जातिवादविरूद्ध विश्वव्यापी लडाइँको खाँचो: न्यूजिल्यान्ड प्रम

गत साता क्राइस्टचर्चका दुई मस्जिदमा भएका घातक हमलापश्चात् न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले जातिवादी दक्षिणपन्थी विचारधारालाई उन्मूलन गर्न विश्वव्यापी लडाइँ हुनुपर्ने भनेकी छन्।
उक्त घटनापछि उनले दिएको पहिलो मध्येको अन्तर्वार्तामा आर्डर्नले बीबीसीसँग कुरा गर्दै आप्रवासनमा भएको वृद्धिले यस्ता जातिवादी सोच फैलिएको भन्ने भनाइ अस्वीकार गरेकी छन्।
शुक्रवार क्राइस्टचर्चमा भएको गोली प्रहारको घटनामा ५० जनाको ज्यान गएको थियो भने दर्जनौँ अन्य घाइते भएका थिए।
के भनिन् आर्डर्नले?
दक्षिणपन्थी राष्ट्रवादको उदयबारे सोध्दा आर्डर्नले भनिन्, "यी एक अस्ट्रेलियाली नागरिक थिए। तर त्यसो भन्दैमा अधिकांश न्यूजिल्यान्डरले पटक्कै नरुचाउने यस्तो सोचाइ न्यूजिल्यान्डमा छँदै छैन भन्ने होइन।"
उनका अनुसार "जहाँ देखा पर्छ त्यहाँबाट त्यस्ता सोचाइलाई निमिट्यान्न पार्न र त्यस्ता सोचाइ प्रबर्धन नहुने वातावरण निर्माण" गर्ने जिम्मेदारी आइपरेको छ।
"तर म विश्वव्यापी आह्वान गर्न चाहन्छु," उनले भनिन्, "हामीले न्यूजिल्याण्डमा जे भोग्यौँ त्यो अन्यत्रै जन्मे हुर्केर त्यस्ता विचार बोकेका व्यक्तिबाट गरिएको हिंसा थियो। त्यसैले यदि हामी सुरक्षित र सहनशील अनि समावेशी विश्व निर्माण गर्न चाहन्छौँ भने यस्ता विषयलाई कुनै देशको सीमासँग जोडेर हेर्न मिल्दैन।"
"हामी आप्रवासीलाई स्वागत गर्ने मुलुक हौँ। तर न्यूजिल्यान्डलाई आफ्नो घर बनाउन चाहेकाहरूलाई हेरविचार गर्न सक्षम प्रणालीको विकास गर्ने नाममा हामीले कतै यस्ता विचारधारा प्रबर्धन हुने वातावरण बनाइरहेका छौँ भन्ने आरोपको म खण्डन गर्छु।"
उनले उक्त घटनाका आरोपितको नाम नलिने निर्णयको पनि बचाउ गरिन्।
उनले भनिन्, "ती व्यक्तिको एउटा उद्देश्य भनेकै कुख्याती आर्जन गर्नु रहेको थियो। त्यो हामी उसलाई आर्जन गर्न कदापि दिनेछैनौँ।"








