क्राइस्टचर्च मस्जिद आक्रमण: ४९ को मृत्यु, २० जना गम्भीर घाइते, न्यूजिल्यान्डको 'कालो दिन'
न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र कम्तीमा २० जना गम्भीर घाइते भएका छन्।
प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रवारलाई 'कालो दिन' भएको बताउँदै यो घटनालाई 'आतङ्ककारी हमला' मात्रै भन्न सकिने बताइन्।
तीस वर्ष पुग्न लागेका एक पुरुषलाई प्रहरीले गिरफ्तार गरी हत्याको आरोपमा शनिवार अदालतमा पेस गर्ने तयारी गरेको छ।
अन्य दुई जना पुरुष र एक महिलालाई पनि हिरासतमा लिइएको प्रहरी प्रमुख माइक बुशले बताएका छन्। तीमध्ये एक जना घटनामा असम्बन्धित भएको र अन्य दुईको घटनासँगको सम्बन्धमा अनुसन्धान गरिरहेको बुशले बताए।
न्यूजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक आक्रमण हो।

आक्रमणको 'प्रत्यक्ष प्रसारण'
अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई अन्धाधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए।
प्रहरी हृदयविदारक उक्त भिडिओ शेअर नगर्न अनुरोध गरेको छ। फेसबुकले आक्रमणकारीको खाता बन्द गरेको र त्यो भिडिओ शेयर भएका ठाउँबाट हटाउन प्रयास गरिरहेको बताएको छ।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।
सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उनी 'अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी' भएको बताएका छन्।
प्रहरीले केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको समेत बताएको छ।

तस्बिर स्रोत, Reuters
यसअघि राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री आर्डर्नले अहिलेसम्म स्थिति स्पष्ट नभएको बताएकी थिइन्।
उनले भनिन्, "अहिले मैले भन्न सक्ने भनेको आजको दिन न्यूजिल्यान्डको कालो दिनमध्ये एक हुनेछ।"
अल नूर मस्जिदमा रहेका मोहन इब्राहिमले स्थानीन समाचारपत्रलाई भने,"पहिले त बिजुलीको झट्का होला भन्ठानेका थियौँ। तर त्यसपछि सबै मानिसहरू भाग्न थाले।"
"मेरा केही साथीहरू अझैभित्रै छन्। मैले साथीहरूलाई फोन गर्ने प्रयास गरेँ।, तर धेरैसँग सम्पर्क भएको छैन। मलाई साथीहरूको पीर लागेको छ।"
घटनामा कति आक्रमणकारी थिए भन्ने कुरा स्पष्ट भइसकेको छैन। तर न्यूजिल्यान्ड हेराल्ड पत्रिकाका अनुसार एक बन्दुकधारी अस्ट्रेलियाका नागरिक हुन् जसले आप्रवासीहरूविरुद्ध लेखेका छन्।
आक्रमणकारीले भिडिओ खिच्दै मानिस मारेको भनि एउटा भिडिओ सार्वजनिक भएको छ।
बाङ्ग्लादेशी क्रिकेट टोली जोगियो
बाङ्ग्लादेशी टेस्ट क्रिकेट टोलीका कप्तानले आफू सो आक्रमणबाट जोगिएको भन्दै ट्वीट गरेका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1

आक्रमण हुँदा बाङ्ग्लादेशी टोलीका सदस्यहरू अल नूर मस्जिदमा थिए।
बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबै जना सुरक्षित रूपमा होटल फर्किसकेका र आफ्नो सम्पर्कमा रहेका जनाएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2

सो घटनाप्रति सामाजिक सञ्जालमा धेरैले दु:ख व्यक्त गरेका छन्।
'मुस्लिम्ज इन न्यूजिल्यान्ड'को फेसबुक पेजमा समवेदनाको ओइरो लागेको छ।









