अन्तर्राष्ट्रिय खुसी दिवस: खुसी हुन चाहनुहुन्छ? यी पाँच उपाय अपनाउनुहोस्

    • Author, इभा ओन्टिभेरोस
    • Role, बीबीसी विश्व सेवा

मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुसी दिवस।

तर यदि तपाइँ खुसी हुनुहुन्न भने पनि चिन्ता नगर्नुहोस्। किनभने खुसी कसरी हुने भन्ने तपाईँ सिक्न सक्नुहुन्छ।

जसरी संगीतकर्मी र खेलाडीले निरन्तरको प्रयासले आफूलाई प्रशिक्षित गर्छन्, कमजोरी सुधार्छन् र सफल हुन्छन् त्यसरी नै तपाईँ पनि खुसी हुन सक्नु हुन्छ।

"खुसी अनायसै भइहाल्ने कुरा होइन, तपाईँ कति धेरै खुसी हुने भन्ने कुरा तपाइँले त्यसका लागि कति अभ्यास गर्नुहुन्छ भन्नेसँग जोडिन्छ," अमेरिकाको येल विश्वविद्यालयमा मनोविज्ञान र सङ्ज्ञानसम्बन्धी विषयका प्राध्यापक लोरी सान्तोस भन्छिन्।

सान्तोस आफ्नो कक्षा "मनोविज्ञान र राम्रो जीवन"मा निराशाबाट कसरी जोगिने भन्ने बुझाउन तयार छिन्।

येल विश्वविद्यालयको ३१७ वर्षे इतिहासमा उक्त कक्षा धेरै लोकप्रिय रह्यो।

यसअघिका सबै कीर्तिमान तोड्दै १,२०० भन्दा बढी विद्यार्थीहरू उक्त कक्षामा सहभागी भए।

"खुसी हुन केही प्रयत्न गर्नुपर्छ भन्ने विज्ञानले प्रमाणित गरेको छ। यो त्यति सहज छैन। समय लाग्छ तर सम्भव छ," सान्तोस भन्छिन्।

तपाईँ पनि सान्तोसले सिकाएका यी पाँच उपाय अवलम्बन गर्न सक्नुहुन्छ।

१. कृतज्ञताको सूची बनाउनुहोस्

सान्तोसले आफ्ना विद्यार्थीहरूलाई एक साताभरि प्रत्येक साँझ आफू धन्य वा कृतज्ञ हुने कुराहरू लेख्न लगाउँछिन्।

त्यो नै उनीहरूको कृतज्ञताको सूची बन्ने गर्छ।

"झट्ट सुन्दा यो निकै सामान्य लाग्नसक्छ। तर नियमित यस्तो अभ्यास गर्ने विद्यार्थीहरू हामीले खुसी पाएका छौँ," सान्तोसले भनिन्।

२. धेरै र राम्ररी सुत्नुहोस्

एक साताभरि दैनिक आठ घण्टा सुत्ने चुनौती अर्को महत्त्वपूर्ण अभ्यास हो।

सान्तोसका अनुसार यो सामान्य अभ्यास नै विद्यार्थीका लागि सबैभन्दा कठिन बन्ने गर्छ।

"यो मुर्ख्याइँजस्तो पनि लाग्न सक्छ। तर हामीले के पाएका छौँ भने धेरै र राम्ररी सुत्दा निराशाजन्य समस्याहरू कम हुने गर्छन् र तपाईँको सकारात्मक सोचमा सुधार आउँछ," सान्तोसको भनाइ छ।

३. ध्यान गर्नुहोस्

दैनिक १० मिनेटजति ध्यान गर्नुहोस्।

आफू विद्यार्थी हुँदा यस्तो अभ्यासले आफूलाई निकै आनन्दित पारेको सान्तोस बताउँछिन्।

अहिले उनी प्राध्यापक छिन् र विद्यार्थीहरूलाई दिने सुझावमा एकाग्रता कायम गर्न ध्यानहरूले सघाउने र त्यसको नतिजा खुसीसँग जोडिने भन्ने हुनेगर्छ।

४. परिवार र साथीहरूसँग धेरै समय बिताउनुहोस्

सान्तोसका अनुसार परिवार र साथीहरूसँग बिताउने गुणस्तरीय समयले साँच्चिकै खुसी बनाउँछ भन्ने निष्कर्ष नयाँ अध्ययनहरूको पनि छ।

मन पर्ने मानिसहरूसँग हुने 'स्वस्थ अन्तरसंवाद र सामाजिक सम्बन्धहरू'ले मनोविज्ञानको भाषामा हाम्रो जीवन स्वस्थ बनाउन राम्ररी सघाउँछ।

यो कुनै ठूलो कुरा होइन। सान्तोस भन्छिन्, "वर्तमान समयको मूल्य छ भन्ने कुरामा आफूलाई सुनिश्चित पार्नुहोस्, त्यसरी बिताएको समयप्रति सचेत हुनुहोस्।"

समयप्रतिको धारणा खुसी हुनका लागि निकै महत्त्वपूर्ण कुरा हो।

"हामी धेरैजसो हामीसँग कति सम्पत्ति छ भन्ने सोच्छौँ," सान्तोस थप्छिन्।

"तर अध्ययनहरूले के देखाएका छन् भने सम्पत्तिको अर्थ हामीसँग कति समय छ भन्ने कुरासँग जोडिएको हुन्छ।"

५. कम सामाजिक सञ्जाल र धेरै वास्तविक सम्बन्ध

सामाजिक सञ्जालले खुसीबारे हामीलाई गलत बोध गराइरहेको हुनसक्छ। र, सान्तोस त्यसमाथि आफ्नो नियन्त्रण हुनुपर्ने बताउँछिन्।

"एउटा पछिल्लो अध्ययनले के देखाएको छ भने इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल धेरै प्रयोग गर्नेहरू तिनको प्रयोग नगर्नेभन्दा कम खुसी छन्।"

तपाईँसँग भएका कुरा यिनै हुन् -

तपाईँ अब साँच्चिकै जीवनमा खुसी हुन चाहनुहुन्छ भने धेरै कृतज्ञ हुनुहोस्, आनन्दले सुत्नुहोस्, मनबाट अनावश्यक कुरा हटाउनुहोस्, मन पर्ने मानिसहरूसँग समय बिताउनुहोस् र सामाजिक सञ्जाललाई केही समय छुट्टी दिनुहोस्।

येल विश्वविद्यालयका विद्यार्थीलाई यसले काम गर्‍यो भने पक्कै तपाईँलाई पनि गर्नेछ।