क्राइस्टचर्च मस्जिद आक्रमण: न्यूजिल्यान्डमा शोक र पीडामाझ धार्मिक सद्‌भाव र साहसको चर्चा

क्राइस्टचर्च मस्जिद आक्रमण

तस्बिर स्रोत, Getty Images

पचास जनाको मृत्यु र अन्य कैयौँ घाइते हुनेगरी शुक्रवार न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुईवटा मस्जिदमा भएका हमलापछि अहिले त्यहाँ धार्मिक सद्‌भाव कायम राख्ने प्रयासहरू भइरहेका छन्।

न्यूजिल्यान्डको इतिहासमै उक्त घटनालाई 'कालो दिन' बताएकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले मन्त्रिपरिषद्‌मा सोमवार नै बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्नेगरी छलफल गर्दैछिन्।

बैठकमा उक्त हमलामा प्रयोग भएजस्तो अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा मन्त्रीहरूले विचार गर्नसक्ने ठानिएको छ।

मृतकका शवको पहिचान गर्न जुटिरहेका अधिकारीहरूले बुधवार तिनका परिवारलाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको बताएका छन्।

एक चार वर्षीया बालिकासहित ३४ जना अस्पतालमा अझै उपचाररत छन्।

सद्भाव

त्यहाँ आफ्नी श्रीमती गुमाएका फरिद अहमदले 'आफूले आक्रमणकारीको बाटोलाई समर्थन गर्ने नसक्ने भए पनि उनलाई माफी दिनसक्ने' बताएका थिए।

न्यूजिल्यान्डको गिर्जाघरमा प्रार्थना गर्न जानेहरूले पीडित परिवारका लागि सहयोग जुटाइरहेका छन्।

सहयोगका लागि आग्रह गरिएका वेबसाइटबाट मात्रै ६० लाख न्यूजिल्यान्ड डलरभन्दा बढी रकम उठेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रधानमन्त्री आर्डर्नले न्यूजिल्यान्डको हतियारसम्बन्धी कानुन परिवर्तन हुने बताएकी छन्

एक स्थानीय बासिन्दा भन्छिन्, "घृणाले कहिल्यै जित्नु हुँदैन। प्रेम निकै शक्तिशाली छ र मलाई लाग्छ त्यसैले हामीलाई एउटा राष्ट्र बनाएको छ।"

क्राइस्टचर्च क्षेत्रका विद्यालयहरू अब खोलिँदा घटनाबाट भयभीत विद्यार्थी र शिक्षकलाई विशेष मनोपरामर्श दिइने बताइएको छ।

घृणाको प्रयास

शुक्रवारको आक्रमणअघि ब्रेन्टन टारेन्टको नाममा रहेका सामाजिक सञ्जालहरूमा जातिवादी कुरासहित र आक्रमण भएका मस्जिदहरूको नाम उल्लेख थियो।

आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेको भिडिओ हटाउन सामाजिक सञ्जालहरूलाई हम्मेहम्मे परेको थियो।

सामाजिक सञ्जालमा लेखिएअनुसार टारेन्टले सन् २०१७ को युरोप भ्रमणपछि आक्रमणको योजना बनाएका थिए।

क्राइस्टचर्च मस्जिद आक्रमण

तस्बिर स्रोत, Reuters

यसैबीच अस्ट्रेलियाको प्रहरीले घटनाको अनुसन्धानका लागि भन्दै सन्दिग्ध टारेन्ट हुर्केका न्यूसाउथ वेल्सका दुई ठाउँमा छापा मारेको छ।

न्यूजिल्यान्डमा रहेका बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू त्यतिखेर मस्जिदनजिकै पुगेका थिए। तर उनीहरू मस्जिदमा प्रवेश नगरेकाले जोगिए।

साहस

घटनामा थप क्षति हुनबाट जोगाउनेहरूको प्रशंसा भइरहेको छ।

प्रार्थनाकै लागि लिनउड मस्जिद आएका एक अब्दुल अजिजले क्रेडिट कार्ड मशिनले आक्रमणकारीलाई हिर्काएका थिए।

त्यसरी प्रतिकार गर्ने अफगानिस्तानमा जन्मिएका अजिजले आक्रमणकारीले खसालेको रित्तो बन्दुकले तर्साएर आक्रमणकारीलाई भगाउन सफल भएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मस्जिदमा आक्रमण

लिनउड मस्जिदका एक इमाम लतिफ अलाबी भन्छन्, "अजिजले त्यसरी आँट गरेर अगाडि नबढेको भए अन्य थुप्रैले ज्यान गुमाउने थिए।"

आफ्नो गाडिभित्र थप विस्फोटक पदार्थ राखेका आक्रमणकारीले त्यस दिन अन्यत्र समेत आक्रमणको योजना बनाएको अधिकारीहरूले बताएका छन्।

आक्रमणकारीलाई समात्ने दुई प्रहरीमध्ये त्यसबेला एउटासँग मात्र पेस्तोल थियो।

आक्रमण भएका दुई मस्जिदहरू मात्र पाँच किलोमिटरको दूरीमा थिए र त्यतिबेला इस्लाम धर्मावलम्बीहरू शुक्रवारको साप्ताहिक प्रार्थनाका लागि जुटेका थिए।

घटना कसरी भयो?

अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १:४० मा आक्रमण भएको खबर आएको थियो।

एक बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध गोली हानेका थिए।

टाउकोमा बाँधिएको क्यामेराबाट फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफूलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए।

बन्दुकधारी त्यसपछि पाँच किलोमिटरपर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए।

क्राइस्टचर्च मस्जिद आक्रमण

प्रहरीले दुवै मस्जिदमा हतियार भेटिएको र एउटा गाडीमा विस्फोटक पदार्थहरू भेटिएको बताएको छ।

न्यूजिल्यान्डको कुल ४२ लाख ५० हजार जनसङ्ख्याको १.१ प्रतिशत मुस्लिम छन्।