इन्डोनेशिया बाढी: पूर्वी प्रान्त पपुआमा दर्जनौँको मृत्यु

पाँचमहिने शिशुको उद्धार

तस्बिर स्रोत, AFP

इन्डोनेशियाको पूर्वी प्रान्त पपुआमा बाढीले ठूलो धनजनको क्षति भएको छ।

अहिलेसम्म प्राप्त विवरणका अनुसार बाढीमा परेर कम्तीमा ७३ जनाको ज्यान गएको छ भने ६० भन्दा बढी मानिसहरू हराएका छन्।

उद्धारकर्मीहरूले पपुआको दुर्गम क्षेत्रमा पुग्न सङ्घर्ष गर्नुपरेको छ। हताहत हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ।

बाढीपछि पहिरो गएको छ र रूखहरू ढलेका छन्। त्यसले गर्दा बाटो अवरुद्ध भएको छ।

बाढीले दुईवटा पुल र सयभन्दा बढी घरहरूमा क्षति पुर्‍याइदिएको छ।

कम्तीमा चार हजार मानिसहरू घर छोडेर अन्यत्र गएका छन्। तिनमध्ये केहीले सरकारी कार्यालयहरूमा आश्रय लिएका छन्।

इन्डोनेशिया बाढी: उद्धारकर्मीहरू

तस्बिर स्रोत, EPA

स्थानीय बासिन्दाहरूका अनुसार शनिवार साँझदेखि ठूलो वर्षा हुन थाल्यो र रातभरि पानी परिराख्यो।

त्यसपछि कारण बाढी र पहिरोहरू गए।

"हाम्रो घरमा बाक्लो लेदो भएको बाढी आयो... हामीले हतारहतार आफ्ना बहुमूल्य सामग्री बटुल्यौँ र छिमेकीको [दुईतले] घरमा शरण लिन गयौँ," दुई बच्चाकी आमा लिली पुजी हास्टुटीले समाचारसंस्था एएफपीलाई बताइन्।

"यो ठाउँबाट बाहिर निस्किन गाह्रो छ किनभने बाटाहरू थुनिएका छन्...। म चिन्तित, दु:खी र त्रसित छु।"

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

बाढीले नराम्ररी प्रभावित भएको स्थानमध्ये सेन्तानी नगर पनि हो। त्यहाँ पीडितहरूको खोजी भइराखेको छ।

सेन्तानीमा कम्तीमा ५१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।

नजिकै रहेको प्रान्तीय राजधानी जयपुरामा अरू सात जनाको मृत्यु भएको पुष्टि भएको छ।

सेन्तानी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सेन्तानी नगरमा बाढीले नराम्रो प्रभाव पारेको छ

त्यहाँ सेनाले एउटा पाँचमहिने शिशुको सकुशल उद्धार गरिएको जनाएको छ।

ती शिशु घण्टौँसम्म बाढीबाट प्रभावित स्थानमा फसेका थिए। उनलाई परिवारलाई जिम्मा लगाइएको छ।

उनका बुवा जीवित छन्, तर आमाको भने अत्तोपत्तो छैन।

चेतावनी

इन्डोनेशियामा अक्टोबरदेखि एप्रिल महिनासम्म वर्षा याम हुन्छ। यस बेला बाढी आउनु सामान्य नै मानिन्छ।

उता जेनुअरीमा सुलावेसी द्वीपमा बाढीले कम्तीमा ७० जनाको ज्यान लियो। मार्च महिनाको पूर्वार्धमा ठूलो पानी पर्दा पश्चिम जाभामा सयौँ जना विस्थापित भएका थिए।

आपत्कालीन निकायमा रहेका अधिकारीहरूका अनुसार जयपुरावरिपरि रहेका पर्वतीय क्षेत्रमा भएको वनविनाशका कारण पपुआमा बाढीको खतरा रहेकोबारे त्यहाँको सम्बन्धित निकायलाई सतर्क गराइएको थियो।

इन्डोनेशियाको पपुआ प्रान्तको सीमा स्वतन्त्र राष्ट्र पपुआ न्यू गिनीसँग जोडिएको छ।

इन्डोनेशिया