र आक्रमणकारी श्वेत व्यक्ति भएको खण्डमा अझ राजनीतिक रूपमा अभिप्रेरित आक्रमण हुँदा समेत अधिकारीहरूले यो शब्दको प्रयोग गर्न अनिच्छुक देखिने गरेको तथ्यलाई हृदयङ्गम गरेको देखिन्छ।"

मुस्लिम समुदायमा डर र पीडा देखिएको कुरा पनि आर्डर्नले तत्कालै स्वीकारिन्, आक्रमणका पीडित र तिनका आफन्तलाई अङ्कमाल गर्दै सहानुभूति देखाइन् र सम्मान दर्शाउन मुस्लिम महिलाले जस्तै स्कार्फले टाउको छोपिन्।

जब आर्डर्नले भनिन्, "उनीहरू हामीमध्येकै हुन्", सबै धर्म एवम् व्यवसायका न्यूजिल्यान्डवासीले एकजुट भएर प्रतिक्रिया जनाए।

र, आक्रमणपछि जब उनी पहिलो पटक संसद्‌मा बोलिन्, उनले सानो तर सशक्त कुरा गरिन् - उनले आफ्नो भनाइ इस्लामिक सम्बोधन 'अस-सलाम अलैकुम' बाट थालिन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

"सबै सफल नेताहरूलाई जस्तै जेसिन्डा आर्डर्नलाई शब्दका शक्तिबारे थाहा रहेछ। धेरैले जस्तै उनले घाउहरू कोट्याउलाई नभई पुर्नलाई शब्दको प्रयोग गरिन्," लस्टिङ भन्छन्।

घटनापछि उत्पन्न स्थितिसँग जुझ्ने उनको दयापूर्ण व्यवहार, सहानुभूति र प्रगतिशील शैली अरू दक्षिणपन्थी शक्तिशाली नेताहरूको भन्दा ठ्याक्कै विपरीत रहेको भनेर हेरिँदैछ।

राजनीतिक टिप्पणीकारहरूले लिइरहेका नाममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, हङ्गेरीका भिक्टोर ओर्बान, ब्राजिलका जइर बोल्सोनारो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन्।

यी सबै नेताको राजनीतिक जीवन अनुदारवादी, मुस्लिमविरोधी अभिव्यक्तिबाट फक्रिएको छ।

"उनीहरूले जस्तो आर्डर्नले आप्रवासीका कारण नगर एवम् सहरहरू भरिन थालेको कुरा गर्दिनन्, मुस्लिम महिलाले अनुहार छोप्ने नकाब लगाउँदा पत्रमञ्जुषाजस्तो अथवा ब्याङ्क लुटेराजस्तो देखिन्छन् भनेर भन्दिनन्, न त उनी आप्रवासीलाई झुन्डसँग तुलना गर्छिन्," लस्टिङ थप्छन्।

बोलीभन्दा काम बढी

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आक्रमणपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री जेसिन्डा आर्डर्न

तर प्रधानमन्त्री आर्डर्नले समवेदना जाहेर गर्नु र सहानुभूति देखाउनुभन्दा बढी काम गरेकी छन्।

उनले ठोस कानुनी र सांस्कृतिक परिवर्तन ल्याउने आफ्ना वाचा पूरा गरेकी छन्।

आक्रमणको केही घण्टापछि उनले "१० दिनभित्र" बन्दुकसम्बन्धी देशको कानुनमा कडाइ गरिने घोषणा गरिन्।

उनले देशलाई हिंसक अतिवादबाट मुक्त बनाउने आफ्नो सङ्कल्पलाई दोहोर्‍याइरहिन् र बीबीसीसँगको एउटा अन्तर्वार्तामा न्यूजिल्यान्ड र विश्वबाटै जातिवादको 'अन्त्य गराउने' प्रतिबद्धता जनाइन्।

न्यूजिल्यान्डका जनता उनको पक्षमा उभिए

जेसिन्डा आर्डर्न

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आक्रमणमा ज्यान गुमाएका दुई विद्यार्थी पढ्ने गरेको विद्यालयमा प्रधानमन्त्री जेसिन्डा आर्डर्न

आक्रमणयता आर्डर्नले राष्ट्रिय शोकको घडीमा कसरी एकजुट हुने भन्ने उदाहरण प्रस्तुत गरेकी छन् र देशमा रहेका आप्रवासी समुदायलाई अपनत्व महसुस गराएकी छन्।

र, न्यूजिल्यान्डका जनताले पनि आफ्नी नेत्रीले प्रस्तुत गरेको उदाहरणको अनुसरण गरेका छन्।

देशभरि शोकपुस्तिकामा हस्ताक्षर गरिएको छ, पीडित र तिनका परिवारलाई सहयोगको ओइरो लागेको छ, र आक्रमणकारीले आफूहरूलाई प्रतिनिधित्व नगरेको घोषणासहितको नागरिकहरूको सन्देशले सामाजिक सञ्जाल भरिएका छन्।

अहिले जेसिन्डा आर्डर्नको विश्वव्यापी चर्चा भइरहेको छ।

तर विश्वका अरू नेताले उनको अनुसरण गर्छन् कि गर्दैनन् त्यो भने हेर्न बाँकी नै छ।